अर्थ

किसानलाई मल खोई?

भक्तपुरका सांसद प्रेम सुवालसहितको प्रतिनिधिमण्डलले कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई भेटी किसानहरूलाई समयमै सुपथ मूल्यमा रासायनिक मल उपलब्ध गराउनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्। कृषिमन्त्री महेन्द्रीप्रसाद यादव हप्ता दिनको विदामा रहेको हुँदा उनको अनुपस्थितिमा कृषि सचिव शर्मालाई नै भए पनि भेटेर किसानहरुको समस्या र मलको अभावबारे मन्त्रालयको ध्यानाकर्षण गराएका हुन्।  

सांसद सुवालले प्रदेशको सचिवस्तरीय बैठकबाट हचुवाको भरमा रासायनिक मलको कोटा वितरण गरिएको अविलम्ब पुनरावलोकन गर्न कृषि मन्त्रालयको ध्यानाकर्षण गराएका थिए। उनले सरकारले नेपालमै रासायनिक मल कारखाना खोल्नुपर्नेमा त्यस अवसरमा पुनः जोड दिए।

उनले नेपाल सरकारबाट अनुदान प्राप्त रासायनिमक मल कृषकहरुले समयमै प्राप्त गर्न नसक्दा कृषि उत्पादनमा कमी आउने र खाद्यान्न उत्पादन समेत घट्ने र खाद्यान्न आयात झन बढ्नेतर्फ मन्त्रालयको ध्यानाकर्षण गराए। सांसद सुवालले रासायनिमक मल उपलब्ध गराउन कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीमा समेत आवश्यक पदाधिकारीको व्यवस्था गरी पर्याप्त मल आपूर्ति गर्न मन्त्रालयको ध्यानाकर्षण गराए।

प्रतिनिधिमण्डलमा सहभागी भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकालाई उपलब्ध गराइएको मलको कोटा २० मे.टन अत्यन्त अपुग भएको उल्लेख गर्दै किसानहरुको माग अनुरुप कम्तिमा ६०० मे.टन रासायनिक मल भक्तपुर नगरपालिकालाई उपलब्ध गराउन सचिवलाई लिखित पत्रसहित सरकारको ध्यानाकर्षण गराए। भक्तपुर नपा क्षेत्रका कृषकहरुको खेतबारी, भक्तपुर नपालगायत चाँगुनारायण, मध्यपुर र सूर्यविनायक नपा क्षेत्रमा समेत भएको हुँदा भक्तपुर नपालाई छुट्याइएकोे मलको कोटा अपुग भएको उनको भनाइ थियो।

कृषि मन्त्रालयका सचिव डा. शर्माले कृषकहरुको माग बमोजिम मन्त्रालयले आवश्यक मलखाद उपलब्ध गराउन लागिपरेको बताउँदै भक्तपुरलाई आवश्यक मात्रामा रासायनिक मल उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्धता जनाएको भक्तपुर नगरपालिकाले जनाएको छ।  

जनाइए अनुसार कृषि सामग्री कम्पनीका कार्यकारी निर्देशकसहित मल खरिदको १ अर्ब ५३ करोड रुपैयाँ भ्रष्टाचारको मुद्दामा परेको हुँदा उक्त ठाउँमा नयाँ कर्मचारी पूर्ति गर्नसमेत नमिलेर मल खरिदको कार्बाही अघि नबढेको हो।

प्रकाशित: १५ माघ २०७८ १३:५२ शनिबार