अर्थ

सुनसरीमा १५ हजार टनको भण्डारण गृह सञ्चालन हुँदै

नेपाल वेयर हाउजिङ कम्पनीले मुलुकका तीन स्थानमा खाद्यान्न भण्डारण गृह निर्माण गरिरहेको छ। कम्पनीले एक अर्ब ३९ करोड लगानीमा सुनसरी, पर्सा र कपिलवस्तुमा भण्डारण गृह बनाउन लागेको हो।

यसमध्ये सुनसरीमा खाद्यान्न भण्डारण गृह निर्माण पूरा गरी आइतबारबाट सञ्चालनमा आएको छ। यो भण्डारण गृह सुनसरीको गढी गाउँपालिका २ औरावनीमा निर्माण गरिएको हो। यो भण्डारण गृहको कूल क्षमता १५ हजार टन रहेको छ। भण्डारण गृहमा तत्काल गहुँ, मकै र भटमास भण्डारण गरिने छ।

कम्पनीले पर्सा र कपिलवस्तुका भण्डारण गृह निर्माणको अन्तिम चरणमा रहेकोे र छिट्टै सञ्चालनमा हुने क्रममा रहेको जनाएको छ। कम्पनीका अनुसार यी खाद्यान्न भण्डारण गृहमा कृषकहरूले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा दिइनेछ। अहिलेसम्म भण्डारण गृह नहुँदा किसानले आफ्ना उत्पादन सस्तो मूल्यमा बजारमा बिक्री गर्नुपर्ने बाध्यता थियो। अब किसानले केही महिना भण्डारण गृहमा राखी महँगो मूल्यमा बिक्री गर्न सक्नेछन्।

कृषकलाई फाइदा पुग्ने गरी सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गर्न खोजेको हो। कम्पनीले  कृषक, कृषि वस्तु सङ्कलक, खाद्यान्न प्रशोधक, औद्योगिक प्रतिष्ठान तथा दाना उत्पादकलाई सेवा प्रदान गर्ने लक्ष्य राखेको बताएको छ।

यसका साथै तीनै जिल्लामा निर्माण हुने भण्डारण गृहको परिसरमा बोलकबोलका माध्यमबाट खाद्यान्न किनबेच हुने वातावरण समेत मिलाइने छ। कम्पनीले कृषक तथा खाद्यान्न सङ्कलकलाई घर खर्च तथा अर्को बालीका लागि आवश्यक पर्ने पुँजी अभाव हुन नदिन निजहरूले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा वैङ्क तथा वित्तीय संस्थाहरू मार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गरिएको जनाएको छ।

कम्पनीले सञ्चालन गरेको र निर्माण भइरहेका भण्डारण गृहको लागत १ अर्ब ३९ करोड छ। यसमा ९४ करोड ऋण र बाँकी स्वपुँजी हो। कम्पनीमा विभिन्न व्यावसायिक घराना, बैङ्क तथा अन्य संघसंस्थाको लगानी छ ।

प्रकाशित: २२ चैत्र २०७८ ०२:०९ मंगलबार

नेपाल वेयर हाउजिङ कम्पनी खाद्यान्न भण्डारण गृह निर्माण