अर्थ

आन्तरिक उडानमा विदेशी पर्यटकलाई छुट दिने सहमति

फाइल तस्बिर

आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिकसरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ। यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एअरलाइन्स र यति एअरलाइन्स प्रालिबीच सहमति भएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको बैठकले गत माघ २ गते पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन गरेको थियो। समितिले आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छुट दिने सम्बन्धमा बुद्ध र यति एअरलाइन्स प्रालिबीच सहमति गराएको हो।

यसैगरी पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल संघ नेपालले विदेशी पर्यटकलाई होटलको कोठा भाडामा कम्तीमा पनि २० प्रतिशतसम्म छुट दिने निर्णय गरेको समितिले जनाएको छ। विदेशबाट आउने नागरिकलाई हवाई भाडा चर्को भएको गुनासो बढेपछि समिति तथा एअरलाइन्सबीच हवाई भाडामा छुट दिने सहमति भएको हो।

प्रकाशित: १२ फाल्गुन २०७८ ०२:२३ बिहीबार

हवाई भाडा आन्तरिक उडान नेपाल तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हवाई भाडा चर्को