अर्थ

पूर्वमा जुट खेती, बीस वर्षपछि दुई नयाँ जातको वीउ सिफारिस

देशमै एकमात्र जुट अनुसन्धान केन्द्र इटहरीले २० वर्ष बितेपछि उन्नत नयाँ जातको वीउ सिफारिस गरेको छ। यति लामो समयसम्म पनि उन्नत जातको वीउ सिफारिस गर्न नसक्दा जुट खेती गर्ने किसानले भने बाध्य भएर आफ्नै पाराले वीउ खरीद गरेर लगाउने गरेका छन्।

जुटवाली अनुसन्धान कार्यक्रम इटहरीका कार्यक्रम संयोजक तिर्थराज रिजालका अनुसार अहिलेसम्म पनि २० वर्षअघि सिफारिस भएकै वीउ किसानले लगाउँदै आएकोमा अबदेखि भने नयाँ दुई जातिको सिफारिस गरिएको हो। अनुसन्धान केन्द्रले रानी र जोआरओ २०४ जातको वीउ सिफारिस गरेको हो। 

अहिलेसम्म किसानले २०५८ सालमा सिफारिस भएको पूराना जात इटहरी १ तिता, इटहरी २ मिठा जातको वीउ चलाई रहेका छन्। यो अवधिमा नयाँ उन्नत जातको वीउ सिफारिस नभएपछि किसानले भारतबाट खरीद गरेर ल्याएर पनि विभिन्न खालको वीउ लगाउने गरेको जुट अनुन्धान केन्द्रका प्रमुख तथा कार्यक्रम संयोजक रिजाललले बताए।

दुई दसक अघिसम्म पूर्वी तराईका जिल्लामा धानपछि जुट नै बढी उत्पादन हुने गरेको थियो। तर, पछिल्लो समय जुट खेतीको उत्पादन घट्दो छ। ‘किसानको जुट उत्पादनमा कमी आउनुमा एउटा कारण त उन्नत जातको वीउ सिफारिस नहुनु पनि हो,’ कार्यक्रम संयोजक रिजालले भने। उनका अनुसार पछिल्लो समय भने उन्नत जातको वीउ सिफारिससँगै उत्पादन बढाउनका लागि विभिन्न अभियान थालिएको छ।

जसमा पछिल्लो समय सिफारिस गर्न लागिएको जोआरओ २०४ जातको वीउ सुनसरी भोक्राहा नरसिंहका किसान रुद्रनारायण साहले प्रति कट्ठा दस हजार रुपैयाँको जुट उत्पादन गरेका छन्। केन्द्रले किसानलाई हौसला प्रदान गर्नका लागि सिरहाको जमदहमा सामूदायिक वीउ उत्पादन केन्द्र सुरुवात गरेको छ। त्यहाँ यो वर्ष नौ सय केजी वीउ उत्पादन गरिएकोमा यतिबेला सबै किसानले खरीद गरि सकेका छन्।

जुट अनुसन्धान कार्यक्रम अन्तर्गत इटहरी केन्द्रमा आर्थिक वर्ष २०७७/७८ मा दुई हजार तीन सय केजी वीउ उत्पादन भएको छ। पछिल्लो वर्ष जुटको मूल्य बढेको र कृषि प्रविधिको विकासले गर्दा पनि किसान आकर्षित हुन थालेका जुट अनुसन्धान केन्द्रको दावी छ।

‘अब रेसा निकाल्ने मेसिन आइ सकेकाले गर्दा मजदुर अभाव हुँदा पनि खेती गर्न सहज हुनेछ,’ उनले भने, ‘किसानलाई पटुवासँगै लटे साँग लगाउनका लागि पनि सचेतना गरिएको छ।’ यो वर्ष जुटको प्रतिकेजी १४४ रुपैयाँ हाराहारी पुग्यो।

स्वदेशी उत्पादनले नेपाली जुट पूर्वका जुट उद्योगका लागि १८ देखि २० प्रतिशत मात्र भ्याउने गर्छ। बाँकी नेपाली जुट उद्योगले भारत र वंगलादेशबाट जुट आयत गर्ने गरेका छन्। नेपालबाट उत्पादित जुट सामग्रीको सवैभन्दा ठूलो बजार पनि भारत नै हो। सुनसरी–मोरङ्मा सञ्चालित ११ उद्योगमध्ये अहिले छवटा मात्र चालु छन्।

जुट अनुसन्धान केन्द्रका अनुसार आर्थिक वर्ष २०७७-०७८ मा पूर्वमा सात हजार ५५५ हेक्टर क्षेत्रफलमा जुट खेती लगाउँदा दस हजार १६५ मेट्रिक टन उत्पादन भएको थियो। केन्द्रले अब जुटसँगै रवर खेती, हाइब्रिड धान र मकैको पनि अनुसन्धान थालेको छ।

अनुसन्धान केन्द्रको स्वामीत्वमा ३२ विघा जग्गा रहेको छ। केन्द्रलाई वार्षिक तीन करोडभन्दा बढी बजेट छुटिने गरेको छ। यो चालु आर्थिक वर्षमा तीन करोड १७ लाख छुटिएको छ। जसमा एक करोड १० लाख रुपैयाँ पूजीगत रहेको जानकारी दिइयो।

प्रकाशित: ७ फाल्गुन २०७८ ०८:४२ शनिबार

जुट अनुसन्धान केन्द्र इटहरी वीउ सिफारिस जुटवाली अनुसन्धान कार्यक्रम इटहरी