अर्थ

सातामा नेप्से ८९.७९ अंकले गिरावट

शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ८९.७९ अंकले गिरावट आएको छ। चालु आर्थिक वर्षको सुरुवातसँगै शेयर बजारमा तीव्र रुपमा उतारचढाव भइरहेको छ।

गत साता तीन दिन मात्रै कारोबार भएको नेप्से परिसूचक ४९.०७ अंकले गिरावट आएको थियो। पछिल्लो एक सातामा नेप्से गत साताको भन्दा उच्च ८९.७९ अंकले गिरावट आएको छ। ८ महिना अगाडि २०७८ भदौ २ गते बुधबार ३१९८.६० बिन्दुमा पुगेर नेपाली शेयर बजारमा नयाँ कीर्तिमान बनेको थियो।

तर, आठ महिनायता लगातार रुपमा गिरावट आएको नेप्से २०७९ वैशाख ८ गतेसम्म आउँदा ८७३.१५ अंकले घटेर २३२५.४५ विन्दुमा सिमित भएको छ। नेप्सेमा आएको उच्च गिरावटले शेयर लगानीकर्ताको कूल पूँजीमा पनि उच्च गिरावट आएको छ।

नेप्से ३२ सय विन्दुमा पुग्दा झण्डै २२ अर्बसम्म कारोबार गरेका लगानीकर्ता अहिले अन्योलमा रहँदा कारोबार रकम खुम्चिएर १ अर्बमा झरेको छ। यो हप्तालाई नै आधार मान्ने हो भने ५ दिनको कारोबारमा दुई दिन सामान्य अंकले बढ्दा ३ दिन उच्च अंकले गिरावट आएको छ।

सातामा दुई दिन सामान्य वृद्धि भएता पनि तीन दिन नेप्से उच्च अंकले गिरावट हुँदा बजार २४ सयको बिन्दुमा पुग्न सकेन। साताको पहिलो कारोबार भएको दिन आइतबार नेप्से परिसूचक २९.६० अंकले घटेर २३८५.६४ विन्दुमा झरेको थियो। र, आइतबार कारोबारमा आएका २३३ कम्पनीको ३४ लाख ७ हजार कित्ता शेयर १ अर्ब ४४ करोड ७ लाख २३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

त्यस्तै साताको दोस्रो कारोबारको दिन सोमबार पनि नेप्से परिसूचक ४१.७७ अंक घटेर २३४३.८७ विन्दुमा झरेको थियो। सोमबार कारोबारमा २२९ कम्पनीको ३८ लाख ७६ हजार कित्ता शेयर १ अर्ब ५३ करोड ६ लाख ९२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

मंगलबार भने नेप्से परिसूचक सामान्य १३.३७ अंकले बढेर २३५७.२४ विन्दुमा माथि पुगेको थियो। मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ३२ लाख १३ हजार कित्ता शेयर १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

मंगलबार नेप्से सामान्य अंकले बढे पनि बुधबार भने नेप्से परिसूचक ३६.७३ अंक घटेर २३२०.५१ विन्दुमा झरेका थियो। बुधबार कारोबारमा आएका २२८ कम्पनीको ३५ लाख ७० हजार कित्ता शेयर १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से ४.९४ अंक बढेर २३२५.४५ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०६ अंक, फ्लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंकले बढेको छ।

बिहीबार कारोबारमा आएका २३१ कम्पनीको ३९ लाख ९१ हजार कित्ता शेयर १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधबारको तुलनामा बिहीबार कारोबार रकममा सुधार भएको छ। बुधबार १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

प्रकाशित: ९ वैशाख २०७९ ०९:१६ शुक्रबार

शेयर बजार मापक नेप्से परिसूचक