अर्थ

हुम्ला पठाउने चामल नेपालगन्जमै थन्कियो

फाइल तस्बिर

कर्णाली प्रदेश सरकारको ढुवानी सहुलियतमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले हुम्ला पठाउन लागेको चामल राँझा एयरपोर्टमा रोकिएको छ। केही दिन अगाडि हुम्ला विमानस्थलमा हिउँ जमेपछि उक्त चामल नेपालगन्जमै रोकिएको हो।

हुम्लामा खाद्यान्न अभाव हुन नदिन प्रदेश सरकारले दुई सय क्विन्टल चामलका लागि ढुवानी अनुदान दिएको छ। दुई सय क्विन्टलमध्ये ८४ क्विन्टल चामल हुम्ला पुगिसकेको छ भने बाँकी चामल नेपालगन्जस्थित राँझा एयरपोर्टमै रोकिएको हो। हुम्लामा उडान सुरु हुनासाथ चामल ढुवानी हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जका कार्यालय प्रमुख रामबहादुर विष्टले जनाए। ‘चामल पठाउँदै थियौं,’ उनले भने, ‘हुम्ला विमानस्थलमा हिमपात अधिक भएपछि हवाइ उडान हुन सकेन। जसले गर्दा समयमै चामल पठाउन सकिएको छैन।’ उडान नियमित हुनासाथ चामल हुम्ला पठाइने उनले बताए।

कर्णाली प्रदेश सरकारले चामल ढुवानीका लागि तारा र समिट एयरसँग सम्झौता गरेको छ। हुम्लामा खाद्यान्न अभाव हुन नदिन त्यस क्षेत्रमा चामल पठाउन थालिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जका प्रमुख विष्टले बताए। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जको स्टोरबाट राँझा विमानस्थलमा चामल पठाइ सकिएको सूचना अधिकारी अनिलकुमार महतोले जनाए। ‘चामल हुम्ला पुगेपछि स्थानीयलाई ठूलो राहत हुनेछ,’ उनले भने, ‘विमानस्थलको हिउँ पन्छ्याएपछि तत्काल यहाँबाट चामल जान्छ।’

प्रकाशित: २५ माघ २०७८ १०:३० मंगलबार