अर्थ

विद्युत् बेच्न टेण्डर आह्वान

नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्न टेण्डर आह्वान गरेको छ। प्राधिकरणले शुक्रबार टेण्डर आह्वान गर्दै नेपालका जलविद्युत् आयोजनाहरूबाट उत्पादित २०० मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीहरू सँग प्रस्ताव माग गरेको हो।

प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएको विद्युत् पाँच महिना अर्थात् १७ असारदेखि २९ कात्तिक २०७९ सम्म बिक्री गर्ने छ। भारतको केन्द्रीय विद्युत् नियमन आयोगमार्फत विद्युत् व्यापारका लागि अनुमति प्राप्त ट्रेडिङ कम्पनीहरू, विद्युत् वितरण कम्पनीहरू लगायतले विद्युत् खरिदका लागि प्रतिस्पर्धामा सहभागी हुन पाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

‘भारतीय बजारमा ३६४ मेगावाटसम्म विद्युत् बिक्रीका लागि स्वीकृति पाएका छौं, त्यसमध्ये २०० मेगावाट प्रतिस्पर्धामार्फत जसले बढी दर कबोल गर्छ उसैलाई बिक्री गर्ने गरी टेण्डर आह्वान गरेका हौं’, कार्यकारी निर्देशक घिसिङले भने–‘बाँकी रहेको विद्युत् भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स)मा बिक्री गर्ने छौं, टेण्डरको सम्पूर्ण प्रक्रिया पूरा गरी १ जुलाईबाट छनोट भएका योग्य कम्पनीहरूलाई विद्युत् उपलब्ध गराइने छ।’

नेपालबाट विद्युत् खरिद गर्न इच्छुक कम्पनीहरूले आगामी १३ जेठ मध्यान्ह १२ बजेसम्ममा प्रस्ताव पेश गर्न सक्नेछन् र सोही दिन दिउँसो १ बजे प्रस्ताव खोलिने छ। ईच्छुक कम्पनीले ५० मेगावाटभन्दा कम खरिदका लागि प्रस्ताव पेश गर्न नसक्ने व्यवस्था गरिएको छ।

कम्पनीहरूले आफूले प्रस्ताव गरेको परिमाणको प्रति मेगावाट ३० हजार भारतीय रूपैयाँ (४८ हजार रूपैयाँ) प्रतिमहिना ‘अर्नेस्ट मनी डिपोजिट’ गर्नुपर्ने छ। भारतले नेपालका ६ वटा विद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ। देशभित्र खपत गरेर जगेडा भएको विद्युत् ढल्केबर–मुजफरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन मार्फत निर्यात हुने छ।

प्रकाशित: २५ वैशाख २०७९ ०५:०८ आइतबार

नेपाल विद्युत् प्राधिकरण विद्युत् बेच्न टेण्डर आह्वान