अर्थ

ठेकेदारले काम नगर्दा कुन्दुरटार नहरमा पानी बगेन

कुन्दुरटार सिंचाई आयोजनाको नहर ।

पाँच सय हेक्टर जमिन सिंचाई गर्ने गरी २०५९ सालमा सुरु भएको कुन्दुरटार सिंचाई आयोजनामा अहिले सम्म पानी बग्दैन। आयोजनामा करोडौं रुपैयाँ खर्च भयो तर वर्षमा एककिलोमिटर नहर बन्न सकेन।  

२०७६ मा पालुङटार कुन्दुरटार सिंचाई आयोजना कार्यालय स्थापना भएर पुर्णता दिने योजना सहित काम सुरु भयो। गत वर्ष नहर सफा गर्न मुहान देखि ३४ सय मिटर सम्म करिब एक करोड रुपैयाँमा टेण्डर भयो। ३४ सयदेखि ७३ सय मिटर सम्म दोस्रो प्याकेजमा कार्यालयले ठेक्का लगायो। करिब दुई करोड लागतमा नहरमा पानी चलाउन मिल्ने गरी भएको ठेक्कामा काम नै हुन सकेको छैन।  

‘अब दुई महिना भित्र ७३ सय मिटर सम्म पानी चल्ने गरी निर्माण कम्पनीले काम गर्नुपर्छ,’ आयोजना कार्यालयका प्रमुख दिनेश आचार्यले भने ‘अहिले सम्म काम नै भएको थिएन।’ पटक–पटक काम छिटो गर्न दबाव दिएपछि केही दिन अघि निर्माण व्यवसायीले काम सुरु गरेको उनले बताए। वर्षदिन काम नगरी बसेका निर्माण व्यवसायीलाई तोकिएको समय भित्रै काम सक्न मुस्किल रहेको उनले बताए।

नहर बनाउने जिम्मा लिएको अन्नपूर्ण निर्माण सेवाका राजेन्द्र सुनारले कामदार नै नपाएर दशैंअघि काम गर्न नसकेको बताए। ‘अहिले कामदार आएका छन्, दुई महिना भित्र सिध्याउने गरी काम गरिरहेका छौं,’ सुनारले भने। नहरको मुहानदेखि ७३ सय मिटर सम्म पानी चलाउने गरी भत्किएको ठाउँमा पर्खाल लगाउने, मर्मत गर्ने, नहर सफा गर्ने गरी टेण्डर भएको हो। समयमै काम नहुँदा अहिले नहरमा राम्रोसँग पानी चल्दैन।  

यस अघि आठकिलोमिटर सम्म नहरमा थोरै पानी बग्थ्यो। दरौंदी फाँटका केही किसानले नहरको पानी प्रयोग गर्थे। त्यसयता १० किलोटिर नहरमा अहिले पनि पानी चल्ने अवस्था छैन। वषौं पहिलेको योजना भएको र नहर बन्नुपर्ने ठाउँमा ब्यक्तिका घर, अस्थायी संरचनाहरु, सडक निर्माण हुँदा अहिले नहर पुरा गर्न समस्या भएको छ।  

२०५९ सालमा प्राविधिकहरुले करिब पाँचकरोड नहर पुरा गर्न सकिने स्टमेट गरेका थिए। तर अहिले पुरा १८ किलोमिटर नहर तयार गर्न करिब ५० करोड खर्च हुने अनुमान कार्यालयको छ। आयोजनाको काम नहुँदा अहिले लागत लागत अनुमान १० गुण बढेको छ। निरन्तर काम भएको खण्डमा पनि वर्ष बढ्दै जाँदा लागत थपिँदै जानेछ।

सिंचाई आयोजना संचालन नहुँदा अहिले छेवेटार, दशकिलो, कुन्दुरटार लगायत ठाउँका जमिन बाँझो छ। खेतीयोग्य जमिनलाई इट्टाभट्टा र व्यवसायिक पशुपालन, कुखुरापालनमा प्रयोग गरिएको छ भने केही चौर बनेर बाँझो बसेको छ। आयोजनामा पानी संचालन भएपछि व्यवसायिक तरकारी खेती र कृषि उत्पादन व्यवसायिकता बढ्ने गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त बताउँछन्। गोरखा नगरपालिका १०, ११ र १२ को बाँझो फाँटलाई सिंचाई गर्ने गरी यो आयोजना सुरु भएको थियो।  

प्रकाशित: १८ माघ २०७८ ११:०८ मंगलबार

कुन्दुरटार नहर