कृषि क्षेत्रको सम्भावनालाई उजागर गर्दै कृषिमा लगानी भित्र्याउन र प्रतिश्पर्धात्मक क्षमता बढाउने उद्देश्यले बुटवलमा पाँच दिने कृषि मेला आयोजना गरीएको छ। बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा मेला आयोजना गरीएको हो।
संघले २०६२ सालदेखि निरन्तर कृषि मेला गर्दै आएको छ। बिहिबारदेखि सुरु भएको यो मेला दशौं संस्करणको हो। पछिल्लो समय कृषिजन्य उत्पादनको आयातमा अर्बौ रुपैयाँ बाहिरिरहेको छ। कृषि क्षेत्रका सम्भावनाहरुलाई उजागर गर्दै थप लगानी भित्र्याउन कृषिको आधुनिकीकरण र प्रतिस्पर्धात्मक क्षमता बढाउनका लागि कृषि मेलाको आयोजना गरीएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वलप्रसाद कसजुले बताए।
सोमबारसम्म सञ्चालन हुने उक्त मेलामा कृषिमा अत्याधुनिक प्रविधि धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिँचाइ, हाइड्रोपोनिक्स, मौरी पालन, जैविक मल उत्पादन सम्बन्धी प्रविधिको प्रदर्शनी गरीएको छ। मेलामा कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपको बारेमा कृषकलाई जानकारी तथा प्रदर्शन गरीएको छ। फूड फेष्टिवलका माध्यमबाट कृषिजन्य उत्पादन तथा परिकारको प्रवर्द्धन गरीएको छ। मेलाको माध्यमबाट स्थानीय कृषि वस्तुको प्रवर्द्धन, पोषणमा सुधारको साथै आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा लिइएको संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले बताए।
मेलामा कृषि सम्बन्धी अन्तर्क्रिया तथा छलफल, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शन, कृषि सेवा सम्बन्धी जानकारीमुलक स्टल समावेश छन्। दुग्धपान प्रतियोगिता, कालिज पालन सम्बन्धी जानकारी तथा परामर्श, लौकाट, कडकनाथ, बट्टाई, लोकल कुखुराको प्रदर्शनी, कृषिमा आधारित सांस्कृतिक कार्यक्रमहरु चलिरहेका छन्।
मेलाको बिहीबार एक कार्यक्रमकाबीच लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेका हुन्। सो अवसरमा बोल्दै प्रदेश प्रमुख शेरचनले कालिगण्डकी–तिनाउ डाईभर्सन परियोजना आवश्यक भएको बताए। कृषिको आधुनिकीकरण र व्यवसायिकीकरणको लागि पानी अपरिहार्य रहेको बताउँदै उनले राष्ट्रिय उत्पादनमा योगदान गर्ने कालिगण्डकी–तिनाउ डाईभर्सनमा सहयोग गर्न गण्डकी प्रदेश सरकारलाई आग्रह समेत गरे। आयात प्रतिस्थापन हुने गरी कृषि उत्पादन बढाउनका लागि सरकारले नीतिगत व्यवस्था गरी कृषिमा आकर्षण बढाउनु पर्नेमा उनले जोड दिए।
संघका अध्यक्ष कसजूले कृषिको व्यवसायिक विकास गरी कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान बढाउन विशिष्टिकृत कृषि मेला गरिएको बताए। कृषिको आधुनिकीकरण र व्यवसायिक विकासको लागि संघले पहिलेदेखि नै पहल र पैरवी गर्दै आएको बताए। कृषिमा वैज्ञानिक उत्पादन प्रणाली विकासका लागि सोही अनुरुपको नीति बनाउन सरकारलाई उनले आग्रह समेत गरे।
कृषि उद्यम केन्द्रका अध्यक्ष अरुणराज सुमार्गीले कृषिको विकासका लागि नीतिगत व्यवस्था, वैज्ञानिक व्यवसायिकीकरण आवश्यक रहेको उल्लेख गरे। त्यसका लागि महासंघले सय किसान अभियान कार्यक्रम सञ्चालन गरीरहेको जानकारी दिए। बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बुटवल उपमहानगरपालिका भित्र २ हजार ९ सय हेक्टर कृषियोग्य जमिन रहेको र नगरपालिकाले तरकारी विउ, मल, दुग्ध उत्पादनको लागि भकारो सुधार लगायतका कार्यक्रम सञ्चालन गरेको बताए।
नेपाली काँग्रेस बुटवल उपमहानगर समितिका सभापति खेलराज पाण्डेले जमिनको खण्डिकरणले व्यवसायिक कृषिमा बाधा हुने बताउँदै जमिनको चक्लाबन्दी र सामूहिक खेती प्रणालीमा जोड दिए। कार्यक्रममा संघका सल्लाहकार तथा पूर्व अध्यक्ष निर्मलप्रसाद लाकौल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भिष्मराज सर्वज्ञ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतम, संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव विमलराज भट्टराई लगायतले बोल्दै कृषि क्षेत्रमा रहेको सम्भावनाहरुलाई उजागर गर्दै लगानी भित्र्याउन मेला फलदायी हुने विश्वास व्यक्त गरे।
गैरनाफामुलक रुपमा आयोजना गरीएकाले मेलामा प्रवेश निःशुल्क छ। मेलामा ५० वटा स्टल छन्। २५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरीएको छ।
प्रकाशित: ११ चैत्र २०७८ १०:०४ शुक्रबार