विदेशी मुद्राको सञ्चितिमा चाप परे पछि सरकारले १० वस्तुको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। आयात घटाएर विदेशी मुद्राको सञ्चिति घट्ने क्रम रोक्न सरकारले यस्तो निर्णय गरेको हो। प्रतिवन्ध लगाएका वस्तुमा मदिरा, मोटरसाइकल, कार जीप भ्यान, हिरा, टेलिभिजन लगायतका वस्तु छन्।
आयात बन्द गरेका वस्तुमा कुरकुरे, कुरमुरे, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, मोबाइल सेट, रंगिन टेलिभिजन (३२ इञ्चभन्दा माथि), जीप, कार र भ्यानहरू (एम्बुलेन्स र शवबाहन बाहेक), २५० सीसीभन्दा माथिका मोटरसाइकल, सबै प्रकारका खेलौनाहरू, खेल्ने तास आदि रहेका छन्।
आयात बन्द गरिएका वस्तुको कच्चा पदार्थ आयातमा भने रोक नलगाउने सरकारले जनाएको छ। सरकारले बन्देज लगाएका वस्तुहरू नेपालस्थित कुटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफैंले पैठारी गर्न भने बाधा नपर्ने जनाएको छ। वैशाख १३ गतेभन्दा अघि बैंकिङ च्यानलबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेकाहरूको हकमा भने यो व्यवस्था लागू नहुने मन्त्रालयको भनाइ छ।
प्रकाशित: १५ वैशाख २०७९ ०४:०४ बिहीबार