अर्थ

नौ महिनामा सञ्चिति २ अर्ब १४ करोड डलर घट्योे

चुलिदो आयात अनुसार विदेशी मुद्राको आय नहुँदा चालु आर्थिक वर्षको नौ महिनासम्ममा २ अर्ब १४ करोड अमेरिकी डलर सञ्चिति घटेको छ।

राष्ट्र बैंकका अनुसार गत असारसम्म ११ अर्ब ७५ करोड अमेरिकी डलर सञ्चिति रहेकामा यो चैतसम्ममा ९ अर्ब ६१ करोड डलरमा झरेको छ। यो तथ्यांक अनुसार चालु आवको नौ महिनामा विदेशी विनिमय सञ्चिति २ अर्ब १४ करोड डलर घटेको हो। यो वर्ष औषतमा प्रतिमहिना २३ करोड ७७ लाख बराबर अमेरिकी डलर थप खर्च भइरहेको छ।

नेपाली रूपैयाँमा हेर्दा गत असारसम्म १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११६७ अर्ब ९२ करोडमा झरेको छ। यो १६.५ प्रतिशतको कमी हो। राष्ट्र बैंकका अनुसार यो वर्षको आयातलाई आधार मान्दा अहिलेको विदेशी विनिमय सञ्चितिले ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिन्छ।

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मुलुकको आर्थिक स्थिति अनुसार अघिल्ला महिनाका तुलनामा वैदेशिक व्यापार लगायत विभिन्न क्षेत्रमा झिनो रूपमा भए पनि सुधार आएको छ।

महँगी  

बैंकका अनुसार यो चैतमा उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यो महिनाको मुद्रास्फीति ३.१० प्रतिशत थियो। यसमध्ये खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत छ।

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २८.३६ प्रतिशत, ११.५६ प्रतिशत, १०.५३ प्रतिशत र ८.९१ प्रतिशत छ। गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र विविध वस्तु तथा सेवा उपसमूहको मुद्रास्फीति क्रमशः २०.१६ प्रतिशत, ८.७९ प्रतिशत र ८.१७ प्रतिशत छ। काठमाडौं उपत्यकामा ६.२५ प्रतिशत, तराईमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८.२५ प्रतिशत मुद्रास्फीति छ। गत चैतमा यी क्षेत्रमा क्रमशः ३.२४ प्रतिशत, २.९२ प्रतिशत, ३.३८ प्रतिशत र १.५४ प्रतिशत मुद्रास्फीति थियो।

निर्यात

चालु आवको नौ महिनामा कुल वस्तु निर्यात ६९.४ प्रतिशतले वृद्धि भएर १ सय ६० अर्ब ५७ करोड पुगेको छ। अघिल्लो वर्ष निर्यात २०.२ प्रतिशतले वृद्धि भएको थियो। भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ८६.९ प्रतिशत र २५.५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१.८ प्रतिशतले घटेको छ। वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलंैचा, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, तार, दन्त मञ्जन, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ।

आयात

यो अवधिमा कुल वस्तु आयात ३२.० प्रतिशतले बढेर १ हजार ४ सय ६६ अर्ब ६६ करोड पुगेको छ। अघिल्लो वर्ष आयात १३.१ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.४ प्रतिशत, २८.६ प्रतिशत र ५९.२ प्रतिशतले बढेको छ।

पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्ट्स, सुन लगायतका वस्तुको आयात बढेको छ भने एमएस विलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ।  

व्यापार घाटा

यो वर्षको नौ महिनासम्ममा कुल वस्तु व्यापार घाटा २८.५ प्रतिशतले बढेर १ हजार ३ सय ६ अर्ब ९ करोड पुगेको छ। अघिल्लो वर्ष घाटा १२.५ प्रतिशतले बढेको थियो। निर्यात–आयात अनुपात १०.९ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष अनुपात ८.५ प्रतिशत थियो।

वैदेशिक व्यापारको संरचना

कुल निर्यातमा मध्यवर्ती र अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७.२ प्रतिशत र ५२.७ प्रतिशत छ भने पुँजीगत वस्तुको अनुपात नगन्य छ। अघिल्लो वर्ष कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुुपात क्रमशः ३१.८ प्रतिशत, ०.५ प्रतिशत र ६७.७ प्रतिशत थियो। यस्तै कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.२ प्रतिशत, पुँजीगत वस्तुको १०.५ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३६.३ प्रतिशत छ।

सेवा आय

चालु आवमा खुद सेवा आय ८० अर्ब ३५ करोडले घाटामा छ। अघिल्लो वर्ष खुद सेवा आय ५३ अर्ब २६ करोडले घाटामा थियो। यो अवधिमा भ्रमण आय २३२.३ प्रतिशतले बढेर १८ अर्ब ४७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.५ अर्ब ५६ करोड थियो।

विप्रेषण आप्रवाह

चैतमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आएर ७ सय २४ अर्ब ७४ करोड कायम भएको छ। अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा २.२ प्रतिशतले कमी आएको छ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या बढेर २ लाख ५६ हजार ३१ जना पुगेको छ। अघिल्लो वर्ष यो संख्या ७४.९ प्रतिशतले घटेको थियो। यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या चालु आवमा १९९.९ प्रतिशतले बढेर २ लाख ६ हजार ६ सय २९ जना पुगेको छ। अघिल्लो वर्ष यस्तो संख्या ६०.७ प्रतिशतले घटेको थियो।

चालु खाता एवम् शोधनान्तर

यो वर्षको नौ महिनासम्म चालु खाता ५ सय १२ अर्ब ७१ करोडले घाटामा छ । अघिल्लो वर्ष चालु खाता २ सय १० अर्ब ५१ करोडले घाटामा थियो। यस्तै शोधनान्तर स्थिति २ सय ६८ अर्ब २६ करोडले घाटामा छ। अघिल्लो वर्ष यो ४२ अर्ब ५४ करोडले बचतमा थियो। यो अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ३३.७ प्रतिशतले बढेर १६ अर्ब ५१ करोड पुगेको छ। अघिल्लो वर्ष यो १२ अर्ब ३५ करोड थियो।  

बैंक निक्षेप र कर्जा प्रवाह

यो वर्ष नौ महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ५.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष निक्षेप १३.७ प्रतिशतले बढेको थियो। यस्तै बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको यस्तो कर्जा २२.५ प्रतिशतले बढेको थियो।

प्रकाशित: २९ वैशाख २०७९ ०५:०४ बिहीबार