उदयपुरको विकट पहाडी गाउँपालिका लिमचुङबुङ २ ताम्लिछाको स्वास्थ्य चौकी भवन निर्माण कार्य मध्येचरणमा पुगेको छ।
वडाको जिमी गाउँमा निर्माणाधीन स्वास्थ्य चौकी भवन गएको असार दोस्रो साता सम्झौता गरेर काम सुरु भएको हो। आगामी ०७९ असार अर्थात् एक वर्षभित्र बनाईसक्ने जिम्मा विश्व शिखर निर्माण सेवा रौतामाई ३ ले पाएको छ। सम्झौता गरेलगत्तै सुरु गरिएको काम अहिलेसम्म ५० प्रतिशत सम्पन्न भईसकेको वडाध्यक्ष भविन्द्र राईले बताए।
राईका अनुसार स्वास्थ्य चौकी भवन संघीय सरकारको ७९ लाख ४५ हजार ५२ रुपैँया ५८ पैसामा बन्दै गरेको हो। वडावासी जनतालाई केन्द्र पर्ने डाउँमा निर्माणाधीन भवन १४ वटा पिल्लर र भर्याङसहित ७ वटा कोठा रहने प्राविधिक इस्टीमेट छ।
अहिलेसम्म नयाँ भवन नहुँदा स्वास्थ्य चौकीका कर्मचारीले पुरानो र जिर्ण ब्लकबाट सेवा प्रवाह गर्दै आउनु पर्ने बाध्यता रहेको वडाध्यक्ष राईले बताए। भवन अभावमा स्वास्थ्यकर्मीहरुलाई पुरानो सामान्य टहरामार्फत वडावासीलाई स्वास्थ्य सेवा दिदै आएका छन्।
जनताको सेवा प्रभावित भईरहेकाले चाँडोभन्दा चाँडो भवन बनाई सक्नुपर्ने चटारो रहेको पनि वडाध्यक्ष राईले बताए। तर, हालसम्म ५० प्रतिशत हाराहारी काम सम्पन्न भईसकेकाले सम्झौता अवधिभित्रै भवन तयार हुने अपेक्षा गरिएको छ।
भवनको काम छिटो गर्न निर्माण कम्पनीलाई ताकेता गर्दै आएको र काम सन्तोषजनक भईरहेको स्थानीय सामाजिक अगुवा कृष्ण खत्रीले बताए। ताम्लिछामा साविकको स्वास्थ्य चौकी भवन पुरानो र जिर्ण भईसकेको छ भने अर्को एउटा भवनमा वडा कार्यालय राखेर सञ्चालन गरिदैछ।
०७३ मा स्थानीयतह पुनर्संरचना भएपछि ०७४ असारमा सम्पन्न चुनावबाट निर्वाचित वडा जनप्रतिनिधिका लागि कार्यालय राख्ने ठाउँ नभएपछि स्वास्थ्य चौकी भवनमै वडा कार्यालय राखेर काम सुरु भएको हो।
काम चलाउ भवनमा पनि वडा कार्यालय सञ्चालनमा ल्याइएपछि स्वास्थ्य चौकी भवन विहीन बन्न पुगेको थियो। गाउँपालिका स्थापनाको पाँचौ वर्षको अन्तिम समय आइसक्दासम्म वडा कार्यालय भवन नबनेका कारण स्वास्थ्य चौकी भवनमै वडा र स्वस्थ्य कार्यालय राखेर चलाउनुपर्ने बाध्यता रहेको स्थानीयको भनाई छ।
प्रकाशित: २ चैत्र २०७८ ०९:०९ बुधबार