अर्थ

‘पुँजी बजार सुधार्न स्वतन्त्र भएर काम गर्नुहोस्’

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कसैको प्रभावमा नपरी स्वतन्त्ररूपमा काम गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई सुझाव दिएको छ। शुक्रबार अर्थ मन्त्रालयमा शपथ ग्रहण गराउँदै उनले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्न आग्रह गरेका हुन्।

'पुँजीबजारको सुधारका लागि धेरै बाँकी काम रहेछन्', मन्त्री शर्माले भने, 'तपाईं यसमा कसैको प्रभावमा नपरी काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। तपाईंले स्वतन्त्ररूपमा काम गर्नुहुनेछ।' उनले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यवहारिकरूपमा पनि सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताए। त्यसका लागि अध्यक्ष हमालप्रति सफलताको शुभकामना पनि उनले व्यक्त गरे।

नवनियुक्त अध्यक्ष हमालले सेबोन र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्णरूपमा प्रयोग गर्ने बताए। त्यसमा सबैको साथ र सहयोग आवश्यक हुने भन्दै निरन्तर सहयोग गर्न आग्रहसमेत गरे।

धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भीष्मराज ढुंगाना शेयर खरिद प्रकरणमा दोषी ठहरिएर पदमुक्त भएपछि सरकारले हमाललाई अध्यक्षमा नियुक्त गरेको हो। हमाललाई योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलको संयोजकत्वमा रहेको छनोट समितिले सेबोन अध्यक्षमा सोमबार सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो।

प्रकाशित: ६ फाल्गुन २०७८ १५:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App