अर्थ

स्थानीय तहको पाँच वर्ष: जनप्रतिनिधिको पहिलो प्राथमिकतामा सडक

नेपालमा पहिलो पटक भएको स्थानीयतहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको प्राथमिकता सडक बन्यो। सडककै कारण जुम्लाबासीले थुप्रै समस्या व्योहोर्नु परेको भन्दै पहिलो वर्षको बजेटमै सडक पूर्वाधार निर्माणमा जोड दिए। सडकसहित पूर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य प्राथमिकतामा परे। जनप्रतिनिधिले गाउँगाउँमा सडक, घरघरमा धारा, बिजुली वत्तिको प्रयाप्तता जस्ता नारा दिए। अहिले उनीहरुले प्रतिबद्धता गरे बमोजिम अधिकाश गाउँमा सडक पुगिसकेको छ। केही गाउँमा एक घर एक धारा बनेका छन्। केही बस्ती बिजुली बत्तिले झिलिमिली छन्।

सदरमुकाम खलंगा लगायतका केही बस्ती कर्णाली राजमार्गले छोइसकेको थियो। जुम्लामा २०६३ सालमा सडक सञ्जाल संग जोडियो। सडक नहुँदा अधिकांश ग्रामिण क्षेत्रका नागरिकले कष्टकर जीवन जीउन बाध्य थिए। जनप्रतिनिधिले सडकको विकास भएपनि मात्र अन्य क्षेत्रको विकास हुने भन्दै सडकलाई प्राथमिकता दिए। फलस्वरुप गाउँगाउँमा सडकको ट्रयाक खुलेको छ।

जुम्लाको एक नगरपालिका सहित ७ गाउँपालिकादेखि सदरमुकाम खलंगा सहजैरुपमा सडकले छोएको छ। तर पहिलो जनप्रतिनिधिको पाँच बर्षे कार्यकालमा दुर्गमका केही बस्तीमा सडक पुग्न सकेको छैन। भौगोलिक रूपले विकट गाउँबस्तीमा यातायातको पहुँच पुर्याउने हिसावले जनप्रतिनिधिले सडक निर्माणलाई जोड दिँदै आए। तर सोचे अनुसार सडक विस्तारमा विकास हुन सकेन। जुम्लाका ८ स्थानीय तहका ६० वटै वडामा ग्रामीण सडक निर्माण भएका छन्।  सडक निर्माण भएका अधिकांश वडामा अझै यातायातको पहुँच पुग्न सकेको छैन।

तातोपानी गाउँपालिकाले चार वर्षमा झन्डै ७३ किलोमिटर सडक निर्माण गरेको जनाएको छ। पालिकाका ८ वटै वडामा सडक सञ्जाल पु–याई यातायातको पहुँच विस्तार गर्ने उद्देश्यले करोडौँ रकम खर्चेर चार वर्षमा ७३ दशमलव ३ किलोमिटर सडक निर्माण गरेको तातोपानीका प्रमुख प्रशासकीय अधिकृत मिलन बुड्थापाले बताए। उनले भने,‘गाउँगाउँमा सडक खनिएका छन्। अधिकांस बस्तीमा सवारीसाधन नै पुग्छन। केही बस्तीमा गाडी पुग्नसकेको छैन।’

तातोपानीको सबैभन्दा बढी वडा नम्बर ४ को हाँकु, गौतमबाडा, नियापानीमा १९ दशमलव ९५ किलोमिटर सडक निर्माण भएको छ।  सबैभन्दा कम वडा नम्बर २ जर्मी, बाबिरा, डाँगीबाडामा ३ दशमलव ३७ किलोमिटर सडक निर्माण भएको तातोपानी गाउँपालिकाले जनाएको छ।

भौगोलिक हिसावले जिल्लाकै विकट मानिने तातोपानी वडा नम्बर ७ मा ७ दशमलव २८ किलोमिटर, वडा नम्बर ८ मा ९ दशमलव ६७ किमि सडक निर्माण भएको छ।  वडा नम्बर १ राँका बाइराँकामा ९ दशमलव २१ किलोमिटर, वडा नम्बर ३ लिताकोटमा ६ दशमलव ९१ किलोमिटर, वडा नम्बर ५ मा ९ दशमलव ५७ किलोमिटर र वडा नम्बर ६ मा ७ दशमलव ७ किलोमिटर गरी जम्मा ७३ दशमलव ३ किलोमिटर सडक निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत बुड्थापाले जानकारी दिए।  

उनले भने, ‘पालिकाको विकट क्षेत्र भेरीखोला हो। ८ नम्बर वडाको थलाले गाउँबाहेक अन्य गाउँ सडक पहुँचमा पुगेकाछन्। चालू आर्थिक बर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट थलालेमा बाटो निर्माण गर्ने तयारीछ।’  अहिले गाउँ–गाउँमा सडक पुगेका छन्। कतै फिनिसिङ हुन बाँकी छ भने केही ठाउँमा स्तरवृद्धि गर्ने कार्यक्रम छ। गाउँका कृषि उत्पादनलाई बजारसम्म पुर्याउने र स्थानीय नागरिकको जीविकोपार्जनमा सुधार ल्याउने लक्ष्य रहेको तातोपानी गाउँपालिकाले जनाएको छ।

नागरिकका घरदैलोसम्म सडक निर्माण गरिएपनि तिला नदीमाथि पुल निर्माण नहुँदा गाउँमा अझै यातायात पहुँच पुग्न केही समय लाग्नेछ। तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भने, ‘पालिकाको लगानीमा पक्की पुल निर्माण सम्भव नभएको बताए। हामीले आधारभूत विकास गरिरहेका छौँ। पुल निर्माणका लागि संघ र प्रदेश सरकारमा धाइरहेका छाैं। ढिलो चाँडो गाउँगाउँमा गाडी पुग्छन्।’

सडक निर्माण गरेपनि यातायात पहुँच नहुँदा चाँडो स्तरवृद्धि गरेर छिट्टै गाडी गुडाउन स्थानीयले माग गरेका छन्। सडक पुगे पनि यातायात नचल्दा कृषि उत्पादनले बजार नपाएको स्थानीय लोकबहादुर दमाईको गुनासो छ। गाउँमा कृषि उत्पादन र जडिबुटी प्रशस्त छ। तर यहाँको उत्पादन र जडिबुटी सहजै रुपमा निर्यात गर्ने वातावरण बनेको छैन।

हिमा गाउँपालिकाले चार वर्षे अवधिमा करिब ६५ किलोमिटर सडक निर्माण गरेको छ। भौगोलिक रूपमा विकट हिमा पालिकाका ७ वटै वडाका साढे ३ दर्जन बस्तीलाई यातायातको पहुँचमा ल्याउने उद्देश्यले धेरै रकम लगानी गरेर ५७ किलोमिटर सडक निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए। पालिकाका सबै बस्तीमा सडक पुगे पनि गाडी गुड्न भने बाँकी छ। हिमा गाउँपालिकाका प्राविधिक प्रवेश देवकोटाका अनुसार चार वर्षमा निर्माण भएको करिब ५७ किमि सडकमध्ये कतै स्तरवृद्धि र कतै आरसिसी भइरहेको छ। अहिले गाउँमा सडक पुगेपछि स्थानीय खुसी छन्।

पालिकाको तथ्यांकअनुसार साढे चार वर्षमा दियार गाउँ हुँदै मोफ्लासम्म १५ किलोमिटर, पाथखोला हुँदै कालीकोट जोड्ने सडक ५ किलोमिटर, भूगोलपाटादेखि बुअगाउँसम्म २ दशमलव ५ किलोमिटर, कालिका मावि हुँदै तलिकुडु जारजी सडक १५ किलोमिटर निर्माण भएको छ। बड्की हुँदै जोगीबाडासम्म १ दशमलव ५ किलोमिटर, बड्की हुँदै ओदीसम्म १२ किलोमिटर, सेरगाउँ पिगीसम्म १ किलोमिटर र कुडु बन्चरीकाँडा–च्यामेले खर्कसम्म ३ किलोमिटर गरी जम्मा करिब ५७ किलोमिटर ग्रामीण सडक निर्माण भएको छ।  

सेरगाउँ–पिगीसम्म थप ३ दशमलव ८ किलोमिटर र जोगीबाडा–च्याल्से हुँदै च्यामा जोड्ने ५ किलोमिटर सडक निर्माणका लागि टेन्डर आह्वान भइसकेको प्राविधिक देवकोटाले जानकारी दिए। ओदी गाउँदेखि नेत्रज्योति माविसम्मको ४ सय ८० मिटर बाटो आरसिसी गरेको प्रमुख प्रशासकीय अधिकृत बुढाले बताए। हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले सडक, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई प्राथमिकता दिँदै बजेट लगानी गरिँदै आएको बताए। उनले भने, ‘पालिकाभरिका सबै बस्तीमा सडक पुगेका छन्। केही गाउँमा गाडी पुग्न बाँकी छ। सडक स्तरवृद्धि गरेर कार्यकाल अवधिभर गाउँमा गाडी पुर्याउने लक्ष्य राखेका छौँ।’

सडकबिना गाउँका कृषि उत्पादनले बजार नपाउने, स्थानीयको जीविकोपार्जनमा सुधार नआउने भएकाले सडक विकासमा जोड दिइएको उनले बताए। उनले भने, ‘अब गाउँमा पुगेका सडकलाई आर्थिक समृद्धिसँग जोड्न थप लगानी गर्न पालिका तयार छ।’ तिला गाउँपालिका वडा नम्बर ७, ८ र ९ नम्बर वडामा पर्ने जुम्लाकोट, मालापानी, राँसा, खोप्री, सुडी, घोडेमहादेव निकै दुर्गम र विकट गाउँबस्ती हुन्। यी गाउँबस्तीमा सडक खनिए पनि राष्ट्रिय सडक सञ्जालमा भने जोडिएका छैन।

तिला गाउँपालिका वडा नम्बर १ रारालिहीस्थित तिला नदीमाथि गाडी गुड्ने पक्की पुल नबनेकाले यी बस्ती राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हो। वडा नम्बर ९ मालापानी गाउँका स्थानीय मानबहादुर बुढाले भने, ‘स्थानीय सरकार नआएको भए यो ठाउँमा सडक पुग्न कयौँ वर्ष कुर्नुपर्ने अवस्था थियो। तर, संघ, प्रदेश र स्थानीय सरकारको पहलमा सडक पुग्यो। अब गाडी गुड्ने पर्खाइमा छौँ।’ अहिले यहाँका मालवाहक गाडी भनेकै खच्चड र मानिसको पिठ्युँ हुन्। दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्री खच्चड र पिठ्युँमै ओसारपसार गर्ने गरिन्छ। गाउँघरमा सडक पुगेपछि स्थानीय खुसी छन्। सडक पुगेपछि गाडी पनि गाउँघरमै पुग्छ भन्ने आशा पलाएको उनी बताउँछन्।

यो क्षेत्रमा सडक खन्ने प्रयत्न संघीयता आउनुअघि भए पनि स्थानीय सरकारले चार वर्षको अवधिमा सडक पुर्याएको हो। झन्डै ५ करोड रुपैयाँ बचेट खर्चेर निर्माण गरिएका सडकले दैनिकी सहज बनाउने अपेक्षा स्थानीयको छ। यो क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न सडक डिभिजन कार्यालय जुम्लाको १३ करोड रुपैयाँ लागतमा तिला नदीमाथि पक्की मोटरेबल पुल निर्माण गर्ने तयारी छ।  

२ वर्षमा पक्की पुल निर्माण गर्ने सम्झौतामा उल्लेख गरिएको तिला गाउँपालिकाले जनाएको छ। गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाले भनिन्, ‘स्थानीय सरकार आएपछि गाउँ–गाउँमा सडक पुग्नु ठूलो उपलब्धि ठानेका छौँ। दूरदराजमा उत्पादित फलफूल, अन्नपात सबै बजारसम्म लैजान सहज हुनेछ। यो पालिकाको उपलब्धि हो।’ गाउँमा सडक पुगिसकेकाले केही समयपछि तिला नदीमा पुले निर्माण हुने उनले बताइन्।

जुम्लाको सिँजा,कनकासुन्दरी,पातारासी र गुठिचौर गाउँपालिकाका हरेक बस्तीमा सडक पुगेका छन्। पहिलो कार्यकाल गाउँगाउँमा सडक पुर्याउदै वित्यो,गुठिचौर गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले भने,‘गाउँमा सडक पुगेपछि दैनिक उपभोग्य वस्तु सहजै पुगेका छन। ओहोरदोहार गर्न सहज भएको छ। बिरामी बोक्न एम्बुलेन्स गाउँमै पुग्छन्। यो सडक निर्माणको पहिलो उपलब्धि हो।’

प्रकाशित: १ फाल्गुन २०७८ १४:३७ आइतबार