अर्थ

‘नेपाल लगानी सम्मेलन–२०२२’ सुरु

जानकी ग्लोबल फाउण्डेशन र नेपाल फिलिपिन्स चेम्बर अफ कर्मशको आयोजनामा राजधानीमा दुई दिने ‘नेपाल लगानी सम्मेलन–२०२२’ सुरु भएको छ। भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आइतबार सुरु भएको सम्मेलन दुई दिनसम्म चल्नेछ।

सम्मेलनले नेपालमा लगानीको चेतना अभिवृद्धि र वित्तीय साक्षरता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। सफल नेपाली लगानीकर्ताका अनुभव र विचारहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजक जानकी ग्लोबल फाउण्डेशनकी फाउण्डर जानकी गुरुङले बताइन्।

‘सम्मेलन मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानीमा उत्कृष्ट अवसरहरू खोजेर नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने उनले बताइन्। उनले भनिन्–‘सम्मेलनले नेपालको नाफामुखी क्षेत्रको बारेमा जान्न र अवसरहरू समात्न उत्प्रेरित गर्ने छ।’

नेपालको राष्ट्रिय शक्ति आर्थिक विकासमा उच्च आर्थिक वृद्धिका लागि स्वदेशी पुँजीले मात्रै नपुग्ने जनाउँदै उनले विदेशको सार्वजनिक र निजी लगानी नेपाल भित्र्याउँदा लगानीको प्रत्याभूति हुन आवश्यक रहेकोमा समेत जोड दिइन्।

नेपाल ग्रिनइनर्जी पावरहाउस बन्न सक्ने बताउँदै उनले स्वास्थ्य, शिक्षा तथा खेलकुदका पूर्वाधारमा समेत लगानीको सम्भावना रहेको बताइन्। यस्ता सम्मेलन नेपालमा लगानी भित्र्याउन कोसेढुंगा साबित हुने बताउँदै उनले नेपालको ऊर्जा, पर्यटन, पूर्वाधार, कृषि लगायतका क्षेत्रमा लगानीको अधिक सम्भावना रहेको जनाएकी छन्।

त्यस्तै सम्मेलनलाई सम्बोधन गर्दै नेपाल रिपब्लिक मिडिया प्रालिका निर्देशक शोभा ज्ञवालीले व्यापार घाटाका कारण अर्थतन्त्रमा गम्भीर संकट परेको समयमा निर्यातको तुलनामा आयात १२ गुणा रहेको जनाइन्।

‘अहिलेको अवस्थामा एक रूपैयाँको समान बेचेर १२ रूपैयाँको सामान भित्र्याउनु भनेको आफैंमा अर्थतन्त्रको लागि चिन्ताको विषय हो।’ उनले भनिन्– ‘आन्तिरिक खपतका लागि अत्यावश्यक वस्तुका निम्ति विदेशी मुद्रा खर्चेर समान ल्याउनुपर्ने अवस्था कम गर्न अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने उत्पादनमा जोड दिन आवश्यक छ।’

अहिले स्वदेशी तथा विदेशी लगानीका लागि अनुकुल वातावरण बनेको जनाउँदै ज्ञवालीले औद्योगिकीकरण, निर्यात वृद्धि र आयात प्रतिस्थापनका लागि विदेशी लगानी र प्रविधिको खाँचो रहेको बताइन्।

यस्ता सम्मेलनले सरकार, नेपालको निजी क्षेत्र तथा विदेशको सार्वजनिक र निजी क्षेत्रबीच बहुपक्षीय सञ्जाल बनाउन महत्वपूर्ण अवसर दिने उनको भनाइ छ। नेपाल लगानीको प्रतिफलका लागि विश्वकै उत्कृष्ट गन्तव्य रहेको जनाउँदै उनले विकासका लागि सार्वजनिक क्षेत्रको लगानी मात्रै पर्याप्त नरहेकाले निजी लगानीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन्।

सरकारले लिएको भिजन प्राप्तिलाई सघाउन पनि सम्मेलनले सहयोग पुर्‍याउने उनको भनाइ छ। यस्ता सम्मेलनले आर्थिक सुधारको संकेत गर्ने जनाउँदै कृषिप्रधान मुलुकमै सबैभन्दा धेरै कृषि उपज आयात गर्नु परिरहेको अवस्थाबारे उजागर गरिन्।

कृषिप्रधान मुलुकमै सबैभन्दा धेरै कृषि उपज आयात गर्नुपरेको छ। यसले एकातिर हाम्रा जमिन बाँझै बस्ने र अर्काेतर्फ दैनिक उपभोगका निम्ति आयात गर्नुपर्ने अवस्था छ। यसले हाम्रो उत्पादकत्व र उद्यमशीलतामै चुनौती उत्पन्न भएको छ।’ उनले भनिन् ‘दाँत कोट्याउने सिन्का मात्रै डेढ अर्बको आयात गरेको सुन्दा आश्चर्य मान्नुपर्ने हो। सन् २०२१ को आकडा अनुसार नेपालमा एक वर्षमा सवा अर्बको चुईगम मात्रै चपाएका रहेछन्।’

अहिले मुलुकलाई युवा जनसंख्याको उपस्थिति विकासका निम्ति कामलाग्दो रहेको जनाउँदै उनले १६ देखि ४० वर्ष उमेर समूह अहिले पनि कुल जनसंख्याको ४० प्रतिशत भन्दा बढी रहेका वेला उद्यमशीलता जरुरी देखिएको उनले बताइन्।

‘अब मुलुकलाई उत्पादनका रूपमा स्थापित गर्ने वेला भइसकेको छ। अन्यत्रबाट समान ल्याएर उपभोग गर्नेमात्र नभई अब हामीले पनि अरूलाई सामान र सेवा बेच्नुपर्छ’–अध्यक्ष ज्ञवालीले बताइन्। बालुवामाथि स्थापित सिंगापुर एकै दिनमा सम्पन्न नभएको स्मरण गर्दै त्यहाँको विकासका लागि उद्यमशीलता हो र त्यसैले त्यो मुलुकले काँचुली फेरेको धारणा राखिन्।

त्यस्तै सम्मेलनमा बोल्दै हाइड्रो सोलुशनका अध्यक्ष तथा ऊर्जाविद् ज्ञानेन्द्रलाल प्रधानले नेपालमा साक्षरता बढ्दै गएको र गरिबी घट्दै गएको अवस्थामा कृषिमा आधारित अर्थतन्त्रलाई अघि बढाउँदै दिगो र भरपर्दो लगानीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। 

‘हालै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबाट समेत नेपालमा तीन करोड भारतीय रूपैयाँको लगानी आउने सम्भावना छ। एसियामा बिजुली उत्पादन गर्न सक्ने क्षमता भएको दोस्रो देश नेपालको विकासको अन्तिम विकल्प नै जल विद्युत् हो’–उनले भने।

बिजुलीको उत्पादनबाट आयात प्रतिस्थापन गर्न सकिने जनाउँदै उनले ऊर्जा उत्पादनबाट आर्थिक समृद्धि हासिल गर्न सकिनेमा उनको जोड रहेको छ। अहिले विदेशबाट आइरहेको रेमिट्यान्सले धानिरहेको अर्थतन्त्रमा सुधार ल्याउन पर्यटन, ऊर्जा, कृषि, सेयरलगायतका क्षेत्रमा उत्पादन लक्षित लगानीको खाँचो रहेकोमा समेत उनले जोड दिए।

त्यस्तै कार्यक्रममा बोल्दै इजराइलका लागि पूर्व राजदूत अन्जान शाक्यले बाह्य देशसँगको परम्परागत सम्बन्धमा सुधार ल्याउँदै आर्थिक र आधुनिक सम्बन्धमा जोड दिनुपर्ने बताइन्। कूटनीतिको माध्यमबाट लगानी भित्र्याउन सकिने जनाउँदै उनले व्यापार घाटा कम गर्न नेपालमा सम्भावनाका अवसरलाई कार्यान्वयनतर्फ लैजानुपर्नेमा जोड दिइन्।

बाह्य देशहरूले किसानलाई उद्यमी बनाउन सरकारले अवसर र लगानीको वातावरण बनाइ रहेको समयमा नेपालमा पनि कृषकलाई सरकारले उद्यमीको रूपमा हेर्दै आन्तरिक लगानीतर्फसमेत अग्रसर गराउनुपर्नेमा उनको जोड रहेको छ।

त्यस्तै, सानिमा बैंकका पूर्व सिईओ भुवन दाहालले वाणिज्य बैंकहरूमा सुधारको खाँचो रहेको औंल्याए। हाल नेपालमा सञ्चालनमा रहेका बैंकबाट ८० प्रतिशत कर्जा प्रयोगमा रहेको जनाउँदै उनले ग्राहकलाई देउताको रूपमा लिएर उद्यमी बन्न चाहने स्टार्टअपलाई सहयोग गर्नुपर्नेमा जोड दिए। देशमा स्रोत र साधनको कमि नरहेको औल्याउँदै उनले ऊर्जा, उद्योग, पर्यटन, उत्पादन क्षेत्रका आयोजना समृद्ध नेपालको पक्षमा रहेको बताए।

त्यस्तै, कार्यक्रममा बोल्दै रूपक घिमिरेले उद्यमशीलता आफैंमा एक व्यापारको पाटो रहेकाले उद्यमशीलता सुरु गर्नुअघि लगानी र रिस्क मेनेजमेन्टबारे अध्ययन गर्नु उत्तिकै आवश्यक रहेको बताए। सम्मेलनमा बंगलादेश, मस्को, यूके लगायतका विभिन्न स्थानबाट समेत प्रतिनिधिले भर्चुअल रूपमा लगानी सम्मेलनबारे आफ्नो धारणा राखेका थिए।

प्रकाशित: २८ चैत्र २०७८ ०३:२१ सोमबार

नेपाल लगानी सम्मेलन–२०२२ लगानीको चेतना अभिवृद्धि र वित्तीय साक्षरता अभिवृद्धि