अर्थ

राष्ट्र बैंकद्वारा विलासिताका वस्तु आयातमा रोक

नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले पछिल्लो समय घट्दै गएको विदेशी मुद्रा सञ्चिति घट्न नदिनको लागि विलासिताका वस्तु आयातमा रोक लगाएको बताएका छन्।

प्रवक्ता भट्टले बिहीबार सोधानान्तर बढ्दो घाटा र उच्च आयातका कारण विदेशी मुद्रा सञ्चितिमा कमि हुँदै गएकाले विदेशी मुद्रा सञ्चिति घट्न नदिनका लागि विलासिताका वस्तु आयातमा रोक लगाएको बताएका हुन्। मुलुकको अर्थतन्त्रमा थप चुनौती आउन नदिनको लागि राष्ट्र बैंकले बाह्य क्षेत्र व्यवस्थापन गर्न केही वस्तुको आयातमा रोक लगाउन परेको प्रवक्ता भट्टले स्पष्ट पारे। उनले अहिले सबैभन्दा ठूलो चुनौती विदेशी मुद्रा सञ्चिति व्यवस्थापन रहेकाले समयमा नै सतर्कता अपनाउन खोजेको बताए।

राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रमा संकट देखिएपछि विलासिताका वस्तु आयातमा रोक लगाएको भन्दै प्रवक्ता भट्टले संकटबाट जोगाउनका लागि एउटा टुल्स प्रयोग गरिएको बताए।उनले बाहिर हल्ला आए जस्तो अर्थतन्त्र आत्तिहाल्नु पर्ने अवस्था नरहेको पनि उल्लेख गरे। राष्ट्र बैंकसँग ६.७ महिनाका लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने विनिमय विदेशी मुद्रा सञ्चिति रहेको प्रवक्ता भट्टले जानकारी दिए। उनले पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेको बताए। 

कोरोना महामारीपछि मुलुकको आर्थिक क्रियाकलाप बढ्दै गएकाले वस्तुको माग बढ्दा आयातमा वृद्धि भएको आयात वृद्धि भएपश्चात् विदेशी मुद्रा सञ्चिति र सोधानान्तर घाटा बढेको प्रवक्ता भट्टको भनाइ छ। त्यस्तै उनले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो अवस्थामा नपुग्ने बताए। उनले श्रीलंका र नेपालको अर्थतन्त्रमा आधारभूत अवस्था नै फरक रहेको स्पष्ट पारे। श्रीलंका कुल ग्राहस्थ उत्पादनको ११७ प्रतिशत विदेशी ऋण भएकाले अहिलेको अवस्था आएको प्रवक्ता भट्टको भनाइ छ। 

कुल ग्राहस्थ उत्पादनको ११७ प्रतिशत विदेशी ऋण र कुल ग्राहस्थ उत्पादनको ४० प्रतिशत मात्रै विदेशी ऋण भएको मुलुक श्रीलंका र नेपालबीच तुलना गर्न नमिल्ने दाबी गरे। उनले श्रीलंकाले पछिल्लो समय आर्थिक व्यवस्थापन गर्न नसक्दा अहिले संकट भोग्नु परेको बताए। श्रीलंका र नेपालको अर्थतन्त्रमा देखिएका चुनौती फरक भएको भन्दै प्रवक्ता भट्टले नेपालमा रुस र युक्रेन युद्ध र गत वर्ष उच्च रुपमा कर्जा विस्तारको कारण घरजग्गा, उत्पादनभन्दा आयात र शेयर बजारमा बढी लगानीको प्रभावले अहिले अर्थतन्त्रमा दबाब देखिएको बताए।

प्रवक्ता भट्टले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमिकको सख्या बढ्दै गएकाले रेमिटेन्समा सुधार आउन थालेको बताए। रेमिटेन्समा सुधार आउँदा मुलुकको विदेशी मुद्रा सञ्चिति बढ्ने भएकाले रेमिटेन्समा तत्कालको लागि ठूलो चुनौती देखिएको जिकिर गरे। अर्थतन्त्रमा संकट तथा थप चुनौती आउन नदिनको लागि सरकारले दीर्घकालीन रूपमा सोच्नु पर्ने अवस्था आएको बताए।  

 कुनकुन वस्तुको आयात रोकियो?

डिजाइन गाडी, मोपेड, साइकल र आवश्यक पर्ने मोटर आयात गाडीमा लाग्ने इक्विपमेन्ट, मेसिनरी तथा पार्टपुर्जा, धान, चामल, सुन, रेडिमेड कपडा, विद्युतीय उपकरण, कपडाजन्य वस्तु, चाँदी, धागो लगायतको पनि आयातका लागि एलसी नखुल्ने भएको छ।  

यसबाहेक ढुंगाका सजावट सामग्री, सिमेन्ट, चिम्नी भाँडो, बोतल, जार, चाँदी, चाँदीले कुँदिएका सामग्री, फर्निचर र सम्बन्धित वस्तु, खेलौना, खेलकुदका सामग्रीका साथै सम्बन्धित वस्तुको पनि आयात अब नहुने भएको छ। परफ्यूम, मेकअपका सामान, कपालको क्रिम तथा स्याम्पु, काठ, काठको कोइला र फर्निचर, जुत्ताचप्पल र बुट, दाँतमा लगाउने तार, कपडा बुन्ने कुरुष, छाता, टेक्ने लौरोदेखि फिदरसम्मको आयातका लागि बैंकले प्रतितपत्र खोल्ने छैनन्।

माछा, दुग्धजन्य पदार्थ, प्राकृतिक मह र अण्डा, बोटबिरुवा, तरकारी तथा गेडागुडी, सुपारी, केरा र चिप्स्, छोकडा, मरिच, मासु, अप्टिकल, मेडिकल तथा सर्जिकल इक्विपमेन्टको लगायतका थुप्रै वस्तु आयात रोकिनेछ।

प्रकाशित: २४ चैत्र २०७८ १०:२५ बिहीबार