अर्थ

चौधरीको आत्मकथा मंगोलियन भाषामा

चौधरी ग्रुपका अध्यक्ष एवं उद्योगपति विनोद चौधरीको आत्मकथा अंग्रेजी संस्करण ‘मेकिङ इट बिग’ मंगोलियन भाषामा प्रकाशित भएको छ। यसअघि चौधरीको आत्मकथा नेपाली, अंग्रेजी, हिन्दी, सर्बियन, रसियन भाषामा प्रकाशित भइसकेको छ।

नेपालमा बेस्ट सेलर रहेको चौधरीको आत्मकथा अंग्रेजी भाषाका पाठकले पनि निकै मन पराएका छन्। विश्वव्यापी पाठकका लागि अमेजनमा समेत यो पुस्तक उपलब्ध छ।

मंगोलियन भाषाको पुस्तक मंगलबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ। राजनीतिक र आर्थिक रूपमा पिछडिएको मुलुकका रूपमा चिनिएको नेपालमा जन्मिएर विश्वव्यापी व्यवसाय विस्तार गर्दै फोर्ब्ससम्मको यात्रा तय गरेका चौधरीको सफलताको कथालाई विश्वव्यापी रूपमै उत्सुकताका साथ पढिएको छ। मंगोलियन भाषाका पाठकका लागि आफ्नो आत्मकथा सार्वजनिक गर्न पाएकोमा लेखक चौधरीले खुसी व्यक्त गरेका छन्।

मंगोलियन भाषाको पुस्तक सार्वजनिक गर्दै चौधरीले कथा वा विषयवस्तु जेसुकै भए पनि आम पाठकसम्म नपुगेसम्म त्यसको अर्थ नहुने भन्दै विद्यार्थी, नीति–निर्माता, प्राध्यापक, सार्वजनिक पुस्तकालय र विश्वविद्यालयसम्म आम रूपमा पुस्तक सहज उपलब्ध गराउन राम्रो वितरण सञ्जाल तयार गरेकोमा मंगोलियन प्रकाशकलाई धन्यवाद दिए। चौधरीनिकट भविष्यमा मंगोलिन पाठकहरूसँग प्रत्यक्ष उपस्थित भई अन्तर्क्रिया गर्ने चाहना पनि व्यक्त गरेका छन्।

चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्यका रूपमा पछिल्लो समय राजनीतिमा सक्रिय छन्।

प्रकाशित: ३ चैत्र २०७८ ०४:१५ बिहीबार

नेपाली कांग्रेसको केन्द्रीय सदस्य चौधरीको आत्मकथा मेकिङ इट बिग सफलताको कथा