अर्थ

डिजिटल तराजुमा तौल घटाएर कुखुरा किसानलाई ठगी

ठग्न प्रयोग गरिएको डिजिटल तराजु र रिमोर्ट।

गोरखाबाट कुखुरा अन्यत्र ढुवानी गर्ने क्रममा सप्लायर्सबाट किसान ठगिने गरेको भेटिएको छ। बिक्रीका लागि तयार भएको कुखुरा खरिद गर्न आएका सप्लायर्सले डिजिटल तराजुमा कम तौल कायम गराएर किसान ठगेका हुन्।  

‘रिमोर्ट कन्ट्रोलबाट तौल कम गराएर एकगाडी कुखुरा लैजाँदा ५० हजार रुपैयाँसम्म किसानलाई ठग्ने गरेको भेटियो,’ जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले भने। गोरखा नगरपालिका–९ लक्ष्मीबजारका किसान राजाराम कुँवरको ६ सय ५० वटा कुखुरा तौल गर्दा रिमोर्टकन्ट्रोलबाट किसान  ठग्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नरेश ओझैया र देवेन्द्र खवास छन्। उनीहरु बुढानीलकण्ठ काठमाण्डौँका आरके कोल्डस्टोरका कर्मचारी हुन्। उनीहरुको साथबाट डिजिटल तराजु र रिमोर्ट पनि बरामद गरिएको एसपी खनालले बताए।  

‘डिजिटल तराजुमार्फत किसानलाई लाखौँ ठगेको देखिन्छ’, एसपी खनालले भने, ‘हामीले नापतौल तथा गुण निणन्त्रण बिभागमा पठाउने र यहाँ पनि किसानको राहतका लागि मुद्दा दर्ता गर्छौँ।’ पक्राउ परेकाहरुले एकसय वटा कुखुरामा दुई किलोग्राम मात्रै ठगेको स्विकार गरेपनि किसानले भने धेरै ठगेको दावी गरेका छन्। कुखुरा तौल गर्दा ठगी भएको आशंकापछि किसानले प्रहरीलाई खबर गर्दा उक्त घटना बाहिर आएको हो।  

उनीहरु यसअघि पटक–पटक ठगी गर्ने गरेको कुखुरापालक किसान व्यवसायी संघ गोरखाका अध्यक्ष परशुराम बस्नेत बताउँछन्। ठगी गर्नेलाई कडा कारवाही नहुँदा यस्तो समस्या पटक –पटक दोहोरिने गरेको उनको गुनासो छ। नापतौलमा ठगी गर्नेलाई जरिबानाको व्यवस्था कम भएकाले यो घटना दोहोरिएको किसानको गुनासो छ।  

वर्षौँ देखि किसान ठग्दै आएकालाई कारवाही गर्ने बलियो कानुनी आधार नहुँदा, नापतौल बिभागले ठगी गर्ने प्रयोग भएको उपकरण मात्रै पठाउनु भनेकाले समस्या भएको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई सार्वजनिक मुद्दा दर्ता गरी किसानको क्षतीपूर्ती भराउने एसपी खनालले बताए। किसानले भने लामो समयदेखि ठग्दै आएकालाई कडा कारवाही र सबै क्षतीपूर्ती किसानले पाउनुपर्ने माग गर्दै आएका छन्।  

गाेरखाबाट दैनिक पाँचदेखि आठ गाडी कुखुरा काठमाण्डौँ सप्लाई हुनेगर्छ। सप्लायर्सले किसानलाई यसरी नै निरन्तर ठगेकाले व्यवसायी संधै घाटामा रहेको कुखुरा पालक किसान व्यवसायी संघका अध्यक्ष बस्नेत बताउँछन्।

प्रकाशित: २७ फाल्गुन २०७८ ०८:४३ शुक्रबार

डिजिटल तराजु कुखुरा किसानलाई ठगी