अर्थ

सोलु दुधकोसी जलविद्युत् आयोजनाः डोम र पाइप जडान चुहिँदाचुहिँदै परीक्षण गर्दा दुर्घटना भयो

फाइल तस्बिर

सोलु दुधकोसी जलविद्युत् आयोजनाको वर्कसपमा पेनस्टक पाइप जडान परीक्षणको क्रममा भएको दुर्घटनाको अध्ययन गर्न गठित समितिले डोम र पाइपको जडानबीचबाट पानी चुहिरहँदा पनि निरन्तर परीक्षण गरेकाले दुर्घटना भएको औंल्याएको छ। छानबिन समितिले गत माघ १७ गते ऊर्जा जलस्रोत तथा सिँचाइ सचिव देवेन्द्र कार्कीलाई प्रतिवेदन बुझाएको थियो।

गत पुस ११ गते सोलुखुम्बु जिल्लामा निर्माणाधीन ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत् आयोजनाको वर्कसपमा पेनस्टक पाइप परीक्षणका क्रममा दुर्घटना हुँदा दुई इन्जिनियरको ज्यान गएको थियो।

दुर्घटनामा २६ वर्षीय इन्जिनियर सुवासराज रेग्मी र २९ वर्षीय इन्जिनियर अर्जुन थापाको ज्यान गएको थियो। सोही दुर्घटनामा मोहम्मद राइन घाइते भएका थिए। मन्त्रालयले गत पुस १३ गते सो दुर्घटनाको छानविन गर्नका लागि छानबिन समिति गठन गरेको थियो।

‘डोम र पाइपको जडानबीचबाट पानी चुहिए पनि सो घटनालाई बेवास्ता गरी कम आँकलन गरी पुनः परीक्षण सुचारु गर्नु र पानी चुहिँदा पनि प्रेसर नघटाई लामो समय करिब ४५ मिनेटसम्म ७७ (किलोग्राम पर स्क्वायर सेन्टिमिटर) चापमा परीक्षण होल्ड गर्नु नै दुर्घटनाको मुख्य कारण देखियो,’ छानबिन समितिका संयोजक चिरञ्जीवी चटौतले भने, ‘डोम र पाइपको जडान कमजोर भई सो बीचबाट पानी चुहिए पनि सो घटनालाई बेवास्ता गरी कम आँकलन गरिनु र यस्ता किसिमका दुर्घटना यसअघि नभएको हुँदा सानो चुहावटले ठुलो दुर्घटना हुन सक्छ भन्ने परिकल्पना नै हुन नसकी पुनः परीक्षण सुचारु गरेको देखिएको छ।’

छानबिन समितिले पानी चुहिँदा पनि प्रेसर नघटाई लामो समय करिब ४५ मिनेटसम्म उच्च चापमा परीक्षण होल्ड गर्नु नै दुर्घटना हुनुको मुख्य कारण रहेको औंल्याएको छ।

छानबिन समितिले पाइप परीक्षण सम्पन्न हुनका लागि करिब ८०.६१ (किलोग्राम पर स्क्वायर सेन्टिमिटर) चाप आवश्यक पर्ने तर चाप बढाउँदा अस्थायी रूपमा पाइपको मुखमा लगाइएको डोम पाइपबाट छुट्टिई दुःखद दुर्घटना भएको औंल्याएको छ। छानबिन समितिले यो दुर्घटनाबाट पाठ सिकेर भविष्यमा दुर्घटनाबाट बच्न सुझावसमेत दिएको छ।

समितिले निर्माणाधीन आयोजनामा खटिने हरेक कर्मचारीलाई व्यक्तिगत एवं पेसागत स्वास्थ्य तथा सुरक्षासम्बन्धी तालिम प्रदान गर्नुपर्ने सुझाव दिएको छ। त्यसैगरी आयोजनाको कुनै पनि परीक्षणको अनुगनम तथा निरीक्षण डिजिटल प्रविधिमार्फत गरिने व्यवस्था गर्न उपयुक्त हुने जनाएको छ।

समितिले परीक्षणको समयमा सकभर भौतिक उपस्थिति नगरी रिमोट कन्ट्रोल एन्ड मनिट्ररिङ सिस्टम प्रयोग गर्ने, परीक्षणस्थल सफा र खुला राख्ने, साइरनको व्यवस्था गर्ने एवं तारबार गरी सुरक्षित गर्ने, परीक्षणको वरपर आवश्यकबाहेक अन्य हेभी इक्युपमेन्ट नराख्नेलगायत सुझाव दिएको हो।

साथै समितिले कुनै पनि परीक्षणमा परीक्षणसँग सम्बन्धित प्रचलित निर्देशिकाको पालना गर्ने, परीक्षणमा कुनै पनि हेलचक्र्याइँ तथा लापरबाही नगर्ने, परीक्षणपूर्व र परीक्षणको समयमा चनाखो रही आवश्यक प्रक्रिया अनुसरण गर्ने, परीक्षणको क्रममा अनिवार्य व्यक्तिगत सुरक्षा प्रयोगको व्यवस्था गर्ने, साथै परीक्षण चालु रहेको जानकारी परीक्षण आसपास जाने व्यक्तिलाई दिने र सजक गराउने संकेत वा जानकारी बोर्डको व्यवस्था गर्नका लागि आयोजनालाई निर्देशन दिएको छ।

छानबिन समितिले परीक्षण कार्यमा आवश्यक जनशक्ति मात्र परीक्षण स्थलमा बस्ने, सर्टिफाइड एन्ड एक्सपिरेन्स म्यानपावर मात्र परीक्षण कार्यमा संलग्न गर्ने गराउने, विद्युत् आयोजनाको कार्य क्षेत्रमा गरिने विभिन्न परीक्षण निर्माण एवं जडानको क्रममा हुनसक्ने सम्भावित दुर्घटना तथा क्षतिका सम्बन्धमा सजग भई सावधानी अपनाउन र परीक्षण, निर्माण एवं जडानको क्रममा हुन सक्ने सम्भावित दुर्घटना तथा क्षतिका सम्बन्धमा कामदारलाई अनिवार्य सूचित गराउनुपर्ने सुझावमा उल्लेख गरिएको छ।

त्यसैगरी समितिले विद्युत् आयोजनासँग सम्बन्धित व्यक्तिगत एवं पेसागत स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशिका तथा निर्माण उपकरण एवं मेसिनरी औजारहरूको परीक्षण तथा सुरक्षासम्बन्धी निर्देशिका तयार गरी लागु गर्ने, नियमनकारी निकायले नियमित प्रभावकारी अनुगमन गर्ने र आवश्यकताअनुसार सल्लाह सुझाव एवं निर्देशिका प्रदान गर्नका लागि सुझाव दिएको छ।

प्रकाशित: २२ माघ २०७८ ०२:३४ शनिबार

सोलु दुधकोसी जलविद्युत् आयोजना ऊर्जा जलस्रोत तथा सिँचाइ सचिव देवेन्द्र कार्की