अर्थ

राजस्व नतिर्ने तीन क्यासिनो बन्द हुने

पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो बन्द गराउन पत्राचार गरेको छ। बक्यौता रकम बुझाउन दिइएको पाँच दिनको म्यादभित्र सरकारलाई  तिर्नुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो बन्द गराउन पर्यटन विभागले गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो।

पर्यटन विभागका अनुसार रक इन्टरनेसनल प्रालि काठमाडौंले ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौले ३० करोड १७ लाख र ओरियन्टल होटल्स र्‍याडिसन होटल लाजिम्पाटले ३० करोड रूपैयाँ क्यासिनो सञ्चालन गरे बापत सरकारलाई तिर्न बाँकी छ। पटकपटक बक्यौता रकम बुझाउन आनाकानी गर्दै आएका क्यासिनोले लिएको इजाजत अनुमतिपत्र क्यासिनो नियमावली, २०७० को नियम १४ बमोजिम रद्द गरिने विभागले जनाएको छ।

आर्थिक वर्ष २०७६/०७७ को नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशनपछि हालसम्म १७ वटा कम्पनीले रोयल्टी बुझाइसकेका छन्। १७ वटा कम्पनीले बुझाएको राजस्वमार्फत सरकारको खातामा ८७ करोड रूपैयाँ सङ्कलन भएको विभागले जनाएको छ।

प्रकाशित: १८ चैत्र २०७८ ०३:१० शुक्रबार

पर्यटन विभाग आर्थिक वर्ष २०७६/०७७ क्यासिनो नियमावली