अर्थ

चालु आवमा ५.८४% आर्थिक वृद्धिदर

अर्थतन्त्रको आकार साढे ४८ खर्ब

कोभिड–१९ का कारण चालु आर्थिक वर्ष (आव) का केही महिना प्रभावित भए पनि ५.८४ प्रतिशतले मुलुकको अर्थतन्त्र विस्तार हुने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ। विभागले बिहीबार सार्वजनिक गरेको चालु आवको राष्ट्रिय लेखा तथ्यांकअनुसार यस वर्ष उपभोक्ता मूल्यमा मुलुकको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार भई ४८ खर्ब ५१ अर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको छ।

यस्तै आधारभूत मूल्यमा भने अर्थतन्त्र ५.४९ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ। विभागले चालु आवको ६ देखि ९ महिनासम्मको अवधिमा मुलुकभर भएका आर्थिक गतिविधिका आँकडा तथा सूचनाको आधार र आगामी दिनमा हुने गतिविधिको अनुमान गरी अर्थतन्त्रको यो तस्बिर सार्वजनिक गरेको हो। चालु आवमा अर्थतन्त्रको विस्तार कस्तो दरमा भयो भन्ने यकिन तथ्यांक भने २ वर्षपछि मात्र निकाल्ने गरिन्छ।

विभागका अनुसार कुल गार्हस्थ उत्पादन (जिडिपी) मा सबैभन्दा बढी हिस्सा सेवा क्षेत्रको छ। यो क्षेत्रले कुल जिडिपीको ६१.८ प्रतिशत हिस्सा लिने अनुमान गरिएको छ। यस्तै प्राथमिक क्षेत्रको हिस्सा २४.५ र द्वितीय क्षेत्रको हिस्सा १३.७ प्रतिशत रहने अनुमान विभागको छ। त्यस्तै कृषि क्षेत्रमा ३.९ र गैरकृषि क्षेत्रमा ६.९ प्रतिशतले आर्थिक वृद्धि हुने विभागको अनुमान छ।

तथ्यांक सार्वजनिक कार्यक्रममा विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले चालु आवको ६ देखि ९ महिनासम्म प्राप्त तथ्यांक र विवरणका आधारमा ५.८४ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको बताए। ‘अहिले कोभिड–१९ को प्रभाव न्यून छ। आर्थिक वर्षको अन्त्यसम्म यसको नकारात्मक असर नरहने देखिएकाले आर्थिक क्रियाकलाप सहज हुने अनुमानमा यो प्रक्षेपण गरिएको हो,’ उनले भने, ‘अबको तीन महिना कोभिडले कुनै असर गर्दैन भन्ने हाम्रो अनुमान हो।’

सरकारले चालु वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको थियो। विश्व बैंक लगायतका दातृ निकायले भने चालु आवमा नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशतभन्दा तल हुने प्रक्षेपण गरेका थिए। तर विभागले विदेशी दातृ निकायले भन्दा झन्डै दुई प्रतिशत बढी आर्थिक वृद्धिदर हुुने प्रक्षेपण गरेको छ।

कार्यक्रममा विभागका महानिर्देशक नेविललाल श्रेष्ठले विश्व बैंकलगायतका दातृ निकायले अनुमानको आधारमा प्रक्षेपण गर्ने भएकाले नमिल्ने दाबी गरे। ‘विश्व बैंक, एडिबीलगायतका दातृ निकायले सीमित तथ्यांकको सहारामा अनुमान गरेर आर्थिक वृद्धिदरको प्रक्षेपण गर्छन्,’ उनले भने, ‘हामीले नेपालको वास्तविक आर्थिक आँकडा र सूचनाको आधारमा गर्ने भएकाले केही प्रतिशत फरक पर्न आएको हो।’

तथ्यांक सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले कोभिड–१९ का कारण विश्वव्यापी रूपमा आर्थिक संकुचन आए पनि नेपालमा खासै प्रभाव नपारेको दाबी गरे। ‘अहिले विश्वव्यापी रूपमा आर्थिक संकुचन देखिएको छ,’ उनले भने ‘नेपालको अर्थतन्त्रको ठुलो हिस्सा अनौपचारिक रूपमा चल्दै आएकाले पनि त्यसको ठूलो प्रभाव नदेखिएको हो।’

सचिव भण्डारीले नेपालमा निर्वाहमुखी कृषि, अनौपचारिक आर्थिक लेनदेनलगायतका कारणले विश्वव्यापी आर्थिक संकुचनको प्रभाव नदेखिएको बताए। उनले पनि विश्व बैंक लगायतका संस्थाले नेपालसँग सम्बन्धित आर्थिक वृद्धिलगायतका तथ्यांक अनुमानको आधारमा निकाल्ने दाबी गरे।

उनका अनुसार यसैकारण नेपालको तथ्यांकसँग विश्व बैंकलगायतको आँकडा मिल्दैन। ‘विश्व बैंकले निकाल्ने तथ्यांक र नेपालले संकलन गर्ने तथ्यांकमा केही घटीबढी देखिनु सामान्य नै हो,’ उनले भने, ‘उनीहरूले पनि अनुमानकै आधारमा निकाल्ने भएकाले केही घटीबढी हुने गर्छ।’

गत आवको आर्थिक वृद्धिदर ३.८३

विभागले आर्थिक वर्ष २०७७/७८ मा मुलुकको आर्थिक वृद्धिदर ३.८३ प्रतिशत हुने संशोधित अनुमान गरेको छ। यो गत वर्ष विभागले गरेको अनुमानभन्दा कम हो। यसैगरी आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २.४२ प्रतिशतले ऋणात्मक रहेको विभागको भनाइ छ।

यो वास्तविक तस्बिर हो। लामो समयपछि आव २०७६/७७ मा नेपालको आर्थिक वृद्धि ऋणात्मक बनेको हो। कोभिडका कारण विश्वभर फैलिएको महामारीले आर्थिक वर्षको धेरै समय बन्दाबन्दी भएकाले आर्थिक वृद्धिदर नकारात्मक हुन पुगेको हो।

प्रतिव्यक्ति आय बढ्यो

नेपाली जनताको प्रतिव्यक्ति आय एक वर्षको अवधिमा १ सय ३३ अमेरिकी डलरले वृद्धि भएको छ। चालु आवमा नेपालमा प्रतिव्यक्ति वार्षिक आय १३७२ अमेरिकी डलर अर्थात् एक लाख ६४ हजार पाँच सय ९८ रूपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा नेपालको प्रतिव्यक्ति वार्षिक आय १२ सय ३९ अमेरिकी डलर थियो।

विभागका अनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन भने १३ सय ८१ अमेरिकी डलर अर्थात् १ लाख ६५ हजार ६ सय ४९ रूपैयाँ पुगेको छ। आर्थिक वर्ष २०७६/७७ मा प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन ११ सय ५६ अमेरिकी डलर रहेको थियो।

प्रकाशित: १६ वैशाख २०७९ ००:३८ शुक्रबार

आर्थिक वर्ष २०७६/७७ आर्थिक वृद्धिदर केन्द्रीय तथ्यांक विभाग विश्वव्यापी रूपमा आर्थिक संकुचन