अर्थ

प्रयोगविहीन किसान कल सेन्टर

किसानलाई कृषिसम्बन्धि जानकारी दिने उद्देश्यले सञ्चालन गरिएको किसान कल सेन्टर प्रयोगविहीन भएको छ। सरकारी उदासिनता र आर्थिकसँगै जनशक्ति अभावका कारण उक्त कल सेन्टर प्रयोगविहीन भएको हो।

प्रयोग नहुँदा कल सेन्दर अलपत्र अवस्थामा छ। जानकी गाउँपालिका–४ खजुरामा अवस्थित कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रले गत आर्थिक वर्षदेखि उक्त कल सेन्टर सञ्चालनमा ल्याएको थियो। किसानलाई कृषिसम्बन्धी समस्या सहजै समाधान गर्न सकियोस् भन्ने उद्देश्यले कल सेन्टर सञ्चालन गरिए पनि अहिले प्रयोगविहीन छ। 

जसले किसानले समयमै कृषिसम्बन्धीका समस्या टिपाउन सकेका छैनन्। हप्ताको तीन दिन सञ्चालन हुँदै आएको थियो। उक्त कल सेन्टरमा करिब एक सयजति किसानले गुनासा तथा समस्या टिपाएका तालिम केन्द्रका सूचना अधिकारी तथा कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले जनाए। प्रदेश सरकारको पाँच लाख रुपैयाँमा कल सेन्टर स्थापना गरिएको थियो।

चालु आर्थिक वर्षका लागि उक्त बजेट बढाएर १५ लाखसम्म पु¥याएको छ। तर पनि उक्त कल सेन्टर प्रयोगमा आउन सकेको छैन। कार्यविधि परिमार्जनले गर्दा कल सेन्टर सञ्चालनमा समस्या भएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ। तालिम केन्द्रमा रहेको पुरानो कोठालाई मर्मत गरेर मात्र पुनः सञ्चालनमा ल्याउने योजना थियो। तर, उक्त योजना पनि सफल हुन सकेको छैन। 

किसान कल सेन्टरलाई प्राथमिकता नदिइएको खजुराका अगुवा किसान गेहेन्द्र धितालले बताए। किसान कल सेन्टरका लागि आवश्यक कर्मचारी नियुक्त गर्न सकेको छैन। साथै आवश्यक उपकरणसमेत खरिद नहुँदा किसान सेवा सुविधाबाट वञ्चित हुनु परेको छ। तालिम केन्द्रका अर्का कृषि प्रसार अधिकृत विवेक पन्तले किसान कल सेन्टरलाई व्यवस्थित बनाउन प्रक्रिया सुरु गरिसकेको जनाए। वैशाखसम्ममा किसान कल सेन्टर पुनः सञ्चालनमा आउने उनको भनाइ छ।

प्रकाशित: १६ चैत्र २०७८ १०:१९ बुधबार