अर्थ

वीरपुरमा जिमखानासहितको कभर्ड हल निर्माण

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर– २ स्थित वीरपुरमा जिमखानासहितको कभर्ड हल निर्माण गरिएको छ। नगरपालिका, वडा, लुम्बिनी प्रदेश, सामुदायिक वन लगायतको ६० लाख लागतमा कभर्ड हल निर्माण गरिएको हो।

कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्यले ढाकिएको शिलालेखको कपडा उखारेर कभर्ड हलको उद्घाटन गर्दै यसले वडा कै खेलकुद विकासमा मद्दत मिल्ने बताए। उनले कुलतमा फसेका युवाहरुलाई खेलकुद तर्फ लाग्न यसले प्रोत्साहित गर्ने बताए।

उनले नगरमा कै पहिलो कभर्डहल निर्माण गरेर नमुना काम गरिएको भन्दै प्रशंसा गरे। उनले खेल र खेलाडीलाई प्राथमिकतामा राख्नुपर्ने बताए। सो अवसरमा मेयर केशवकुमार श्रेष्ठले नगर मै पहिलो कभर्ड हल निर्माण गरेर यहाँ नमुना काम गरिएको बताए।

उनले नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताए। उनले दोश्रो कभर्ड हल नगरपालिका वडा नम्बर २ बडहरामा केहीदिन मै निर्माण सुरु हुने बताए। यस्तै बुढ्ढीमा ६ करोड लागतको स्टेडियम निर्मााण्को डिपिआर तयार गरी स्विकृतिका लागि पठाइएको उनले बताए।

कभर्ड हल निर्माणका २ वटा स्थानीय निर्माण समिति गठन गरी कार्य अघि बढाइएको वडा अध्यक्ष तिलक बस्नेतले बताए। सुरुको निर्माण समितिको अध्यक्ष मीनबहादुर थारु र दोश्रो समिति बलबहादुर समिति अध्यक्ष छन्। नगरपालिकाले २५ लाख वडा र प्रदेशले १०/१० लाख र सामुदायिक वन उपभोक्ता समितिले १० लाख सहयोग गरेर २ वर्षको अवधिमा कभर्ड हल निर्माण भएको हो।

कभर्ड हल भित्र दुई वटा ब्याडमिन्टन कोर्ट निर्माण गरिएको छ। यस्तै हल भित्र जिमखाना समेत बनाइएको छ। युवाहरुलाई कुलतमा फस्न नदिन र खेल क्षेत्रको विकासका लागि कभर्ड हल निर्माण गरिएको वडाध्यक्ष बस्नेतले बताए।

यसअघि वीरपुर मै फुटबल खेल मैदान समेत निर्माण गरिएको थियो। शनिबार दोश्रो नगरस्तीय दोश्रो ब्याडमिन्टन प्रतियोगीता समेत सुरु गरिएको छ। महामन्त्री आचार्य र मेयर श्रेष्ठले कोर्टमा ब्याडमिन्टन खेलेर प्रतियोगीताको शुभारम्भ गरिएको हो। बुद्धभूमि ब्याडमिन्टन क्लव गोरुसिंगेको आयोजनामा हुने खेल ३ दिनसम्म चल्नेछ।

प्रकाशित: १२ चैत्र २०७८ १२:२२ शनिबार