अर्थ

ताप्लेजुङमा पूँजीगत बजेट परिचालन निरासाजनक

ताप्लेजुङमा चालू आर्थिक वर्षको संघतर्फको पूँजीगत खर्चको अवस्था अत्यन्तै निरासाजनक देखिएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार पूँजीगततर्फ १० प्रतिशत भन्दा कम खर्च भएको छ।

कोलेनिकाका लेखापाल नवीन खनालका अनुसार चालू आवमा संघीयतर्फको पूँजीगत बजेट १ अर्ब ७४ करोड ९० लाख ४५ हजार रुपैयाँ रहेको थियो। फागुन पहिलो साताभित्र पूँजीगततर्फको बजेटमध्ये १४ करोड २० लाख ४३ हजार ५ सय ४३ रुपैयाँ खर्च भएको छ। यो खर्च कूल पूँजीगत बजेटका हिसाबले करिब ९ प्रतिशत हाराहारी मात्र हो।

अहिले चालू आर्थिक वर्षको ७ महिनाको मध्यभागतर्फ पुगेको छ। स्थानीय तहको निर्वाचन, आउँदै गरेको वर्षायामको समय लगायतका कारणबाट यस वर्षपनि यहाँको पूँजीगततर्फको खर्च सन्तोषजनक नहुने अवस्था देखिएको छ। पूँजीगतको तुलनामा चालूतर्फ भने खर्चको अवस्था निकै माथि रहेको छ।

कोलेनिकाका अनुसार चालू आवका लागि संघीय बजेटतर्फ चालू बजेट ४ अर्ब ११ करोड ७८ लाख ९७ हजार ८ सय ७६ रुपैयाँ रहेकोमा फागुन पहिलो सातासम्ममा १ अर्ब ९९ करोड ५८ लाख ५० हजार ३३ रुपैयाँ खर्च भएको छ। यो हिसाबले चालूतर्फको बजेटको करिब ४९ प्रतिशत खर्च भएको देखिएको छ।

कोलेनिकाका अनुसार संघीयतर्फ चालू र पूँजीगत गरी कूल बजेट ५ अर्ब ८६ करोड ६९ लाख ४२ हजार ८ सय ७६ रुपैयाँ रहेकोमा फागुन पहिलो साता सम्ममा २ अर्ब १३ करोड ७८ लाख ९३ हजार ५ सय ७६ रुपैयाँ खर्च भएको छ। यो हिसाबले चालू र पूँजीगततर्फको बजेटको औसत खर्च करिब ३७ प्रतिशत देखिएको छ।

प्रदेशतर्फको बजेटको पूँजीगत खर्च करिब २८ प्रतिशत चालू आवमा प्रदेश सरकारमार्फत् ताप्लेजुङका लागि विनियोजन भएको पूँजीगत तर्फको बजेट भने करिव २८ प्रतिशत खर्च भएको छ। कोलेनिका अनुसार एकिकृत विनियोजन अन्र्तगत प्रदेश सरकारमार्फत् यहाँका लागि २२ करोड ३० लाख ६१ हजार बजेट रहेकोमा फागुन पहिलो सातासम्म ६ करोड १३ लाख ५३ हजार ४ सय ७० रुपैयाँ खर्च भएको छ।

प्रदेश सरकारको बजेटमध्ये चालूतर्फ भने करिब ३१ प्रतिशत खर्च भएको छ। कोलेनिकाका अनुसार प्रदेश सरकारमार्फत् ताप्लेजुङका लागि विनियोजन भएको चालूतर्फको कूल बजेट ३४ करोड ५८ लाख ५० हजार रुपैयाँ रहेकोमा फागुन पहिलो साता भित्र १० करोड ४५ लाख १९ हजार ४ सय ८३ रुपैयाँ खर्च भएको छ।  

प्रकाशित: ९ फाल्गुन २०७८ ११:४६ सोमबार

कोष तथा लेखा नियन्त्रक कार्यालय