अर्थ

अर्थतन्त्रको चुनौतीले निजी क्षेत्रको मनोवल गिरायो: शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको अर्थतन्त्रको चुनौतीले निजी क्षेत्रको मनोवल उच्च रुपमा गिराएको बताएका छन्।

शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ५५ औँ स्थापना दिवसको अवसरमा बोल्दै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौतीले निजी क्षेत्रको मनोवल उच्च रुपमा गिराएको बताएका हुन्। उनले उद्योग क्षेत्रमा काम गरेको ३५ वर्षको अनुभवमा पहिलो पटक निजी क्षेत्रको मनोवल उच्च रुपमा खस्केको दाबी गरे।

पछिल्लो समय मुलुकको अर्थतन्त्र अत्यन्तै चुनौती पूर्ण अवस्थामा पुगेको उल्लेख गर्दै अध्यक्ष गोल्छाले त्यसको मुख्यकारण बजारमा तरलता अभाव नै भएको जिकिर गरे। उनले मुलुकको सोधानान्तर स्थिति र बैंकमा कर्जाको ब्याजदर उच्च वृद्धि तरलता अभावको कारण भएको बताए।

अहिले सरकारी कर्मचारी तथा राजनीतिक व्यक्तिहरुले तरलताको समस्या उद्योगी व्यवसायीहरुको मात्रै भएको भन्ने गरेको भन्दै अध्यक्ष गोल्छाले तरलताको समस्यामा कोही पनि अछुतो नरहेको बताए। उनले तरलताको समस्या तत्काल समाधान गर्नु पर्ने जरुरी भए पनि सरकारको ध्यान समस्या समाधान गर्ने तर्फ नगएको गुनासो गरे।

सरकारले अर्थतन्त्रमा देखिएका समस्या प्राथकिताका आधारमा समाधान नगर्ने हो भने आगामी दिनमा अर्थतन्त्रले विकराल रुप लिनसक्ने चेतावनी समेत दिए। त्यस्तै अध्यक्ष गोल्छाले सरकारले वस्तु आयातमा कडाई गर्ने नीति बनाउँदा उद्योगी व्यवसायीहरुसँग छलफल गरेर मात्रै ल्याउनु पर्ने बताए। 

उनले सरकारले अर्थतन्त्रको अवस्था हेरर आयातित वस्तुहरुलाई प्राथमितामा राख्नु राम्रो भएको बताए। अध्यक्ष गोल्छाले आयात घटाउँदा राजश्वमा असर परेर देश सञ्चालनमा समस्या भएर साधरण खर्च धान्न नसक्ने अवस्था आउन सक्ने बताए। सरकारले राजश्वमा प्रभाव पर्ने नीति बनाउँदा निजी क्षेत्रसँग छलफल नगर्दा अर्थतन्त्रमा विकृति देखिने उनको भनाई छ।

अध्यक्ष गोल्छाले अहिलको अर्थतन्त्रको समस्या आयातलाई मात्रै कडाई गरेर समाधान नहुने तर्क गरे। त्यस्तै गोल्छाले घर धितो राखेर विदेश गएका नेपाली युवाहरुले पठाउने रेमिटेन्स बढाउन सरकारले प्रोत्साहन दिनु पर्ने बताए। सरकारले उचित प्रोत्साहन दिए मात्रै बैंकिङ च्यानलबाट पैसा ल्याउन सकिने भन्दै गोल्छाले रेमिटेन्स बैंकिङ च्यानलबाट मात्रै पठाउन पाउने नीति ल्याउनु जायज नहुने बताए।

उनले विदेशमा दुःख गरेर कमाएको पैसा कसरी नेपालमा पठाउने भन्ने कुरा उनीहरुको अधिकारको विषय भएको बताए। सरकारले रेमिटेन्समा प्रोत्साहन दिने व्यवस्था नगरेसम्म बैंकिङ च्यानलबाट पैसा ल्याउने कुरा सम्भव नभएको बताए। अध्यक्ष गोल्छाले रेमिटेन्समा सरकारले प्रोत्साहन दिने नीति बनाए मात्रै रेमिटेन्स बढ्दै जाने बताए।

प्रकाशित: ४ चैत्र २०७८ ११:५३ शुक्रबार

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा