अर्थ

भक्तपुरमा एकदिने हाट बजार सञ्चालन

भक्तपुर चेम्बर अफ कमर्सको प्रस्तुतिमा शनिबार यहाँ एकदिने हाट बजार सञ्चालन गरिएको छ। स्थानीय उत्पादनहरुको प्रवर्द्धनार्थ जुजु इभेण्ट्सले हाट बजार चलाएको हो।  

भक्तपुर दरवार स्क्वायर परिसरमा रहेको वत्सला गार्डेन रेष्टुरेण्टमा हाट बजार सञ्चालन गरिएको हो। हाट बजारमा २५ वटा स्टलहरु रहेका थिए। खाद्य सामग्री, हस्तकलाका सामग्री, कृषि उत्पादन, नेपाली लत्ताकपडा आदिका स्टलहरु यहाँ रहेका थिए।  

हाट बजारको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले स्थानीय उत्पादनहरुको प्रवर्द्धनार्थ आयोजना हुने यस प्रक्रितिको कार्यक्रमको विशेष महत्व भएको बताए। साथै आयात प्रतिस्थापन गर्न सकिने किसिमका उत्पादनहरुलाई विशेष प्रथमिकतामा राखेर प्रवर्द्धन गर्नुपर्नेमा पनि उनले जोड दिए।

भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरले सबैको सहकार्यबाट स्थानीय उत्पादनहरुको विकासमा सहयोग पुग्ने बताए। साथै भक्तपुर चेम्बर अफ कसर्मले जिल्लाका विभिन्न स्थानहरुको यस प्रकृतिका हाट बजारहरु सञ्चालनका लागि प्रोत्साहन गर्दै जाने उनले बताए।

कार्यक्रममा आयोजक संस्था जुजु इभेण्टसका सुसान्त सुवाल, जुजु इभेण्टसका आसिम वेंजु, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय कार्यसमिति सदस्यद्वय रोशन भोयद्यो र पर्शुराम दाहालले हाट बजारको महत्वबारे चर्चा गरे। कार्यक्रमको उद्घाटनकै अवसरमा भक्तपुर चेम्बर अफ कमर्सबाट नयाँ वर्ष २०७९ सालको अवसरमा प्रकाशन गरेको क्यालेण्डरको समेत विमोचन गरिएको थियो।

प्रकाशित: १० वैशाख २०७९ ११:४४ शनिबार