अर्थ

बाँदरको डरले बाँझो जमिनमा कागती र हलेदो

गोरखाको शहीदलखन–२ आरुबोटेमा बाँझिएको जमिनमा हुर्किँदै गरेको कागती। तस्बिरः नागरिक

शहीदलखन गाउँपालिका–२ आरुबोटकी रेक्सना थापा मगरले २० वर्षअघिदेखि बाँझिएको जमिनमा अहिले कागती लगाएकी छिन्। घरनजिकैको बाँझो बारी अहिले हराभर भएको छ।

‘जे खेती गरेपनि बाँदरले दुःख दिने भएपछि हामीले बारी यसै छाड्यौं,’ उनले भनिन्। उनी जस्तै त्यो गाउँका किसानलाई बाँदरले खेतीबाली लगाउन नदिएपछि धान, मकै, कोदो हुने बारी बाँझै रहेको थियो। दुई वर्ष यता बाँझो बारी जोतेर त्यहाँका किसानले कागती लगाउन थालेका छन्।

‘बाँदरबाट जोगिने भएपछि हामीले अहिले कागती लगायौं,’ रेक्सनाले भनिन्, ‘अहिले कागती फुल्न थालेको छ।’ बाँझोबारी जोत्ने र आत्मनिर्भर बन्ने योजनासहित महिलाहरु जनजागृती महिला कृषक समूहमा आवद्ध भए। २५ जनाको उक्त समूहमा अधिकाँशले बाँझोबारी जोतेर कागती लगाएका छन्।

समूहकी कोषाध्यक्ष फूलमती दर्लामीले पनि कागती लगाएकी छिन्। अन्य खेती लगाउँदा जस्तो कुर्नुपर्ने, निरन्तर समय कागतीलाई दिनुनपर्ने हुँदा सजिलो भएको उनले सुनाईन्। ‘अरु बाली लगाउँदा आम्दानी भन्दा खर्च धेरै हुन्थ्यो, कफी लगाउँदा पनि बाँदरले खायो, अहिले कागती लगाएकी हुँ,’ उनले भनिन्।  

आरुबोटमा जंगल छेउछाउका अधिकाशं बारीमा बाँदरले दुःख दिएपछि जमिन बाँझिदै गएको थियो । स्थानीय नेत्रबहादुर थापाले पाँच रोपनीमा ८० बोट कागती लगाएका छन्। ‘यो वर्ष थोरै फल्छ, अर्को वर्षदेखि राम्रोसँग फल्छ जस्तो लागेको छ,’ उनले भने, ‘सुक्खा ठाउँलाई बढ्दै गरेको कागतीको बिरुवाले हरियाली बनाएको छ।’  

लुथरन वर्ल्ड रिलिफको सहयोगमा सहमति नेपालले महिलालाई कागती खेतीमा प्रोत्साहन गरेको हो। कागतीको बेर्ना, कृषिऔजार, सिंचाई र बजारमा बिक्री गर्नका लागि समेत अनुदानसहित सहयोग उपलब्ध गराइएको कार्यक्रम संयोजक शिब सुवेदीले बताए।  

कृषकलाई तालिम दिएर ब्यवसायिक खेतीमा लाग्न संस्थाले प्रोत्साहन गरेपछि बाँदरबाट निराश भएर बाँझो जमिन छाडेकाहरु कागतीबाट फाईदा लिन सकिने आशमा छन्। कागतीको बजार राम्रो रहेको र सहज बिक्री हुने भएकाले समस्या नहुने कार्यक्रम संयोजक सुवेदी बताउँछन्।  

शहीदलखन–२ को उम्लुङमा २५ जना र आरुबोटेमा २५ जना महिलाले व्यवसायिक कागती खेती थालेका छन्। दुई सय २५ रोपनी जमिनमा करिब पाँच हजार बोट कागतीका बेर्ना रोपिएको छ। गाउँपालिको पनि महिलालाई आत्मनिर्भर बनाउन सहयोग गरेको र संघ संस्थाको सहयोगबाट थप मद्दत मिलेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापाले बताए। व्यवसायिक रुपमा लगाइएको कागती खेतीको निरीक्षण गर्दै उनले उत्पादनको बजारीकरणमा पनि सहयोग आवश्यक भएको उनले बताए।  

शहीदलखन–३ का किसानले पनि बाँझो जमिन जोतेर हलेदो (बेसार) रोपेका छन्। ‘अहिले गाउँमा खेती नै नलगाएको बाँझो जमिन कतै छैन,’ मनकामना कृषि सहकारी संस्थाका सचिव राजेन्द्र ढकालले भने, ‘एक रोपनीमा एघार क्विन्टलसम्म हलेदो फलायौं।’

सहकारीले गतवर्ष १५ रोपनी जग्गा भाडामा लिएर बेसार उत्पादन गरेको थियो। सहकारीले बेसार लगाउने अभियान थालेपछि उक्त ठाउँमा करिब एक सय रोपनी बाँझो जमिन जोतिएको उनले बताए। ‘खेती लगाउन भन्दा पनि बाँदरबाट जोगाउन मुस्किल थियो, हलेदो लगाउँदा बाँदरले नखाने रहेछ,’ सचिव ढकालले भने।  

सहकारीले अहिले स्थानीयले लगाएको हलेदो खरिद गरेर बेसार उत्पादनको तयारी गरेको छ। एक किलो तयारी बेसारका लागि ८ देखि १० किलो हलेदो आवश्यक पर्छ। प्रतिकेजी १५ देखि २० रुपैयाँमा किसानसँग हलेदो किनेर तयारी बेसार बनाइएको सचिव ढकालले बताए। ‘बजारमा आएका बेसार भन्दा हाम्रो अर्गानिक हुने भएकाले केही महँगो भने पर्न सक्छ,’ उनले भने। यो वर्ष १० टन हलेदो खरिद गरेर बेसार बनाउने योजना सहकारीको छ।

सहकारीलाई बेसार तयार गर्न चाहिने औजार, पिस्ने, प्याकिङ गर्ने मेसिन र संकलन केन्द्र समेत सहमति नेपालले सहयोग गरेको छ। किसानलाई हलेदो लगाउने अनुरोध गर्ने र उत्पादन खरिद गर्न सहकारीलाई प्रेरित गर्नेगरि सहयोग गरेको कार्यक्रम संयोजक शिब सुवेदीले बताए। शहीदलखन गाउँपालिकामा एक सय ४० जना किसानले २२ हेक्टर जमिनमा हलेदो खेती गरेको उनले बताए।

सहकारीले हलेदो खरिद गरेर गाउँमै बेसार बनाउने भएपछि किसानलाई बिक्रीको चिन्ता भने नहुने भएको छ। उक्त सहकारीले अहिले आठ जनालाई रोजगारी पनि दिएको छ।  

प्रकाशित: १८ चैत्र २०७८ ०९:०६ शुक्रबार

बाँदरको डर कागती र हलेदो