अर्थ

सरकारको उदासिनता र चिनी उद्योगीको दादागिरीको नतिजा: चिनी उद्योगले उखु पाउनै छोडे

मासिँदै

नवलपरासीको प्रतापपुरमा उखु मासेर लगाइएको अन्न बालीकोबीचमा रहेको थोरै उखु। तस्बिर: रेखा/नागरिक

उखु नगदे बाली हो। सरकारले यसलाइ राष्ट्रिय बाली घोषणा गरेको वर्षौ भइसक्यो। तर त्यही नगदे बालीको उदारो कारोबार,सरकारी वेवास्ता र चिनी उद्योगीको दादागिरीबाट आजित भएकाकिसानले उखु खेती गर्न छाडेका छन्। नवलपरासीमा पछिल्लो केही वर्षयता उखु खेती मासिदै गएको छ। उखु किसानहरु धमाधम पलायन भइरहेका छन्। केही केरा खेतीतीर लागेका छन्,केहीले अन्न बाली लगाएका छन्। सिचाँइ सुविधा नभएका कतिपय ठाँउमा उखु मासेर खेत बाँझै छोडीएको छ।

उखु मासिदै जाँदा चिनी उद्योगहरु पनि धरासायी बन्ने खतरा बढेको छ। उद्योगले उखु  पाउन छोडेका छन्। जसका कारण यहाँका चिनी उद्योग पूर्ण क्षमतामा संचालन हुन सकेका छैनन्। विगत २० वर्षदेखि ८ बिगाहामा उखु खेती गर्दै आएका प्रतापपुर ७ सुर्यपुराका सुरेन्द्र यादवले ५ बिघाको उखु मासीसकेका छन्। वर्षौसम्म उखुको भुक्तानी नपाउने, सरकारले तोकीदिएको मूल्य भन्दा कममा बेच्नु पर्ने, मल बिउको सँधै अभाव जस्ता समस्या बारम्बार दोहोरीएपछि उखु लगाउनै छोडेको यादवले बताए।

सरकार र उद्योगी मिलेरै उखु किसानलाई उठीबास लगाएको यादवको गुनासो छ। प्रतापुरमै रहेको इन्दिरा सुगर मिलले वर्षौदेखि किसानहरुलाइ प्रताडित गरीरहेको भन्दै उनले किसानमारा उद्योगीलाइ कारबाही गर्नूको साटो उल्टै सरकारले संरक्षण गरिरहेको आरोप लगाए। यादवले भने जस्तै इन्दिरा सुगर मिलले किसानलाइ दुई वर्षअघिकै डेढ करोड बढी भुक्तानी दिएको छैन।

प्रतापपुर ९ खैरहनीका टेकनारायण थारु उखु खेतीबाटै  पलायन भएका छन्।  अहिले उनी टेप्पो चलाउँछन्। थारुले २०६४ सालमा डेढ बिघा जमिन भाडामा लिएर उखु खेती सुरु गरेका थिए। तर २०७५ र २०७६ सालमा नवलपरासीमा चिनी उद्योगीको दादागिरी यती बढ्यो कि सरकारले तोकीदिएको उखुको मूल्य बढी भएको भन्दै मिलै चलाइदिएनन्। 

आधा भन्दा धेरै उखु खेतमै सुक्यो। किसानले उखुबारीमै आगो लगाउन बाध्य भए। टेकनारायणले पनि पाँच कठ्ठाको उखु मात्रै बेचे। बाँकी एक बिगाहको उखु खेतमै आगो लगाइदिए केही दाउरा बनाएर बाले। अघिल्लो वर्ष क्रसिङ गरेको उखुको भुक्तानी समेत नपाएका टेकनारायणले त्यसपछि उखु खेतीबाटै पलाएन भए।  

उखु उत्पादक कृषक समीतिका अनुसार नवलपरासीमा पछिल्ला तीन वर्षमा मात्रै ५ देखि ७ हजार हेक्टर क्षेत्रफलको उखु मासिएको छ। सरकारले नै तोकीदिएको मूल्य पाउन किसानले उद्योगीहरुसंग पैठेजोरी खेल्नु पर्ने, दुई÷तीन वर्षसम्म पनि भुक्तानी नपाउने, उन्नत बिउ र मलको अभाव जस्ता समस्याले ग्रस्त भएपछि किसानहरु उखु खेतीबाट पलायन  भएका हुन्।

उखु उत्पादन घटेसंगै यहाँका चिनी उद्योगहरु पूर्ण क्षमतामा संचालन हुन सकेका छैनन्। जिल्लामा उत्पादन घटेपछि भारतीय उखुको आयात बढेको छ। उखु उत्पादक कृषक समीति नवलपरासीका अनुसार एकदशक अघिसम्म जिल्लामा २० हजार हेक्टरमा उखु खेती हुन्थ्यो। ३२ लाख क्विन्टल बढी उखु उत्पादन हुन्थ्यो। तर अहिले करिब ५ हजार हेक्टरमा मात्रै उखु उत्पादन हुन्छ।

जिल्लामा तीन वटा चिनी उद्योग छन्। सुनवल,बाग्मती र इन्दिरा सुगर मिल। सुस्तामा रहेको बाग्मती सुगर मिलको क्रसिङ क्षमता दैनिक १३ हजार क्विन्टल हो। तर प्रयाप्त उखु नपाउँदा क्षमताको आधा पनि संचालन गर्न नपाएको उद्योगका महाप्रबन्धक टंकनाथ काफ्लेले बताए। यो वर्ष कम्तीमा ८ लाख क्विन्टल क्रसिङ गर्ने लक्ष्य राखेपनि उखु प्रयाप्त नपाउँदाघटाइएको त्यही लक्ष्य पनि पुरा गर्न मुस्किल पर्ने काफ्लेले बताए।

सुनवल नगरपालिकामा रहेको लुम्बिनी चिनी उद्योग पनि प्रयाप्त उखु नहुँदा फुल फेजमा संचालन हुन सकेको छैन। यो उद्योगको क्रसिङ क्षमता दैनिक ९ हजार क्विन्टल हो। जिल्लामा प्रयाप्त उखु नभएपछि कपिलबस्तु र भारतबाट समेत उखु आयात गर्नु परेको उद्योगका फिल्ड इन्चार्ज महादेव यादवले बताए। त्यसो त नवलपरासीको भुजहवा नाका पारी रहेको भारतीय चिनी उद्योग जेएसवि सुगर मिल यो वर्ष बन्द रहेकाले सिमा क्षेत्रका भारतीय किसानले धमाधम उखु नेपाल ल्याएको उद्योगीहरु बताउँछन्। जिल्लाको अर्को उद्योग इन्दिरा सुगर मिल भने पोहोरदेखि बन्द छ। उद्योगले अहिले पनि दुई वर्षअघिको डेढ करोड रुपैयाँ किसानलाइ भुक्तानी दिन बाँकी छ।

उखु पाउन छोडेपछि यसपाली भने उद्योगले एक साता भित्रै बैंकमार्फत उखुको भुक्तानी दिने गरेको किसानले बताएका छन्। उखु उत्पादक कृषक समीति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले सरकारले उखु किसानका समस्या समयमै सम्बोधन गरी उत्पादन बढाउन किसानलाइ प्रोत्साहन नगरे उत्पादन अझ घट्ने बताए। ‘उखु मासिनु किसानको मात्रै समस्या होइन,यसले चिनीको परनिर्भता बढाइरहेको छ र करोडौंको लगानी रहेका उद्योगहरु पनि धरासायी बनीरहेका छन्’ यादवले भने।

प्रकाशित: १ फाल्गुन २०७८ १३:३७ आइतबार