अर्थ

सडक खनियो तर स्तरवृद्धि भएन

फाइल तस्बिर।

स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएको पाँच वर्ष भयो। जनप्रतिनिधिको कार्यकाल सकिन लाग्दा पनि कालिकोटका नौवटै स्थानीय तहले ग्रामीण भेगमा डोजर प्रयोग गरेर धामाधम सडक खने तर डोजर विकासले गर्दा अहिले कुनै पनि पालिकाले एक किलोमिटर सडक पनि कालोपत्रे गरेका छैनन्।

सदरमुकामसँग जोडिएको खाँडाचक्र नगरपालिकाले पाँच वर्षमा ८५ किलोमिटर ग्रामीण सडक निर्माण गर्‍यो। तर कालोपत्रे र स्तरवृद्धि नहुँदा समस्या हुने गरेको छ। नगरपालिकाभित्रको कर्णाली राजमार्गको केही भागमा सडक कालोपत्रे भएको भए पनि अरू वडाका सडकमा नगरपालिकाले कालोपत्रे र ग्राभेल भने नगरेको इन्जिनियर रत्नबहादुर भण्डारीले बताए।

यस्तै जिल्लाका पलाँता गाउँपालिकाले जनप्रतिनिधि आइसकेपछि ७६ किलोमिटर सडक खनेको छ। गाउँपालिका अध्यक्ष लक्ष्मण बमका अनुसार गाउँपालिकाले १० वर्षे गुरु योजना बनाएर काम गरिरहेको र ६ वर्षसम्म सबै वडामा सडकको ट्र्याक खोलिसक्ने र त्यसपछि क्रमशः स्तरवृद्धि र कालोपत्रे गर्ने बताए।

गाउँपालिकाले खनेका सडकमा गाडी पनि गुडिरहेका छन्। तर अहिले उक्त सडकको स्तरवृद्धि नहुँदा गाडी चालकलाई समस्या हुने गरेको छ। स्थानीय तहको प्राथमिकतामा सडक नै परेपछि प्रत्येक टोलटोलमा वातावरणीय प्रभाव अध्ययन नगरी बनाइएका सडकले पहिरोको जोखिम पनि निम्त्याएको स्थानीयको भनाइ छ।

गाउँगाउँमा सडक पुर्‍याउने होडबाजीले जथाभावी डोजर चलाउन छाडिएको छैन। कतिपय स्थानीय तहमा उपभोक्ता समितिमार्फत योजनाबिनै अनुमानका भरमा सडक खनिएका छन्। कालिकोटका स्थानीय तहले सडकलाई प्रथमिकतामा राखेर ट्र्याक खोल्न सुरु गरेपछि जथाभावी डोजर चल्न थालेका हुन्।

जिल्लाको पचालझरना गाउँपालिकाले पनि कर्णाली नदीमा पुन निर्माण नहुँदा कर्णाली नदीबाट डोजर तारेर गाउँगाउँमा सडक खनेको छ। गाउँपालिकाले पालिकाभर १ सय किलोमिटर संघ, प्रदेश र स्थानीय तहको बजेटबाट सडक निर्माण गरेको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए।

उनले भने, ‘गाउँपालिकाले सडक त खन्यो तर कर्णाली नदीमा पुल नहुँदा ती सडक प्रयोगमा छैनन्, कतै मोटरसाइकल मात्र चल्ने गरेका छन्, त्यो पनि झोलुंगे पुलबाट लगेर।’ कुनै पनि स्थानीय तहले डोजर प्रयोगको मापदण्ड भने बनाएका छैनन्। कतिपय जनप्रतिनिधिका आफ्नै डोजर छन्। आफ्नो फाइदाका लागि जथाभावी प्रयोग गरिएका छन्।

गाउँमा पानीका मुहान सुक्ने, बाढीपहिरो जानेजस्तो वातावरणलाई असर पार्ने कुरामा उनीहरूको ध्यान छैन। जिल्लाको रास्कोट नगरपालिकाले भने गाउँमा सडक पुगेपछि १८ किलोमिटर सडकको कालोपत्रे सुरु गरेको छ। अरु पालिकाले सडक कालोपत्रे गर्ने जस्ता कुरामा उनीहरूको ध्यान जाँदैन।

स्थानीय तहका सडक कस्तो खालको बनाउने भन्ने बिनामापदण्ड खनिएका छन्। शुभकालिका गाउँपालिकाले पनि पाँच वर्षमा ७६ किलोमिटर सडक खनेको छ। गाउँमा सडक पुगे पनि अहिले धेरै ठाउँमा गाडी चलाउन समस्या हुने गरेको स्थानीयले बताउने गरेका छन्।

नरहरिनाथ गाउँपालिकाले पनि ९० मिटर सडकको ट्र्याक खनेको र सबै ठाउँबाट सडक निर्माण गरेको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए,’ उनले भने, ‘हाम्रोले ट्र्याक मात्र खोलेको र अब आउने जनप्रतिनिधिले स्तरवृद्धि गनुपर्नेछ।’ 

प्रकाशित: ४ वैशाख २०७९ ०२:१४ आइतबार

कालोपत्रे र स्तरवृद्धि नहुँदा समस्या स्थानीय तहका सडक सडक खनियो तर स्तरवृद्धि भएन