दार्चुला जिल्लामा विद्यालय तथा स्वास्थ्य चौकी भवन र धादिङमा सिँचाइ परियोजना निर्माणका लागि भारत सरकारले ७ करोड ८ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
भारतीय दूतावासद्धारा बिहीबार जारी विज्ञप्ति अनुसार जनविकास माध्यमिक विद्यालय, इरकोट स्वास्थ्य चौकी भवन र महेशफाँट सिँचाइ परियोजना निर्माणका लागि भारतीय राजदूतावास तथा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवम् क्रमशः दुहुँ गाउँपालिका, दार्चुला, नौगाड गाउँपालिका, दार्चुला र गल्छी गाउँपालिका, धादिङ्काबीच बिहीबार तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो।
भारत सरकारको आर्थिक सहयोगमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत निर्माण हुन लागेका उल्लिखित सामुदायिक विकास परियोजनाहरुको कूल अनुमानित लागत ७ करोड ८ लाख रुपैयाँ छ। ३ करोड ३७ लाख रुपैयाँ लागतमा जनविकास माध्यमिक विद्यालय, २ करोड ५३ लाख रुपैयाँ लागतमा इरकोट स्वास्थ्य चौकी भवन र १ करोड १७ लाख रुपैयाँ लागतमा महेशफाँट सिँचाई परियोजनाको निर्माण गरिने बताइएको छ।
प्रकाशित: २५ चैत्र २०७८ ०५:५८ शुक्रबार