अर्थ

यतिका उत्पादनलाई विश्वस्तरीय पुरस्कार

यती डिस्टिलरीका दुई उत्पादनले मदिराको विश्व प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय पुरस्कार जितेका छन् । यतीका उत्पादन ८८४८ भोड्का र ओल्ड दरबार ब्ल्याक चिम्नी ह्विस्कीले अमेरिकाको सान फ्रान्सिस्को वल्र्ड स्पिरिट कम्पिटिसन (एसएफडब्लुएससी) २०२२ मा गोल्ड र डबल गोल्ड पुरस्कार जितेका हुन्। यो प्रतिस्पर्धा संसारभरका पाँच हजार मदिरा ब्रान्डबीच भएको थियो।

यति डिस्टिलरीका अनुसार ८८४८ भोड्काले गोल्ड मेडल र ओल्ड दरबार ब्ल्याक चिम्नी ब्लेन्डेड रिजर्भ ह्विस्कीले डबल गोल्ड मेडल जितेको हो। यो प्रतिस्पर्धामा हालसम्मकै सबैभन्दा बढी कम्पनी सहभागी बनेका थिए। प्रतिस्पर्धामा सहभागीलाई पूर्वनिर्धारित मापदण्डका आधारमा कास्य (ब्रोन्ज), रजत (सिल्भर), स्वर्ण (गोल्ड), दोहोरो स्वर्ण (डबल गोल्ड) र प्लेटिनम मेडल प्रदान गरेको आयोजकको भनाइ छ ।

विजेता छनोटका लागि विश्वभरका ७० निर्णायकले गत अप्रिलमा दुई साता समय लगाएर ५ हजार कम्पनीका मदिराको मूल्यांकन गरेका थिए। सन् २००० देखि यो प्रतिस्पर्धा सुरु भएको यो उत्तर अमेरिकाको सबैभन्दा पुरानो र ठूलो मदिरा प्रतिस्पर्धा हो।यतीले सन् २०१५ मा ब्लेन्डहरू ओल्ड दरबार ह्विस्की र ८८४८  भोड्का बजारमा ल्याएको थियो। अहिले यो विभिन्न प्रिमियम ब्रान्डका साथ लोकप्रिय मदिरा कम्पनी बनेको छ।

प्रकाशित: २८ वैशाख २०७९ ०२:३१ बुधबार