मोरङका महिला उद्यमीहरूलाई इ सेवाले उद्यमशिलता विकासका लागि सहयोग गर्ने भएको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मोरङ व्यापार संघको महिलाउद्यम समिति र ई–सेवाको संयुक्त आयोजनामा विराटनगरमा भएको एक दिने अनलाईन भुक्तानी कार्यक्रममा महिलाको उद्यमशिलता विकासमा इ सेवाले सहयोग गर्ने जनाएको हो।
महिलाहरुले आय–आर्जन गरेको सीपलाई उद्यमशीलतामा परिवर्तित गरी आयआर्जन तर्फ उन्मुख गराउने योजना रहेको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए। व्यापार/व्यवसाय गर्ने सोच बनाएका, भर्खरै व्यापार व्यवसायको प्रारम्भ गरेका महिलाहरुलाई लक्षितगरी आआफ्नै व्यवसाय स्थल, घरबाट पनि आर्थिक कारेबार गर्न सहजहोस् भन्ने उद्देश्यले एक दिने तालिम कार्यक्रम अयोजना गरिएको रिजालले बताए।
कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहम्फेले राज्यको समग्र क्षेत्रमा महिलाहरुको ३३ प्रतिशत सहभागिता रहनु पर्नेमा अहिले पनि त्यति सहभागिता नभएको बताइन्। उनले उद्यमशिलताको विकासबाटै महिलाको सशक्तीकरण हुन सक्ने धारणा राखिन्।
कार्यक्रममा ई–सेवा, विराटनगरका प्रमुख झलक सुब्बाले महिलाहरुको उद्यमशिलता विकासमा इ सेवा सहयोग गर्न तत्पर रहेको बताए। कार्यक्रममा संघका सचिव संजय श्रेष्ठ, सदस्य दिपेश सुवेदी, गोपालअग्रवाल, समितिकी संयोजक वन्दना जैन, साधना झा, जीना श्रेष्ठ, जिनाजंग कार्की लगायतको सहभागिता रहेको थियो।
प्रकाशित: २६ फाल्गुन २०७८ १३:५५ बिहीबार