अर्थ

टाटाका जनवरीमा ४० हजार कार बिक्री

भारतीय सवारीसाधन उत्पादक टाटा मोटर्सले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गएको छ। टाटाले सबैभन्दा धेरै टाटा नेक्सन र टाटा पन्च उत्पादन गर्दै एसयुभीको संख्या २८ हजार एक सय आठ युनिट पुर्‍याएको जनाएको छ।

टाटा मोटर्सले विद्युतीय कारको उत्पादन पनि बढाएको जनाएको छ। टाटा नेक्सनको बुकिङ र वेटिङ पिरियड बढ्दै गएको समयमा कम्पनीले २ हजार ८ सय ९२ युनिट इलेक्ट्रिक कार विक्री गरेको तथ्यांक सार्वजनिक गर्दै कम्पनीले डिसेम्बर २०२१ मा ३५ हजार तीन सय युनिट कार उत्पादन गरी दोस्रो स्थानमा पर्न सफल भएको दाबीसमेत गरेको छ। टाटाले जनवरी २०२२ मा ५ हजार ४ सय ७७ युनिट कार बढी विक्री गर्न सफल भएको जारी विज्ञप्तिमा उल्लेख गरेको छ।

कम्पनीले २०२२ को पहिलो महिनामा ४० हजार ७ सय ७७ युनिट कार फ्याक्ट्रीबाट डिलरमा बढाएर नयाँ रेकर्ड बनाएको जनाएको छ। टाटाले एकै महिनामा ४० हजार युनिट पार गरेको पहिलो पटक रहेको जनाउँदै आफ्ना कारको विक्री बढ्नुमा सिएनजी भेरियन्टको पनि महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेको छ।

जनवरी १९ तारिखमा टाटा मोटर्सले टियागो र टिगोरलाई सिएनजीमा उपलब्ध गराएको थियो। करिब १३ दिनको अवधिमा कम्पनीले तीन हजार युनिट सिएनजी कार विक्री गरेको जनाएको छ।

प्रकाशित: १९ माघ २०७८ ०२:५६ बुधबार

टाटा टाटा मोटर्सले विद्युतीय कार