अर्थ

भक्तपुर औधोगिक साँस्कृतिक पर्यटन तथा व्यापार मेला हुने

भक्तपुरमा छैठौँ भक्तपुर औधोगिक साँस्कृतिक पर्यटन तथा व्यापार मेला २०७८/०७९ हुने भएको छ। ‘औधोगिक शान्ति नेपाल संस्था’ र मध्यपुर ब्वाईज व्याण्डको संयुक्त आयोजनामा मेला हुन लागेको हो।

आयोजकले बुधबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी मेला चैत २४ गतेदेखि वैशाख ४ गतेसम्म गर्न लागेको जनाए। नयाँवर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत भन्ने नाराका साथ मेला गर्न लागेको जनाइयो।  

आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले मेला जिल्लाको अरनिको राजमार्ग खण्ड ६ लेन सडकसंगै जोडिएको भक्तपुरको सल्लाघारी तीनकुनेस्थित १०८ रोपनी क्षेत्रफल जग्गामा हुने जनाइयो। मेलाका लागि आवश्यक प्रक्रिया पूरा गरिसकेको उनले जनाए।  

मेला संयोजक दीपक थापाले मेलामा दुई सय भन्दा बढी स्टल राखिने जनाइयो। स्टलको साईज अनुसार कम्तीमा ६ हजारदेखि १९ हजार ५०० सम्म शुल्क लिएर स्थानीय व्यापारीहरुलाईसमेत स्टल उपलब्ध गराइने उनले जनाए। मेलामा करिब ३ लाख भन्दा बढी उपभोक्ताको आगमन हुने अनुमान गरिएको छ। करिब ८ करोड रुपैयाको कारोबार हुने अपेक्षा गरिएको छ।  

मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, विभिन्न्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्री, दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने जनाइयो। 

त्यस्तै फेशन र्‍याप तथा नृत्यहरु, औधोगिक उत्पादनको प्रर्दशनी, सूचना तथा बिज्ञान प्रविधिको प्रर्दशनी, ग्रामिण प्रविधि सम्बन्धी गतिबिधि, अटो मोवाइल प्रर्दशनी, विद्युतीय मेशिन कृषि औजार प्रर्दशनी, नृत्य प्रतियोगिता, मोवाइल तथा ईलेक्ट्रोनिक्स सामानको प्रर्दशनी, साँस्कृतिक, व्यापार तथा पर्यटकीय प्रर्दशनी, लत्ताकपडा तथा भाडाकुडाको प्रर्दशनी हुने जनाइयो। साथै एशियाकै उत्कृष्ठ बाल उद्यान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव तथा बिबिध प्रस्तुती रहने सम्मेलनमा जनाइयो।

मेलामा बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जनाइयो। मनोरञ्जनका लागि मेलामा बाल उद्यान, रोटी पिङ्ग, रेनजर, मारुती सर्कस, ड्रागन ब्रेक डान्स, नाउ तथा बच्चाको खेलौना, राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य तथा गीत गायनको बजेट प्रस्तुती रहने जनाइयो।

नयाँ वर्षको अवसरमा आयोजना गर्न लागेको मेलामा एउटै छानामुनी उपभोक्ताले चाहेका हरेक सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराइने जनाइयो। यो मेलामा उपभोक्ताले निकै फाइदा लिन सकिने जनाइयो। भक्तपुर, काठमाडौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दालेसमेत यसबाट लाभ लिन सक्ने दावी गरियो। मेलालाई व्यवस्थित गर्न विद्यार्थीलाई ४० र अन्यका लागि ५० रूपैयाँ प्रवेश शुल्कको व्यवस्था गरिएको छ।

प्रकाशित: ९ चैत्र २०७८ १५:०२ बुधबार