अर्थ

ओडिसीका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपाली बजारमा

इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादनका लागि भारतको चर्चित ब्राण्ड ओडिसीका उत्पादनहरू नेपाली बजारमा बिक्री वितरण शुरु भएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नक्सालस्थित इलेक्ट्रिक मोटरसाइकल र स्कुटरको सोरुमको उद्घाटन गरेसँगै ओडिसीका उत्पादनहरू नेपाली बजारमा उपलब्ध भएका छन्। नेपालका लागि ब्राण्ड इ गो अटोमोटिभले उक्त उत्पादनहरू नेपाली बजारमा बिक्री वितरण शुरु गरेको हो। भारतकै ओएचएम नामक कम्पनीले ओडिसीका लागि इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादन गर्दै आएको छ।

भारतीय बजारमा उपभोक्ताको मन जित्न सफल इलेक्ट्रिक मोटरसाइकल र स्कुटरहरूले नेपाली बजारमा पनि उपभोक्ताको मन जित्ने कम्पनीको विश्वास छ । नेपालका लागि ब्राण्ड इ गो अटोमोटिभसँगको सहकार्यमा नेपाली बजारमा विस्तार गरिएको यो सोरुमबाट मोटरसाइकल, स्कुटर र साइकलका आकर्षक मोडेलहरूको बिक्री वितरण हुनेछन्। ब्राण्ड इ गो अटोमोटिभका मोटरसाइकल र स्कुटरमा ४० रूपैयाँ बराबरको विद्युत्ले ८० किलोमिटर गुड्न सक्ने कम्पनीको दाबी छ।

यी स्कुटरमा वातावरणअनुसार उज्यालो दिने एलइडी हेडलाइट, रेयर–डिस्क ब्रेकवाटर प्रुफिङ, ब्लु टुथ, कि–लेस इन्ट्री, सर्च मोड, सेन्सर कन्ट्रोल सिस्टम र फेलियर इन्डिकेसन सिस्टमलगायतका विशेषता छन्। फेलियर इन्डिकेसन सिस्टमले स्कुटरको मोटर, ब्रेक र स्पिड कन्ट्रोलरमा समस्या आए डिस्प्लेमा देखाउने कम्पनीले जनाएको छ।

प्रकाशित: १४ चैत्र २०७८ ०३:१३ सोमबार