अर्थ

सात वर्षसम्म पुल नबनेपछि त्रिसुलीमा बेलिब्रिज निर्माण हुँदै

पप्पु कन्स्ट्रक्सनले जिम्मा लिएको साढे सात वर्षसम्म त्रिसुली नदीमा मोटरेबल पुल नबनाएपछि अहिले बेलिब्रिज निर्माण सुरु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका चुमखोला र गोरखाको गण्डकी गाउँपालिका बुटार जोड्ने गरी अहिले ब्लु इनर्जी कम्पनीले सडक विभागको समन्वयमा बेलिब्रिज बनाउन लागेको हो।

उक्त ठाउँमा पक्की पुल बनाउन ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजनासँग पप्पु कन्ट्रक्सनले २०७१ असार २९ गते १७ करोडमा ठेक्का लिएको थियो। २०७४ पुस २९ मा निर्माण सक्ने गरी सम्झौता भएको पुल अहिलेसम्म पूरा भएको छैन। पुल निर्माण गर्न आवश्यक उपकरण त्रिसुलीपारि गोरखातर्फ लैजान नसक्दा काम नभएको भन्दै पप्पु कन्ट्रक्सन पन्छिएको थियो। दुवैतर्फ पुलको पिल्लर मात्रै हालेर कन्ट्रक्सनले काम छोडेको सात वर्ष बित्यो।  

पप्पुले पुल निर्माण समयमै पूरा गरेको भए ब्लु इनर्जी कम्पनीले निर्माण गर्न लागेको एक सय मेघावाटको सुपर त्रिसुली जलविद्युत् आयोजना निर्माण गर्न अहिले बेलिब्रिज आवश्यक पर्ने थिएन। ‘जलविद्युत् आयोजनाको काम गर्न हामीलाई पनि पुल चाहियो,’ हाइड्रोका प्रोजेक्ट म्यानेजर निरञ्जन रेग्मीले भने, ‘बेलिब्रिज सडक विभागले उपलब्ध गराउने र हामीले राख्ने गरी सम्झौता भएर काम अघि बढेको हो।’ पक्की पुल बनेपछि जलविद्युतको सामग्री गोरखा तर्फ लैजान सहज हुने योजनासहित आयोजना सुरु गरिएको उनले बताए। पप्पुले समयमै पुल नबनाउँदा अहिले सय मिटरको मात्र बेलिब्रिज रहेकाले नदीमाथि २० मिटर पक्की पुलको संरचना ब्लु इनर्जी कम्पनीले बनाउन लागेको हो। पुल तयार गर्न आयोजनालाई ११ करोड खर्च लाग्ने प्रोजेक्ट म्यानेजर रेग्मीले बताए।

पक्की पुल नबन्दा सय मेगावाटको सुपर त्रिसुली जलविद्युत आयोजनाले दुई वर्षअघिदेखि काम सुरु गर्न सकेको छैन। ‘आयोजनाको काम सुरु गर्न पनि पुल आवश्यक पर्‍यो, स्थानीयको माग पनि पुल भइदिए हुन्थ्यो भन्ने छ,’ आयोजनाका म्यानेजर रेग्मीले भने, ‘त्यही भएर हामीले पुल बनाउन लागेका हौं।’ ब्लु इनर्जीले हाइड्रोको पावर निर्माणको जिम्मा दिएको चिनियाँ हुवावे कम्पनी मार्फत् नै बेलिब्रिज पनि बनाउन लागेको हो। अहिले बेलिब्रिजका लागि पुलको दुवैतर्फ काम भइरहेको छ। ‘बेलिब्रिजबाहेक पनि पक्की संरचना बनाउनुपर्नेछ,’ म्यानेजर रेग्मीले भने, ‘एक हप्ताभित्र पुलको डिजाईन पास हुन्छ, आउँदो वैशाखसम्म काम सक्ने गरी तयारी भएको छ।’ जलविद्युतको काम सुरु गर्न चार/पाँच महिना अझै लाग्ने उनले बताए।

‘बेलिब्रिज बनाएपछि पक्की पुलको काम सुरु गर्छु भनेका छन्,’ ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजना कार्यालयकाका प्रमुख पशुपति ज्ञवालीले भने। अहिले बेलिब्रिज राख्न हाईड्रोले काम गरिरहेको छ। पप्पु कन्ट्रक्सनलाई सडक आयोजना कार्यालयले धरौटी जफत, स्पष्टिकरण सोध्ने, पटकपटक छिटो काम थाल्ने ताकेता लगाए पनि काम हुन सकेन। कन्ट्रक्सनले प्राविधिक कारण देखाएर काम नगर्ने बाहना बनाउँदै आएको छ।

गोरखाको गण्डकी पालिकालाई पृथ्वीराजमार्गसँग सडक सञ्जालले जोडे स्थानीयलाई लाभ पुग्ने थियो। पुल नहुँदा गोरखातर्फका किसान आफ्ना कृषि उपज डोकामा बोकेर बिक्री गर्न पृथ्वीराजमार्गसम्म पुग्नुपर्छ। पुल निर्माण सम्पन्न भए गण्डकी गाउँपालिकाको ताङ्लीचोक, मकैसिङ र भुम्लीचोक साथै सहिद लखन गाउँपालिकाका बासिन्दा लाभान्वित हुने गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर रानाले बताए।

प्रकाशित: १६ माघ २०७८ ०३:१९ आइतबार