अर्थ

ऊर्जामन्त्री भुसालसँग बेलायती राजदूतको भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छिन्।

मन्त्रालयमा बिहीबार भएको भेटमा उनहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको छ। सो अवसरमा मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजिकबाट काम गरिरहने नेपाल सरकारको प्रतिबद्धता रहेको बताइन्।

नेपाल सरकारले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन, इ–मोबिलिटी, न्यून कार्बन पूर्वाधार र इको–टुरिजम प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले नेपालको नवीकरणीय ऊर्जा, वातावरण व्यवस्थापनमा बेलायत सरकारको सहयोगप्रति धन्यवाद ज्ञापन गरिन्। 

महासागरहरूका पारिस्थितिक प्रणाली सन्तुलन राख्न र ग्योबल वार्मिङलाई नियन्त्रण गर्न हिमालयको महत्वपूर्ण भूमिका रहने स्मरण गराउँदै मन्त्री भुसालले थपिन्, ‘हामी हिमालय क्षेत्रको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गर्दछौं।’

ऊर्जा क्षेत्रमा सन्तुलन कायम राख्न आफूले जलाशययुक्त आयोजना प्रवद्र्धनलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री भुसालले बूढीगण्डकी, दूधकोसी, नलगाढजस्ता आयोजनालाई आफूले प्राथमिकतामा राखेको बताइन्। जलविद्युत् स्वच्छ ऊर्जा भएकाले यसको प्रवद्र्धनलाई नेपाल सरकारले प्राथमिकता दिएको र ऊर्जा क्षेत्रको विकासमा मिश्रित ऊर्जा उत्पादनमा ध्यान दिएको बताइन्।

बेलायत नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै मन्त्री भुसालले बेलायतले संकट र प्रकोपको समयमा महत्वपूर्ण सहयोग गरेको स्मरण गरिन्। सो अवसरमा राजदूत पोलिटले नेपालको ऊर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि ऊर्जा मन्त्रालयका निकायसँगको सहकार्यलाई अझै विस्तार गर्ने बताइन्।

उनले नवीकरणीय ऊर्जा उत्पादन तथा विद्युत् व्यापारमा पनि सहजीकरण गर्न बेलायत सरकार तयार रहेको बताइन्। उनले ऊर्जा क्षेत्रका निकायको संस्थागत सबलीकरणमा पनि सहयोग गरिरहेको उल्लेख गरिन्।

प्रकाशित: ६ फाल्गुन २०७८ ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App