अर्थ

सिद्धबाबा सुरुङमार्गको ठेक्का चाइना स्टेट कम्पनीलाई

बुटबल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पाेरेसनले पाएको छ।

सडक विभाग मातहतको गुणस्तर अनुसन्धान विकास केन्द्रले आइतबार सार्वजनिक सूचना जारी गर्दै सिद्धबाबा सुरुङमार्गको ठेक्का चाइना स्टेटले ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७ सय ३४ रूपैयाँमा पाएको हो।

सुरुङमार्गको प्राविधिक छनोटमा चारवटा कम्पनी परेका थिए। प्राविधिक प्रस्ताव पेस गरेकामध्ये सबैभन्दा कम कबोल गर्ने चाइना स्टेट छानिएको हो। फस्र्ट हाइवे इन्जिनियरिङ कर्पाेरेसन, सिओभिइसी–सिआरइजिसी जेभी र सिसिइसिसी–सिआरसिसी १४–सियुयान जेभी प्राविधिक प्रस्तावमा छनोट भएका थिए।

सार्वजनिक खरिद ऐनअनुसार सबैभन्दा कम रकममा निर्माण गर्ने कबोल गर्ने ठेकेदार कम्पनीलाई छनोट गरिएको हो। यो सुरुङमार्ग इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्सट्रक्सन (इपिसी) मोडलमा निर्माण गर्न लागिएको हो।

केन्द्रका अनुसार आर्थिक प्रस्ताव खोलेको ७ दिनसम्म उजुरी गर्ने समयसीमा हुन्छ। एक महिनाभित्र छानिएको ठेकेदार कम्पनीसँग सम्झौता गर्ने म्याद तोकिएको हुन्छ। ठेकेदार छनोट भएको ९ महिनाभित्र इपिसी मोडलमा डिजाइन तयार पार्ने योजना राखिएको छ।  

छनोट भएको कम्पनीले डिजाइन तयार पारेर सडक विभागले स्वीकृत गरेपछि मात्रै सुरुङमार्ग निर्माणले गति लिनेछ। केन्द्रले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रमा ९ वटा कम्पनी सहभागी भएका थिए। ती ९ मध्ये ४ वटा चिनियाँ कम्पनी प्राविधिक प्रस्तावमा छानिएका थिए।

ठेक्का पाउने कम्पनीले सुरुङमार्ग पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने हुन्छ। डिजाइन बनाउन करिब ६ देखि ९ महिनाको अवधि तोकिएको छ ।

बोलपत्रमा छनोट हुने कम्पनीले ९ महिनाभित्रै सुरुङमार्ग तथा रकसेटको डिजाइन तयार पारेर सडक विभागलाई बुझाउनुपर्ने हुन्छ। केन्द्रले सुरुङमार्ग करिब ५ वर्षको अवधिभित्र निर्माण सम्पन्न गर्ने योजना बनाएको छ। बुटबल–तानसेन खण्ड अन्तर्गतको सिद्धबाबा मन्दिरको उत्तरतर्फ चिडियाखोलाको छेउमा सुरुङमार्गको एउटा मुख रहनेछ। अर्काे मुख दोभान नजिकै रहनेछ।

यो सुरुङमार्गको लम्बाइ १.१२६ किलोमिटर रहनेछ। यो सुरुङमार्ग दुई लेन अर्थात साढे ७ मिटर चौडा हुनेछ। ठेकेदार कम्पनीले सुरुङमार्गसँगै ७ सय ८० मिटर क्षेत्रको सडकमा रकसेटको संरचना समेत तयार पार्नु पर्नेछ। अहिलेको सडकलाई दुई लेनमा विस्तार गरिनेछ।

केन्द्रका अनुसार यो खण्डमा सुरुङमार्ग मात्रै नभएर दुई लेनको सडक समेत विस्तार गरिनेछ। तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले २०७७ मंसिर १ गते मन्त्रस्तरीय निर्णय गरी सिद्धबाबा सुरुङमार्ग निर्माणको लागि १० अर्ब १५ करोड रूपैयाँ बजेट सुनिश्चित गरेका थिए। 

सिद्धार्थ राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको खण्डमा अत्यधिक मात्रामा पहिरोको जोखिम छ। सो खण्डमा हिउँद र बर्खामा पहिरोको कारण बर्सेनि दर्जनौंले ज्यान गुमाइरहेका छन्।

माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको इलाकामा स्विस सरकारको विकास सहयोगमा भौगर्भिक तथा पूर्वसम्भाव्यता अध्ययन गरिएको थियो। स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पाेरेसनले सिद्धबाबा सुरुङमार्गको पूर्वसम्भाव्यतता अध्ययन गरेको थियो। केन्द्रले सोही पूर्वसम्भाव्यता अध्ययनमा टेकेर सुरुङमार्ग निर्माणको लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो। यो खण्डमा पहिरोमा परेर अहिलेसम्म ४ सय ५० भन्दा धेरैले ज्यान गुमाएका छन्।

प्रकाशित: २ फाल्गुन २०७८ ०३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App