अर्थ

वीरेन्द्र माविलाई ३ लाख बढी सहयोग

लक्ष्मी बैंकको ताप्लेजुङस्थित फुङ्लिङ शाखाले वीरेन्द्र माध्यमिक विद्यालय देवलिङ्गेमा ३ लाख रुपैयाँ बढी मूल्य बराबरको सहयोग गरेको छ। सोही माविमा काठमाडौँ विश्व विद्यालयबाट आएका विद्यार्थीहरुले पाँच दिने शैक्षिक अभ्यास समेत गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल न्यौपानेले जानकारी दिए।

सामाजिक उत्तरदायित्व अभियान अन्तरगत लक्ष्मी बैंकले सो माविमा कम्प्युटर र प्रोजेक्टरसहितका सामग्री तथा इन्टरनेट व्यवस्थापन गरिदिएको छ। अहिले विद्यालयमा इन्टरनेटको प्रयोग गरी शिक्षण सिकाइका नयाँ र प्रविधियुक्त ज्ञान हासिल गर्न सहज बनेको समेत विव्यस अध्यक्ष न्यौपानेले बताए।

विद्यालयका प्रधानाध्यापक कुलराज पौडेलले प्रविधिमैत्री सिकाइका क्रममा सहयोग गर्ने लक्ष्मी बैंक र प्रविधिको उपयोग गरी सिकाइ हासिल गर्ने क्रममा प्राविधिक ज्ञान दिने काठमाडौँ विश्व विद्यालयबाट आएका पुष्कर अधिकारी नेतृत्वको टोलीप्रति आभार व्यक्त गरेका छन्।

काठमाडौँ विश्व विद्यालयबाट आएका विद्यार्थीहरुको टोलीले विद्युतीय तथा इन्टरनेट सहितको उपयोग गरेर सिकाइ केन्द्रित गर्ने उपाय र नयाँ प्रविधिबारे जानकारी गराएको थियो। सो माविमा सहयोग गर्ने लक्ष्मी बैंकले सामाजिक वित्तीय साक्षरता कक्षा समेत सञ्चालन गरेको बैंकले जनाएको छ।

प्रकाशित: १७ चैत्र २०७८ ११:५५ बिहीबार

लक्ष्मी बैंकको ताप्लेजुङस्थित फुङ्लिङ शाखा वीरेन्द्र माध्यमिक विद्यालय