अर्थ

३५० मेगावाट सौर्य ऊर्जाको अध्ययन गर्न स्वीकृति

लगानी बोर्डको ४९औैं बैठकले सुदूरपश्चिम प्रदेशमा ३५० मेगावाटका दुईवटा सौर्य ऊर्जाको सम्भाव्यता अध्ययन गर्न सेन्ट्रल इलोक्ट्रोनिक्स लिमिटेडलाई अनुमति दिने निर्णय गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बोर्डको ४९औं बैठकले डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका र डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा क्रमशः १२५ र २२५ मेगावाट क्षमताका सौर्य ऊर्जा उत्पादनको सम्भाव्यता अध्ययनको लागि अनुमति दिएको हो। सरकारले यी दुवै परियोजनाको लागि २३ अर्ब लागत लाग्ने अनुमान गरेको छ।

बोर्डको बैठकले डाबर नेपाल प्रालिलाई उद्योगको क्षमता अभिवृद्धि तथा उत्पादन विविधीकरणको लागि ९ अर्ब ६८ करोड लगानी स्वीकृत गरेको गरेको जनाएको छ। बैठकले तल्लो अरूण जलविद्युत् परियोजनाको निर्माण, स्वामित्वकरण, सञ्चालन तथा हस्तान्तरण तरिकाबाट विकास गर्न छानिएको प्रस्तावक कम्पनी एसजेभिएन लिमिटेड भारतले पेस गरेको प्रारम्भिक प्रतिवेदन स्वीकृत गर्ने निर्णय  गरेको छ।

बैठकले लगानी प्रवद्र्धनका सम्बन्धमा विभिन्न संघ–संस्थासँग समझदारी गर्न बोर्डको कार्यालयलाई अख्तियारी दिएको छ। बैठकले लगानी बोर्डको कार्यालयबाट तयार गरिएको नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रविधिको तुलनात्मक अध्ययनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले लगानीकर्ता आकर्षित गर्न आवश्यक नीतिगत तथा कानुनी सुधार गरी लगानीमैत्री वातावरण तयार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

‘आर्थिक विकासका लागि लगानी बोर्डको कार्यालय तथा नेपाल सरकारका सम्बन्धित निकायले पूर्वाधार संरचनामा विविधीकरण गरी सम्भाव्यता अध्ययनसम्बन्धी कार्यहरूलाई तीव्र रूपमा अगाडि बढाउँदै आइरहेको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘परियोजना निर्माणमा जोड दिन निर्देशन गर्दछु।’ 

प्रकाशित: २६ माघ २०७८ ०१:३८ बुधबार

लगानी बोर्ड सुदूरपश्चिम प्रदेश सौर्य ऊर्जा