अर्थ

दुई अर्बको लागतमा अन्तर्राष्ट्रिय स्तरको नेपोभिट टायल स्वदेशमै उत्पादन

नेपाल सेरामिक्स इन्डष्ट्रिज प्रालीले स्वदेशमै उत्पादन गरेको नेपोभिट टायल बजारमा ल्याएको छ। प्रालीले करिव दुई अर्बको लागतमा टायल उद्योग खोलेर अहिले अन्तर्राष्ट्रि यस्तरको टायल उत्पादन गरेर बजारमा ल्याएको हो।  

कम्पनीका अध्यक्ष शम्भुनाथ झा, कम्पनीका प्रबन्ध निर्देशक मनोजप्रसाद रौनियार, निर्देशक विभा झा र महानायक राजेश हमालले एक औपचारिक कार्यक्रमका बीच नेपोभिट टायलको शुभारम्भ गरेका थिए। नेपाल सेरामिक्स इन्डष्ट्रिज प्रालीका अध्यक्ष शम्भुनाथ झाले नेपाली कच्चा पदार्थको प्रयोग गरेर अन्तर्राष्ट्रिय स्तरको टायल उत्पादन गरेर बजारमा ल्याएको जानकारी दिए। नेपालमा विभिन्न मुलुकमा उत्पादन भएका टायल भित्रिदैं आइरहेका छन्,’ उनले भने,‘नेपालमै उद्योग नै स्थापना भएर खोलेको टायल उद्योग पहिलो हो।’

यो टायल उद्योग जीतपुरमा रहेको छ। कम्पनीका अध्यक्ष झाले कम्पनीले सेरामिक्स निर्माण सामग्री उत्पादन गरेर मुलुकलाई आत्मनिर्भर गराउनेतर्फ अग्रसर हुँदै आइरहेको बताए। ‘विदेशी टायलको आयात गर्दा मुलुकबाट वर्षेनि अर्बाै रुपैयाँ वैदेशिदैं आइरहेको छ,’ उनले भने,‘हामीले गुणस्तरीय तथा अन्तर्राष्ट्रिय स्तरको टायल उत्पादन गरेकाले पनि नेपाली जनताले अवश्य मन पराउनुहुनेछ भन्ने आशा राखेका छौं।’ कम्पनीका प्रबन्ध निर्देशक रौनियारले कम्पनीले डाँफे, गुराँस फेवा लगायतको नामबाट टायल बजारमा पठाउँदै आइरहेको बताए।

प्रबन्ध निर्देशक झाले टायलको लागि आवश्यक पर्ने माटो, बालुवा, ढुंगा लगायतका कच्चा पदार्थ पनि स्वदेशी नै प्रयोग गर्दै आइरहेको बताए। कम्पनीले दैनिक २० हजारदेखि ३० हजार वर्गफिट टायल उत्पादन गर्ने क्षमता राख्दछ।

कम्पनीका निर्देशक विभा झाले गुणस्तरीय र भरपर्दाे टायल उत्पादन भएकाले ढुक्क भएर प्रयोग गर्न ग्राहक वर्गलाई अनुरोध गरेकी छन्। नेपाली सिनेमा क्षेत्रका महानायक राजेश हमाल यो कम्पनीका सद्भावना द्रुत रहेका छन्। कम्पनीका सद्भावना द्रुत हमालले नेपाली कच्चा सामग्रीको प्रयोग गरेर गुणस्तरीय र भरपर्दाे टायल उद्योग बनेकाले पनि सबैले उपभोग गर्न अनुरोध गरे। नेपालमा ३ हजार करोड रुपैयाँको टायलको बजार रहेको छ। नेपालमा अधिकांश इटालियन कम्पनी तथा छिमेकी मुलुक भारतबाट टायल आयात हुँदै आइरहेको छ।

प्रकाशित: १० वैशाख २०७९ ११:२२ शनिबार