अर्थ

बीबीसी मास्टर सेफको टोली नेपाल आउँदै

प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियान अन्तर्गत “बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०” का फाइनालिस्टलाई नेपालको मौलिक संस्कृति र खाना मार्फत गन्तव्यको प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल आमन्त्रण गरेको छ।

मास्टर सेफ सन्तोष साहको साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपा लगायतको टोली चैत २४ गते काठमाडौं आइपुग्ने र नेपालमा १० दिनसम्म विभिन्न स्थानहरूमा पर्यटन प्रवद्र्धनात्मक गतिविधिहरूमा संलग्न हुने पाटा नेपाल च्याप्टरले जनाएको छ।

उक्त कार्यक्रम अन्तर्गत काठमाडौंमा ‘फाइनडाइनिङ’ कार्यक्रम, जनकपुरमा ‘मिथिला खाना तथा रेसिपी’ विषयमा कार्यक्रम र बर्दियामा थारु संस्कृति तथा खाना सम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमसहित मास्टरसेफद्वारा नेपालको खानाको लोभ र रहस्य पत्ता लगाउन वाइल्ड स्पाइसेस हन्टिङ कार्यक्रम आयोजना गरिनेछ।

त्यसैगरी सगरमाथा आधार शिविर कालापत्थर र नेपालको साहसिक पर्यटनको राजधानी पोखरामा समेत भ्रमण एवम् पर्यटन प्रवद्र्धनका कार्यक्रम समेत रहेको छ। मास्टर सेफहरू चैत २८ गते आयोजना हुने पाटा नेपालको ४५ औं वार्षिक साधारणसभामा समेत सहभागी हुनेछन्।  

पाटा नेपालद्वारा आयोजना गरिएको ‘मास्टर सेफ फाइनलिस्ट टुर टु नेपाल’ नामक यस कार्यक्रमलाई मुख्य प्रवद्र्धकको रूपमा नेपाल पर्यटन बोर्ड, अफिसियल एयरलाइन्स पार्टनरको रूपमा श्रीलङ्कन एयरलाइन्स, बैङ्किङ पार्टनरको रूपमा नबिल बैंक र हेल्थ पार्टनरको रूपमा सिवेक हस्पिटलले सहयोग गरेका छन् ।

त्यसैगरी, बुद्ध एयर, समिट एयर, नाथम, केजिएच ग्रुप अफ होटेन्स्, कम्युनिटी होमस्टे, सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी, गेट कलेज, ग्यालेक्सी टेलिभिजन, सनफ्लो सनफ्लावर आयल र हाइग्राउण्ड एडभेञ्चर समेतले कार्यक्रममा सहयोग तथा सहकार्य गरेका छन्।

प्रकाशित: २१ चैत्र २०७८ ०१:२५ सोमबार

बीबीसी मास्टर सेफ