अर्थ

सल्यानमा नेपालकै ठूलो शंख

सल्यानको छत्रेश्वरी गाउँपालिकाले बनाएको विशाल शंख। तस्बिरः गोविन्द/नागरिक

धार्मिक पर्यटनको हव मानिने सल्यानको छत्रेश्वरी गाउँपालिकामा नेपालकै ठूलो शंख निर्माण गरिएको छ। गाउँपालिकाले धार्मिक पर्यटन प्रवर्द्धन गर्नका लागि ठूलो रकम खर्चेर शंखमुल पार्कमा विशाल शंख निर्माण गरेको हो।

गाउँपालिकाले टेण्डर आह्वान मार्फत १ करोड ६० लाख रुपैयाँमा शंखपार्क बनाएको हो। पार्कभित्र शिव पार्वतीको विशाल मूर्ति, शंख, बाहिरी वाल, पानीको फोहोरा, पौराणिक कालको झल्को दिने घर, चौतारा, शौचालय लगायतका पूर्वाधार बनाइएको छ। शंखमुलमा रहेको कुण्डमा महादेव नुहाएर कैलाश जाँदा कुण्डमा शंख बिर्सेका कारण उक्त कुण्ड शंखमुल रहन गएको धार्मिक विश्वास रहेको छ। कुण्ड र मन्दिर पुरानै जीर्ण अवस्थामा रहेकाले फेरि मर्मत सम्भार गरी चिटिक्क पारिएको छ। यहाँ आउनेहरु विशेष गरेर शंख र कुण्डमा पूजा गर्ने गर्दछन्।

धार्मिक क्षेत्र रहेकाले यहाँ भक्तजनहरुको महिमा बढी रहेको शंखपार्क धार्मिक क्षेत्र विकास समाजका अध्यक्ष तपेन्द्रमान श्रेष्ठले बताए। ‘गाउँपालिकाले शंखमुलको महत्व बुझेर गरेको लगानीले सुन्दरता थप्न र व्यवस्थित गर्न सहयोग गरेको छ।’ समाजका अध्यक्ष श्रेष्ठले भने, ‘पार्क निर्माणसंगै धार्मिक आस्थालाई जिवन्त राख्ने छ।’ गाउँपालिकासंग समन्वय गरेर पार्क छिर्नका लागि शुल्क तोकिने जनाइएको छ। अहिले पार्कमा आउने भक्तजन तथा धार्मिक पर्यटनका लागि वाईफाई फ्रि गरिएको छ। छत्रेश्वरी गाउँपालिका धार्मिक क्षेत्रहरुको नामले प्रसिद्ध भएको पालिका भएकाले गाउँपालिकाले त्यस्ता धार्मिक क्षेत्रहरुमा खर्च गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले बताए।

दर्शन गर्न आउनेहरुसंगै सामाजिक सञ्जालमा टिकटक बनाउनेहरु पनि समेत बढेका छन्। विदाको दिन यहाँ बढी भक्तजनहरु घुम्न आउने गर्दछन्। अँझ विशेष गरी शिवरात्रीमा यहाँ विशेष मेला लाग्ने गर्दछ। शंखमुलमा पार्क निर्माण भएसंगै आन्तरिक तथा बाहिय पर्यटकहरु भिड बढ्न थालेसंगै व्यापार पनि बढेको शंखमुलमा व्यापार गर्दै आएकी गंगा रानाले बताइन्। ‘पार्क निर्माणपछि यहाँ दर्शन गर्न आउनेहरु निकै धेरै बढेका छन्।’ स्थानीय व्यापारी रानाले भनिन्, ‘जसले गर्दा यहाँ व्यापार व्यवसाय पनि बढेको छ।’

प्रकाशित: १ चैत्र २०७८ १२:४१ मंगलबार