अर्थ

थारू आलुको जातीय सुधार गर्दै किसान

उत्पादित थारू आलुका पोटिला र राम्रा दाना बीउका लागि छनोट गर्दै कञ्चनपुरको लालझाडीका किसान। तस्बिरःनागरिक

गौरीगङ्गा नगरपालिका–२, आमबगियाकी कृषक सन्ध्या चौधरी वर्षौंदेखि थारू आलु लगाउँदै आएकी छिन्। उनले घरमा तरकारी खानका लागि प्रायः थारू आलु नै लगाउने गर्छिन्। खाँदा स्वादिलो र घरमै भण्डारण गर्दा पनि कमै मात्र कुहिने हुँदा उनले वर्षौदेखि रैथाने जातको थारू आलु लगाउँदै आएकी छिन्।

उनी मात्रै हैन कञ्चनपुरको लालझाडी गाउँपालिका–३ बल्मीका किसान श्रीकृष्ण रानाले पनि थारू आलु (घरैया आलु) लगाउन थालेको पुस्तौं भइसक्यो। ‘खानमा मीठो हुने मात्र होइन एक वर्षसम्म घरमै भण्डारण गर्दासमेत कम कुहिने भएकाले घरैया आलुप्रति हामी वर्षौदेखि आकर्षित छौं’, रानाले भने– ‘तर यो जातको आलु कम फल्ने भएकाले केही समस्या छ ।’ धेरै क्षेत्रफलमा लगाउँदा थोरै फल्ने भएकाले कम जग्गा जमिन भएका किसानलाई थारू आलु (घरैया आलु) लगाउन केही समस्या भएको किसानको गुनासो छ।

चाँडै फल्ने र राम्रो फसल दिने साठा, कार्डिनल, लालगुलाब, टिपिएस जातका आलुमा आकर्षण बढिरहेका वेला यहाँका किसानले पुस्तौदेखि लगाउँदै आएको थारू आलुमा जातीय सुधार गर्न थालेका छन्। ‘हामीले पुस्तौदेखि थारू आलु लगाउँदै आएका थियौं तर यो कम फल्ने भएकाले यसलाई जातीय सुधार गरेर बढी फल्ने र ठूलो दाना लाग्ने खालको बनाउन सकिन्छ कि भनेर लागेका छौं’, रानाले भने– ‘यसका लागि हामीलाई कृषि क्षेत्रमा कार्यमूलक अनुसन्धान गर्दै आएको संस्था ली–बर्डले प्राविधिक सहयोग गरिरहेको छ।’

ली–बर्डसँगको सहकार्यमा स्थानीय बीउ प्रणाली सुधार कार्यक्रम अन्तर्गत जातीय सुधार कृषक पाठशाला सञ्चालन भएको बताउँदै उनले भने ‘हामीले गाउँका ३२ जना किसानको समूह बनाइ थारू आलुको जातीय सुधारका लागि अनुसन्धान थालेका छौं।’ किसानलाई जम्मा गरेर हरेक हप्ता कृषक पाठशाला सञ्चालन गरेको बताउँदै उनले भने ‘३२ जना किसानकै घरबाट थारू आलुको बीउ ल्याएर सगोलमा रोप्यौं ।’ कृषक पाठशालामा आलुको प्रजाति, कहिले रोपियो? रोपेको कति दिनमा उम्रियो ? 

कति दिनमा कति अग्लो भयो? कति दिनमा फूल्यो? कति दिनमा फल्यो र कति फल्यो? फलेका दानाको आकार कत्रो छ? यी सबै कुराको तथ्याङ्क लिइएको बताउँदै उनले भने ‘यही तरिकाले थारू आलुको जातीय सुधारका लागि हामीले तीन वर्षसम्म यसको प्रयोग गर्छाैं र अन्तमा यसलाई राष्ट्रिय बीउ बोर्ड स्तरमा दर्ता गराउन प्रयास गर्नेछौं।’ थारू आलु अर्थात् घरैया आलुलाई अहिलेसम्म जात दर्ता नभएको सरकारी सिफारिसमा कहिल्यै नपरेको कृषि विज्ञहरू बताउँछन्।

कृषक पाठशालामा परम्परागत विधिबाट नै आलु रोपेर त्यसको जातीय अवस्थाका बारेमा अध्ययन भइरहेको बताउँदै ली–बर्डकी कृषि प्राविधिक लक्ष्मी परियारले भनिन् ‘धेरै वर्षदेखि थारू आलु लगाउँदा किसानले त्यसको वास्तविक विशेष गुण विस्तारै हराउँदै गएको, दाना सानो भएको र रोगसँग लड्न सक्ने क्षमतामा पनि कमी आउन थालेकाले यसको जातीय सुधारका लागि किसान अग्रसर भएका हुन्।’

यो वर्ष थारू आलुको कृषक पाठशालाबाट सुरु गरेको बताउँदै कृषि प्राविधिक परियारले भनिन् ‘हामीले थारू आलुको जातीय सुधार गर्न तीन वर्षसम्म अनुसन्धान गर्ने भएका छौं, तीन वर्षपछि मात्रै यसको जातीय सुधारको अवस्था थाहा पाउन सकिन्छ।’ तीन वर्षमा थारू आलुको जातीय सुधार भएमा त्यसलाई राष्ट्रिय बीउ अभिलेखमा सूचीकृत गराउन सहज हुने उनले बताइन्। ‘अहिलेसम्म थारू आलुको बीउ दर्ता हुन सकेको छैन’, उनले भनिन्– ‘तीन वर्षको अनुसन्धानपछि भने दर्ताका लागि सहज हुने विश्वास लिएका छौं।’

लालझाडी–३ बल्मीस्थित दोदा कृषक पाठशालाका कृषक रूपकला रानाले घरैया आलुको जातीय सुधारका लागि गरिएको अनुसन्धानबाट धेरै कुरा सिकिन्। उनले भनिन्– ‘कुनै पनि बालीको जातीय सुधार कसरी गर्न सकिन्छ भन्ने कुरा थाहा पायौं।’ अनुसन्धानका क्रममा थारू आलुमा विषादी प्रयोग नगरी जैविक मलको मात्रै प्रयोग गरिएको उनको भनाइ छ। ‘अनुसन्धान गर्दा हावापानी, सुहाउँदो माटो र त्यसको अवस्थाका बारेमा केही पनि विषादी प्रयोग गरिदैन’, उनले भनिन्– ‘यसरी माटो र हावापानी सुहाउँदो स्थानको छनोट गरी त्यसलाई आफ्नै तरिकाले बढ्न र फल्न दिई परीक्षण गरिने रहेछ, यो कुरा थाहा पाइयो।’

आफूहरूले वर्षौंदेखि लगाउँदै आएको घरैया आलुलाई जातीय सुधार गरेर ठूलो दाना फल्ने र कम कुहिने तथा धेरै समयसम्म भण्डारण गर्दा नष्ट नहुने खालको बनाउन परीक्षण गरिरहेको उनले बताइन्। ‘हामी यसलाई बढी फल्ने र ठूलो दाना फल्ने बनाउन कसरी सकिन्छ भन्नेमा किसान आफैं अनुसन्धानमा खटिएका छौं’, उनले भनिन्– ‘किसानको आग्रहमा थारू आलुको जातीय सुधारका लागि अनुसन्धान थालिएको हो।’

कैलाली र कञ्चनपुरमा किसानकै बारीमा सहभागितामूलक जातीय सुधारमा आधारित कृषक पाठशालामा स्थानीय किसानको घरबाट सङ्कलन गरी ल्याइएको थारू आलुको बीउहरू जातीय शुद्धता भएको, राम्रो र पोषिलो दाना फलेको, रोग प्रतिरोधक एक्सेसन (बीउ) लाई पाठशालामार्फत् छनोट गर्न सहयोग गरिरहेको ली–बर्डका वरिष्ठ कार्यक्रम व्यवस्थापक डा सन्तोष श्रेष्ठले बताए।

 ‘एउटा कृषक पाठशालाका ३२ जना किसानले रोपेको थारू आलु मध्येबाट किसानकै छनोटमा परेको बीउलाई जात दर्ताका लागि हामीले अनमोल बीउ बैङ्कको अगुवाइमा गाउँपालिका तथा कृषि ज्ञान केन्द्रसँग समन्वय गरी अघि बढाइरहेका छौं’, उनले भने– ‘आलुको दर्तासँगै बजारीकरणमा लैजाने तयारी गरिरहेका छौं।’

थारू आलुको प्रवद्र्धनका लागि विगत दुई वर्षदेखि सुदूरपश्चिम प्रदेश सरकारले विशेष कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारले पनि रैथाने जातको थारू आलुमा आकर्षण बढाउन कार्यक्रम ल्याएको छ। अहिले यहाँका किसानलाई रैथाने जातको थारू आलुमा आकर्षण बढाउन र प्रवद्र्धन गर्न प्रदेश सरकारले कृषि ज्ञान केन्द्रमार्फत् प्रवद्र्धन कार्यक्रम लागू गरेको छ।

उन्नत जातका बीउबिजनमा किसानको आकर्षण बढिरहेका वेला आलु खेतीमा भने किसानले पुरानै रैथाने थारू जातको बीउमा आकर्षण बढाउन तथा प्रवद्र्धन गर्न आकर्षक कार्यक्रम प्रदेश सरकारले लागू गरेको हो। कृषि ज्ञान केन्द्र कैलालीले रैथाने जातको थारू आलु प्रवद्र्धन कार्यक्रम लागू गरेको ज्ञान केन्द्रका प्रमुख खगेन्द्र शर्माले बताए। उनले भने– ‘थोरै रकम छुट्याएर रैथाने थारू जातको आलुलाई प्रवद्र्धन गर्न कैलालीमा कार्यक्रम लागू गरिएको छ ।’ प्रति कठ्ठा ३ क्विन्टलभन्दा बढी आलु फलाउने किसानलाई प्रतिक्विन्टल ५ सय रूपैयाँका दरले पुरस्कारको व्यवस्था गरिएको उनले बताए । ‘थारु आलुमा मिहिनेत गरेर बढी फलाउने किसानलाई प्रतिक्विन्टलको ५ सय रूपैयाँ पुरस्कारस्वरूप दिने निर्णय भएको छ’– उनले भने।

कैलालीका करिब १ सय बढी किसानले थारू आलु प्रवद्र्धन कार्यक्रममा नाम दर्ता गराएको भए पनि यस वर्ष आलु फल्ने समयमा परेको पानीले उत्पादनमा कमी आएको उनले बताए। ‘हामी कहाँ थारू आलु लगाउने किसानले नाम दर्ता गराएका छन्, उनीहरूले फलाएको आधारमा हामीले पुरस्कारको व्यवस्था गरेका हौं’, उनले भने– ‘यसो गर्दा किसानलाई थारू आलुप्रतिको आकर्षण बढ्छ तर यस वर्ष भने हिउँदे वर्षाले आलु खेतीमा क्षति पुगेका कारण पुरस्कार पाउने किसान थोरै देखिएका छन्।’

खान स्वादिलो र गोठेमल प्रयोग गर्दा बढी फसल दिने भएकाले पनि वर्षौदेखि थारू आलुप्रति किसानको आकर्षण बढेको शर्मा बताउँछन्। थारू आलु हिउँदमा खनेर निकालेपछि एक वर्षसम्म पनि नबिग्रने तथा नकुहिने गरेको बताउँदै उनले भने– ‘ भण्डारका लागि सहज हुने भएकाले किसान थारू आलुप्रति आकर्षित भएका हुन् ।’ आलु बारीबाट खनेर निकालिसकेपछि डालामा भण्डारण गरेर राख्दा पनि नकुहिँने हुँदा किसानको रोजाइमा थारू आलु परेको उनको अनुभवले बताउँछ।

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरको थारू बस्तीमा वर्षौदेखि रैथाने जातको थारू आलु लगाइने गरेको प्रदेश कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशी बताउँछन्। उनले भने– ‘थारू आलु नकुहिने तथा भण्डारण क्षमता लामो हुने भएकाले पनि किसानको आकर्षण बढ्दो छ ।’ नेपालमा रैथाने जातका आलु प्रशस्त रहेको बताउँदै उनले भने– ‘यस्ता रैथाने जातका आलुको जात सुधारका लागि कृषि कार्यमा संलग्न संघसंस्थाले काम गर्न जरुरी छ ।’ कैलालीमा मात्रै ६ हजार हेक्टर जमिनमा आलु खेती गरिँदै आएको छ।

प्रकाशित: २४ चैत्र २०७८ ०२:५१ बिहीबार

गौरीगङ्गा नगरपालिका घरैया आलु