अर्थ

हर्न बजाउँदै आयो पहिलो ब्रोडगेज रेल

लामो अन्तरालपछि रेल लिकमा रेल सञ्चालन हुने भएपछि शनिबार जयनगरदेखि जनकपुरधामसम्मै सम्हालिनसक्नु भीड थियो। सीमाञ्चलका स्थानीयहरु रेल्वे लिक वरपर झुम्मिएकाले मुख्यमन्त्री लालबाबु राउत, मन्त्री रेणुकुमारी यादवलाई समेत रेल चढ्न हम्मे परेको थियो। सुरक्षाफौजले भीड पन्छाउँदै जसोतसो मुख्यमन्त्रीलाई रेल चढाएका थिए।

फूलमालाले सिंगारिएको रेल जयनगरबाट जनकपुरधाम पुग्न २ घण्टा लागेको थियो। कारण जयनगरदेखि नै स्थानीयहरुको ठूलो संख्याले हरेक स्टेसन र कल्टमा स्वागत गरेका थिए। स्थानीयहरुले नेपाल र भारतको झन्डा हलाउँदै फूलमालाले भव्य स्वागत गरेका थिए। जयनगर स्टेसनमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा दिल्लीबाट हरियो झन्डा देखाएर उद्घाटन गरेपछि रेल चलेको थियो।  

दिउँसो पौने तीन बजे पाहुनासहितको रेल जनकपुरधाम रेल्वे स्टेशन पुग्दा सर्वसाधारणले उल्लासका साथ पाहुनाहरुलाई स्वागत गरेका थिए।

गलक्कै पार्ने गर्मीका बावजुद स्कुले छात्र–छात्रा रेल्वे लिकको दायाँ बायाँ घण्टौं लाइनमा उभिएर झण्डा हल्लाउँदै रेललाई स्वागत गरेको दृश्य रोचक थियो। सर्वसाधारणको भीड व्यवस्थापन गर्न जनपद र सशस्त्र प्रहरीलाई सकस भएको थियो।

प्रकाशित: १९ चैत्र २०७८ १५:१४ शनिबार