अर्थ

‘लाइफलाइन’ सुधार्दै गण्डकी प्रदेश

कोरला–त्रिवेणी सडकलाई गण्डकी प्रदेशले ‘लाइफलाइन’ मानेको छ। राष्ट्रिय गौरवको यो आयोजनाले छोटो दुरीमा हिमाल र पहाडलाई तराईसँग जोड्छ। मुस्ताङमा पर्ने कोरलालाई नवलपुुरको त्रिवेणीमा यसले जोड्छ। गण्डकी प्रदेशलाई भारतीय सीमासँग जोड्ने एक मात्र नाका पनि यही नै हो। कोरला–त्रिवेणी खण्डमध्ये अहिले कोरला–पोखरा सडक सञ्चालनमा छ।

तनहुँको भिमाददेखि नवलपुर निस्कने रुटको बारेमा अन्योल भइरहँदा नवलपुरको बौंदिकाली गाउँपालिकाको डेढगाउँ हुँदै हुप्सेकोटको झ्यालवाससम्म निस्कने सडक खण्ड अघिल्लो मंगलबार शिलान्यास गरिएको छ। ठेक्का प्रक्रियामा गइसकेको उक्त १४ किलोमिटर सडक खण्डको प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डेढगाउँमा शिलान्यास गरेका हुन्।

यो बाटो बनिसकेपछि तनहुँको भिमादबाट नवलपुरको त्रिवेणीसम्मको दुरी ९४ किलोमिटर हुनेछ। जसमध्ये दुम्किबास–त्रिवेणी खण्डको १९ किलोमिटरको ट्र्याक खुल्न बाँकी छ। अहिले पोखराबाट त्रिवेणी पुुग्न मुग्लिन, नारायणगढ हुँदै जानुपर्छ। यो लामो पर्छ।

पूर्वाधार विकास कार्यालय नवलपुरका प्रमुख इन्जिनियर रविन्द्र तिवारीका अनुसार मंगलबार शिलान्यास गरिएको सडकले तनहुँको मानपुर जोड्छ। तनहुँको भिमाददेखि मानपुरसम्म करिब १२ किलोमिटर सडक ओटासिल प्रविधिबाट कालोपत्रे भइसकेको छ। मानपुरदेखि डेढगाउँसम्म करिब १० किलोमिटर सडक पर्छ। डेढगाउँका कालिगण्डकी नदीमाथिको पुल तरेपछि नवलपुर जोडिन्छ। डेढगाउँबाट २ वटा रुटमार्फत महेन्द्र राजमार्ग पुुग्न सकिन्छ। तिवारीका अनुसार एउटा रुटबाट कावासोतीनजिक निस्कन सकिन्छ भने अर्काे रुटबाट चोरमारा नजिकैको झ्यालबास जोडिन्छ।

तिवारीका अनुसार तनहुँ हुँदै जाँदा कालिगण्डकी तरेपछि झ्यालबास पुुग्न ४८ किलोमिटर पर्छ। त्यसमध्ये १४ किलोमिटरको पछिल्लोपटक शिलान्यास गरिएको छ। बाँकी ३४ किलोमिटर खण्ड ट्र्याकमात्र खुलेको छ। ट्र्याक मात्र खुलेको ३४ किलोमिटर खण्डमा वर्षायाममा गाडी गुडाउन मुस्किल छ।

हिउँदमा जसोतसो साना सवारी चल्छन्। ३४ किलोमिटरमध्ये १८ किलोमिटर बौंदिकालिका र १६ किलोमिटर हुप्सेकोटमा पर्छ। स्तरोन्नतिका लागि शिलान्यास गरिएको १४ किलोमिटर सडकमा अहिले पनि गाडी चल्छन्।

तिवारीका अनुसार शिलान्यास भएको १४ किलोमिटर सडक दुुई लेन अर्थात् ७ मिटर चौडाइको अस्फाल्ट कालोपत्रे हुनेछ। नाला र दायाँबायाँ एक–एक मिटर सहित सडकको चौडाइ १० मिटर रहनेछ। यसको कुल लागत ५१ करोड रूपैयाँ अनुमान गरिएको छ। यसको टेन्डर आह्वान पनि भइसकेको छ। ३० महिनामा काम सम्पन्न गर्ने गरी ठेक्का भएको कार्यालय प्रमुख तिवारीले बताए। ‘यो सडकले नवलरपुर र तनहुँलाई जोड्छ। तर बीचको केही खण्डमा ठूलो लगानी गरेर सडक स्तरोन्नति गर्न जरुरी छ,’ तिवारीले भने, ‘सामान्य ट्र्याक मात्र खुलेको ३४ किलोमिटर सडकलाई स्तरोन्नति गर्न ठूलो लगानी आवश्यक पर्छ।’

झ्यालबास हुँदै महेन्द्र राजमार्ग निस्केपछि दुम्किबास पुगिन्छ। दुम्किबासबाट त्रिवेणी निस्कन १९ किलोमिटरको ट्र्याक खुल्न बाँकी छ। अहिले राजमार्ग हुँदै दुम्किबासबाट दाउन्ने हुँदै बर्दघाट निस्केर मात्र त्रिवेणी पुगिन्छ। यो केही घुमाउरो हुन्छ। अब बन्ने सडक दुम्किबासबाट सिधै त्रिवेणी निस्कने गरी बनाउने योजना छ। वन क्षेत्रमा पर्ने यो सडकले दुम्किबासलाई त्रिवेणी जोड्न निकै नै छोटो हुने र आफ्नै प्रदेशभित्रको सडक बन्ने तिवारीले जानकारी दिए। ‘जंगल र नारायणी किनार हुँदै यो सडकको ट्र्याक खुलाउने योजना छ,’ उनले भने।

सडक शिलान्यास कार्यक्रममा मुख्यमन्त्री पोखरेलले लामो समयको अन्योल चिर्दै प्रदेश सरकारले काम अगाडि बढाएको बताए। ‘विगतमा तनहुँको भिमादबाट नवलपुरको मुख्य राजमार्ग जोड्न कुन बाटो बनाउने भन्ने अन्योल थियो, हामीले डेढगाउँ झ्यालबास नै हो भनेर बजेट विनियोजन ग¥यौं। अहिले शिलान्यास नै भएको छ,’ उनले भने। नवलपुरको पहाडी भेगको विकासका लागि प्रदेश सरकारले विशेष प्याकेज नै बनाउने प्रतिबद्धता समेत उनले जनाए।

प्रदेशका भौतिक पूर्वाधारमन्त्री कुमार खड्काले नवलपुरको समग्र विकासका लागि सरकारले संवेदनशील भएर योजना बनाएको बताए। प्रदेश गौरवको आयोजना कोरला–त्रिवेणी सडकको डेढगाउँ झ्यालबास खण्डको काम सुरु गरेर सरकारले नागरिकको चाहना पूरा गरेको उनले बताए। ‘बजेट विनियोजन भएर ठेक्का प्रक्रियामा गइसकेपछि हामी बाटोमा ढुंगा हाल्न आएका छौं,’ खड्काले भने।

मुलुक प्रादेशिक संरचनामा जाने क्रममा नवलपरासीको दाउन्नेदेखि पूर्वको भू–भाग गण्डकी प्रदेशमा परेको थियो। नवलपरासीलाई टुक्र्याएर दुुई जिल्ला बनाउँदा नवलपुर गण्डकीमा समेटिएको थियो। त्यही नवलपुरलाई प्रदेशको राजधानी पोखरासँग सिधा राजमार्गले जोड्ने गरी अहिले कोरला–त्रिवेणी सडकलाई प्राथमिकता दिएको मन्त्री खड्काले बताए।

त्रिवेणी दुम्किबास खण्ड १९ किलोमिटरमध्ये ८ किलोमिटर चितवन राष्ट्रिय निकुञ्जको केही भाग र मध्यवर्ती क्षेत्रभित्र पर्ने भएकाले काम अगाडि बढ्न सकेको छैन। चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले त्यहाँ विकासको कामका लागि युनेस्कोको स्वीकृत लिनुपर्ने हुन्छ। बाटोको पहुँच नहुँदा विनयी त्रिवेणीको ६ र ७ नम्बर वडाका बासिन्दा पालिका कार्यालय पुग्न लुम्बिनी प्रदेशको बर्दघाट हुँदै जानुपर्ने बाध्यता छ।

प्रकाशित: १५ फाल्गुन २०७८ ०३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App