अर्थ

नेपालपे क्युआरको सुरुआत

एनसिएचएलले कार्यान्वयनमा ल्याएको नेसनल पेमेन्ट स्विच अन्तर्गत नेपाल क्युआर स्ट्यान्डराइजेसन एन्ड गाइडलाइन्स (नेपाल क्युआर मापदण्ड तथा मार्गदर्शन) अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्युआर सञ्चालनमा ल्याइएको छ।

योसँगै अब नेपाल सरकारको राजस्व भुक्तानी समेत क्युआरबाट गर्न मिल्ने भएको छ। हाल उपलब्ध पेमेन्ट गेटवेमा समेत नेपालपे क्युआर थप गरिएको छ। जसअन्तर्गत उक्त क्युआर स्क्यान गरी मोबाइल बैंक, वालेट, कनेक्ट आइपिएसलगायतबाट सजिलै राजस्व भुक्तानी गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ।

हाल हिमालय, सानिमा, समृद्धि फाइनान्स, कनेक्ट आइपिएसलगायत मोबाइल एपबाट क्युआर स्क्यान गरी कारोबार गर्न सकिने कम्पनीले जनाएको छ। नेपालपे क्युआरको पूर्वाधारमा हिमालय बैंक, एनआइसी एसिया बैंक, कामना सेवा विकास बैंक र समृद्धि फाइनान्स मार्फत क्युआर अक्वायरको कार्य पनि सुरु भइसकेको छ।

हिमालयन बैंक र फोकसवान सोलुसन्सबीच भने मर्चेन्ट स्तरको अन्तरआबद्धता कायम गर्ने गरी व्यवस्था मिलाइएको छ। यस अन्तर्गत एउटै क्युआरलाई स्क्यान गरी भिसा, युनियन पे, अलपे, नेपालपे क्युआरलगायत विभिन्न नेटवर्कबाट भुक्तानी गर्न सकिन्छ। हाल उक्त बैंकर वित्तीय संस्था र पिएसपीले नेपालपे क्युआरमा पाँच हजारभन्दा बढी मर्चेन्टहरू आबद्ध गरिसकेका छन्।

प्रकाशित: २९ फाल्गुन २०७८ ०३:३२ आइतबार

एनसिएचएल नेसनल पेमेन्ट स्विच बैंकर वित्तीय संस्था