अर्थ

पर्यटन क्षेत्रको गुनासोः नारा आकर्षक, सम्बन्ध कमजोर

पर्यटकीय क्षेत्र पोखरा। तस्बिरः नागरिक

पाँचदलीय गठबन्धनले पोखरा महानगरको घोषणापत्र सार्वजनिक गर्दै पोखरामा आगामी पाँच वर्षमा विदेशी पर्यटकको आगमन दश लाख पुर्‍याउने लक्ष्य सार्वजनिक गर्‍यो। विदेशीको संख्या थप्नेदेखि बसाई अवधि र खर्च गर्ने दर पनि बढाउने घोषणापत्रमा उल्लेख छ। त्यसबाहेक पर्यटनमार्फत रोजगारीका अवसर सिर्जना गर्नेदेखि पोखरालाई ‘मास टुरिजम’ को हव बनाउने, केवलकार थप्ने र नयाँ गन्तव्यसम्म हवाई रुट विस्तार साथै पर्यटन विकासमा विभिन्न निकायसँग सहकार्य गर्ने घोषाणपत्रमा समेटिएको छ।

अर्काे दल एमालेले पनि घोषणापत्रमा पर्यटनलाई जोड दिएको छ। एमालेको महानगरको घोषणापत्रमा ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई पर्यटनसँग जोड्ने, पोखरालाई फिल्म सिटी बनाउने, पर्यटन प्रवर्द्धनका लागि होटल, रेष्टुरेण्ट, होमस्टे सञ्चालन गर्न प्रोत्साहन गर्ने, पदमार्ग, पर्यटक गाइड, सूचना केन्द्र स्थापना गर्ने उल्लेख छ। त्यसैगरि प्याराग्लाइडिङ, बन्जीजम्प, कायाकिङ, जिपफ्लायर, केबलकार लगायतका पर्यटन पूर्वाधार विकासको लागि निजी क्षेत्रसँग सहकार्य गर्ने पनि एमालेको घोषणापत्रमा उल्लेख छ।  

पोखरा पर्यटकीय नगर भएकोले यहाँ पर्यटनमा ठूलो लगानी छ। वर्षमा ठूलो संख्यामा स्वदेशी र विदेशी पर्यटक पोखरा भित्रिन्छन्। पोखराले पर्यटन क्षेत्रबाटै ठूलो लाभ लिइरहँदा पोखरा महानगरसँगको सम्बन्ध भने बलियो हुन नसकेको गुनासो पर्यटन क्षेत्रको छ। त्यसैले चुनावी नारामा पर्यटन क्षेत्रलाई निकै नै आर्कषक ढंगले समेटेपनि व्यवहारमा त्यो लागु नभएको व्यवसायी बताउँछन्। अघिल्लो निर्वाचनमा पनि यस्तै आकर्षक नारा सुनेकोमा व्यवहारमा लागु नहुँदा अहिले पनि विश्वास गर्ने आधार नभएको व्यवसायीको भनाई छ।  

व्यवसायी भन्छन्, ‘पर्यटन क्षेत्र र महानगरबीच हातेमालो हुनै सकेन । पर्यटन क्षेत्रको विकासको लागि सहकार्य कम छ। आगामि दिनमा यस्तो नहोस।’ होटल संघका केन्द्रीय सदस्य भरत पराजुली भन्छन्, ‘महानगरले पर्यटन क्षेत्रका लागि जति गर्नुपर्ने हो, उत्ति गरेन। अभिभावक बन्नुपर्ने महानगरले त्यो भूमिका संकटको बेलामा पनि देखाएन।’  

पर्यटक भित्र्याउन सकेमा त्यसको लाभ महानगरले समेत लिने भएपनि त्यसमा पनि भूमिका कमजोर रहेको उनले बताए। ‘केही सहरसँगको सम्बन्ध विस्तार गरेजस्तो देखिन्छ। तर, पर्यटनका लागि जुन रुपमा चासो देखाउनुपर्ने हो, त्यो हुन सकेन,’ उनले भने, ‘आगामी दिनमा त्यस्तो नहोस भन्ने व्यवसायीको चाहना हो।’ पर्यटकीय पूर्वाधार बनाउन, भएका पूर्वाधार व्यवस्थापन गर्न र व्यवसायीलाई व्यवसायमा टिकाउन महानगरको भूमिका नदेखिएको उनले बताए।  

‘कोरोना संक्रमणले अत्तालिएको पर्यटन क्षेत्रलाई जोगाउने उपायबारे महानगरले कहिल्यै सोचेन, जब की अप्ठेरो परेको बेला अभिभावक बनेर महानगरले विभिन्न करमा छुट दिन सक्थ्यो,’ उनले भने, ‘अप्ठेरो परेको बेला व्यवसायीलाई सम्पत्ति कर र घरबहाल कर लगायतमा केही राहत दिन सक्थ्यो, तर, त्यसैमा कडिकडाउ गर्‍याे। महानगर अभिभावक बन्नै सकेन। भएका पूर्वाधार जोगाउन पनि महानगरको चासो कम छ।’  

उनका अनुसार महानगरले पर्यटन क्षेत्रसँग हातेमालो गर्न खौज्दैन। कुनै पनि अन्तर्राष्ट्रिय प्रवर्द्धनात्मक गतिविधिमा सहभागी पनि भएको छैन। ‘प्रवर्द्धनात्मक गतिविधिमा सहभागी हुँदा त्यसले पोखराको उचाँइ बढाउथ्यो, तर, महानगर त्यसमा चुकेको छ,’ पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष समेत रहेका पराजुलीले भने, ‘पर्यटनप्रति जिम्मेवार बन्न सकेको छैन। अब चुनिने जनप्रतिनिधिबाट सुमधुर सम्बन्धको अपेक्षा छ।’

पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा घोषणापत्रमा पाँच वर्षभित्र दश लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गर्नु नराम्रो नभएपनि महानगरको भूमिका शब्दमा मात्र सीमित रहेको बताउँछन्। ‘पोखरामा बसाई अवधि बढाउने, खर्च बढाउने, संख्या बढाउने भन्ने कुरा हेर्दा र सुन्दा राम्रो हो। तर, कोरोना संक्रमण थपिएन भने अबको पाँच वर्षमा संख्या आफै १० लाख पुग्नेछ,’ सापकोटाले भने, ‘बरु समन्वय गर्छु भन्नुपर्ने हो।’ कोरोना संक्रमण सुरु हुनु अघि नेपालमा २०१९ मा झन्डै १२ लाख विदेशी पर्यटक आएका थिए। ती मध्ये पोखरामा करिब ४५ प्रतिशत आउँदा पनि पाँचलाख विदेशी भित्रिएको व्यवसायीको अनुमान छ।

‘महानगर र पर्यटन क्षेत्रबीच खासै समन्वय हुँदैन। शब्दमा मात्र सम्बन्ध देखिन्छ। एउटा मास्टर प्लान बनाउने बाहेक पर्यटनका लागि महानगरले जति गर्नुपर्ने हो, त्यो गरेन,’ उनले भने ‘पोखरा महानगरले हेर्ने मुख्य क्षेत्र पर्यटन हो। तर, त्यो हुनै सकेको छैन। नारामा मात्र सम्बन्ध राम्रो देखिन्छ।’ पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार बनाउने जिम्मा महानगरको हुन्छ, तर, ती काममा उत्तिसारो तदारुकता नदेखाएको उनले बताए। ‘घोषणापत्र आकर्षक हुन्छ, तर, त्यो सम्बन्ध त्यस्तो हुन सकेन,’ उनले भने।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारी पनि पर्यटन पूर्वाधार विकासमा महानगरको भूमिका कतिसम्म कमजोर छ भन्ने अहिले बनिरहेको अन्तर्राष्ट्रिय विमानस्थल बाहिरका संरचनाले देखाउँने बताउँछन्। ‘महानगरको कमजोर भूमिकाले गर्दा अन्तर्राष्ट्रिय विमानस्थल संचालन नै अन्योलपूर्ण बनिसकेको छ। प्रदेश र संघीय सरकारले आफ्नो काम सके, तर, महानगरले काम गरेन,’ उनले भने, ‘यस्तो महानगरसँग अपेक्षा गर्नु नै गलत हुनेछ। भोलि पनि यही अवस्था नआउँला भन्न सकिन्न।’  

उनका अनुसार पर्यटक बसपार्क निर्माण सकिएको डेढ वर्ष भइसक्यो। बसपार्कभित्र आठवटा सटर छन्। ती अझै खाली छ। ती सटर भाडाामा लगाएर डेढ वर्षमा कुनै न कुनै रुपमा महानगले आफ्नो आम्दानी बढाउन सक्थ्यो, तर, ती परिचालन गर्न नसकेको उनले बताए। ‘पर्यटन क्षेत्रमा महानगर हरेक ठाउँमा चुकेको बसपार्क र विमानस्थलको अवस्थाले देखाउँछ,’ उनले भने।  

ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशका अध्यक्ष सुशीलराज पौडेल पनि महानगर र पर्यटन क्षेत्रबीचको सम्बन्ध मजबुत हुन नसकेको बताउँछन्। फोहाेरमैला व्यवस्थापन, शौचालय निर्माण, सहर सौन्दर्यीकरणमा, ब्राण्डिङ गर्ने लगायतका काममा महानगर चुकेको उनी बताउँछन । ‘पोखरालाई अहिले जुन रुपमा प्रवर्द्धन गरिएको छ, वास्तविकता त्यो भन्दा फरक छ। पोष्टरमा देखाएजस्तो पोखरा देख्न सकिन्न,’ उनले भने, ‘त्यस्तो हुनुमा महानगरको भूमिका कमजोर भएर हो।’  

पोखरा पर्यटन परिषद (पिटिसी)का अध्यक्ष गोपि भट्टराई पनि पोखरालाई पर्यटनको राजधानी भनिरहँदा पर्यटन क्षेत्र हेर्ने निकाय समेत महानगरमा नभएको र व्यवसायीले माग गरिहँदा पनि सुनुवाई नभएको बताउँछन्। ‘चुनावका बेला पर्यटन क्षेत्रका लागि राम्रा कुरा अघिल्लो पटक पनि सुनेका हौ। तर, त्यो अनुसार सम्बन्ध हुन सकेन, महानगर हरेक काममा चुकेको छ,’ उनले भने, ‘पर्यटनमैत्री वातावरण समेत महानगरले बनाउन सकेन।’  

उनले पनि पर्यटनको विषयमा महानगर र पर्यटनबीच कहिल्यै सहकार्य नभएको बताउँछन्। ‘महानगरले लगानी गर्ने हो भने त्यसको लाभ महानगरले नै लिने हो। तर, ती कामै भएनन,’ उनले भने, ‘महानगर आफैमा पर्यटनमैत्री हुन सकेन। यतिसम्मकी पोखरालाई ब्राण्डिङ गर्ने काममा नै महानगर कमजोर बन्यो।’  

प्रकाशित: २२ वैशाख २०७९ ११:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App