अर्थ

विश्व बैंकले नेपाललाई १८ अर्ब ऋण दिँदै

विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर (करिब १८ अर्ब) रुपैयाँ ऋण सहयोग गर्ने भएको छ। वित्तिय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तिय समधानको विविधिकरण र वित्तिय सेवामा पहुँच बढाउनका लागि विश्व बैंकले यो रकम ऋण सहायता स्वरुप उपलब्ध गराउन लागेको हो।

बुधबार सिंहदरवारस्थित अर्थ मन्त्रालयमा एक कार्यक्रममा बीच अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सम्झौंता पत्रमा हस्ताक्षर गरेका छन्।

कोभिड महामारी, जलवायू परिवर्तनका जोखिमहरुको सम्बोधन गर्नुका साथै डिजिटल भुक्तानी र वित्तिय समावेशीकरणका आयोजनालाई सम्पन्न गराउन ऋण सहायताले सहयोग पुग्ने अर्थ सचिव मरासिनीले बताए। सम्झौंता पत्रमा कोभिड १९ महामारीमा प्रभावित वित्तिय स्थायित्वका जोखिमहरुलाई सम्बोधन गर्न बैंकिङ क्षेत्रहरुको परिस्थिति परिवेक्षणमा यस रकमले सघाउने उल्लेख छ।

यसैगरी पूँजी, बिमा र प्रकोप जोखिम वित्तिय बजारहरु खोल्न तथा नविनतम वित्तिय सेवाहरुलाई प्रवद्र्धन गर्न मद्दत गर्ने मरासिनीले जानकारी दिए। निजी क्षेत्रको नेतृत्वमा हुन सक्ने वृद्धिलाई सहयोग पुर्‍याउने गरी वित्तिय क्षेत्रको कार्यशैली सुधार गर्न पनि ऋण सहायता उपयोगी हुने अर्थ मन्त्रालयले जनाएको छ।

उता, माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक जर्भोसले सबै वित्तिय बजारहरुमा विस्तारित जलवायु उत्थानशिलता एजेण्डाको सुरुवात गर्नुका साथै रुपान्तरणकारी वित्तिय क्षेत्र सुधारका कार्यक्रमहरुलाई सो ऋण सहायताले सघाउने स्पष्ट पारे।

प्रकाशित: २१ वैशाख २०७९ १२:१४ बुधबार

विश्व बैंक नेपाल सिंहदरवार