अर्थ

खोला ‘ह्युमपाइप’भित्र लुकाएर पार्क र हेलिप्याड बनाइँदै

भीमेश्वर नगरपालिकाले जग्गा निकाल्न ह्युमपाइपमा खुम्च्याएको चरिकोटस्थित साङखोलाको माथिल्लो र तल्लो क्षेत्र। तस्बिर :रमेश/नागरिक

सभ्य समाजमा सरकार वा राज्य पक्षले खोलानाला मिचिँदा त्यसलाई नियन्त्रण गर्छन्। मानव समाजको सभ्यतासँग जोडिएको चिज भएकाले खोलालाई आफ्नो आकार बढ्न दिन र अझ आकर्षक बनाउन हर प्रयास गर्छन्।

तर दोलखाको भीमेश्वर नगरपालिकाले ठाउँ अपुग भएको भन्दै जग्गा उभार्न खोला नै मासिदिएको छ। खोला संरक्षण गर्नुपर्ने नगरपालिकाले ठाउँ अभाव हुँदै गएको भन्दै खोलालाई ह्युमपाइपभित्र लुकाउँदै त्यसमाथि जग्गा निकालेर पार्क र हेलिप्याड बनाउने तयारी थालेको छ।

दोलखा सदरमुकाम चरिकोटस्थित नगरपालिका कार्यालयनजिकै कोटिहोम र चरिकोट अस्पतालछेउ भएर बग्ने ‘साङ’ खोलाको आकार नै मासेर ह्युमपाइपभित्र खुम्च्याउँदै नगरपालिकाले खोलामाथि खाली भाग (जग्गा) निकाल्न सुरु गरेको हो। त्यसरी खोला नै मासेर ह्युमपाइपभित्र हाल्दा त्यसमाथि करिब २ रोपनी जग्गा निस्किने र त्यहाँ हेलिप्याड, पार्क बनाउने योजना नगरपालिकाको छ।

नगरपालिकाले काम गरिरहेको यो क्षेत्र आसपासमा नगरपालिका, स्वास्थ्य, अस्पताल, जिल्ला प्रशासन, नापी, जिल्ला समन्वय समिति, जिल्लाकै जेठो बहुमुखी क्याम्पस, टेलिकमसहित दर्जन बढी सरकारी अड्डा छन्। सँगै टुँडिखेल मैदान र कोटिहोम यज्ञशाला पर्छ। बीचभाग भएर सडक गएको छ।

यही सडकको दायाँ र बायाँतर्फ माथिल्लो र तल्लो भूभागमा नगरपालिका कार्यालयले खोला नै मासेर पार्क र हेलिप्याड निर्माण गर्न लागेको हो। यो खोला भ्युटावरको डाँडोबाट झर्ने स–साना खोल्सी हुँदै आइपुगेर यो क्षेत्र र दोलखा–चरिकोट सडक, तामाकोसी बाइपास सडक हुँदै मर्‍याङखोलामा जोडिएर तामाकोसी नदीमा मिसिन्छ।

यसरी आयो खोला मासेर जग्गा निकाल्ने जुक्ति

सडकभन्दा माथिल्लो भूभागमा खोलाकै किनारसम्म चरिकोट अस्पतालको जग्गा पर्छ। यही अस्पतालमा एउटा भवन बनाउन भीमेश्वर नगरपालिकामा संघीय सरकारको स्वास्थ्य मन्त्रालयबाट १८ करोड रूपैयाँ निकासा आयो। नगरपालिकाले टेन्डर निकाल्यो। निर्माण कम्पनीले घटाघटमा करिब १२ करोड रूपैयाँमा ठेक्का हात पार्‍यो।

भवन बनाउने भूभाग ढिस्को र भिरालो थियो। त्यहाँबाट ठुलो परिमाणमा निस्कने माटोको कसरी व्यवस्थापन गर्ने भनेर नगरपालिकाले जुक्ति निकाल्दै जाँदा खोलालाई ह्युमपाइप भित्र हाल्ने र माटोलाई ‘फिलिङ’ गरेर एक रोपनी क्षेत्र निकाल्ने जुक्ति निस्कियो। यसो गर्दा त्यहाँ निस्किएको माटो अन्त लगेर व्यवस्थापन गर्नुपर्ने झन्झट र खर्चबाट निर्माण कम्पनीले समेत मुक्ति पाउँथ्यो।

नगरपालिकाले त्यहाँ बिछ्याउन ह्युमपाइप आफैंले किनेको छ भने माटो भर्ने काम अस्पतालको निर्माण कम्पनीले गरिदिएको छ। यहाँ खोलामाथि निस्किएको खाली जग्गामा बायो इन्जिनियरिङ गर्ने र पार्क बनाउने योजना नगरपालिकाको छ। त्यही वरपर खानेपानीको मुहान छ।

चरिकोट पुरानो बजारका स्थानीय समेत रहेका जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठले खोला नै मासिने गरी काम गर्न लागेको भन्दै शुक्रबार सामाजिक सञ्जालमार्फत चिन्ता व्यक्त गरे।

सडकभन्दा माथिल्लो क्षेत्रसँगै खोलाको तल्लो क्षेत्रमा समेत नगरपालिकाले झन्डै एक सय मिटर जति खोला मासेर हेलिप्याड बनाउने सुरसार गरेको छ। यहाँ १ सय ६० व्यास (बायोमिटर)का ९ ओटा ठुला ह्युमपाइप राखिएको छ। उक्त ह्युमपाइप माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आफ्ना हेभी खालका सामान ओसार्दा सिन्धुपाल्चोकस्थित सुनकोसी नदीमा राखेको थियो।

नगरपालिकाले यो भूभाग मिलाएर रातिसमेत चल्ने ‘नाइटभिजन’ हेलिप्याडसहित हलुका संरचना बनाउने योजना बुनेपछि आयोजनाले त्यहाँ राखेका ९ ओटा ह्युमपाइप नगरपालिकालाई दिएको हो।

ह्युमपाइप राखेपछि त्यहाँमाथि बजारसहित चरिकोटका विभिन्न ठाउँबाट निस्केको माटो थुपार्ने स्थल बनेको यो क्षेत्रमा पहिरोले समेत दुःख दिन थाल्यो। यही बीचमा पहिरो नियन्त्रणका लागि नगरपालिकामा तयार नेपाल नामक आइएनजिओ आइपुग्यो।

उक्त संस्थाले बायो इन्जिनियरिङ सहित विभिन्न कामका लागि ५२ लाख रूपैयाँ खर्च गर्‍यो। पहिरो नियन्त्रण गरे पनि ग्याबिन उठाउनेसहित विभिन्न काम सोचे जस्तै नभएको भन्दै नगरपालिकाले फेरि थप काम गर्न इस्टमेट निकाल्न सुरु गरेको छ।

खोलालाई भिरालो जमिनमा ह्युमपाइपभित्र खुम्च्याउँदा केही वर्षपछि ह्युमपाइपको जडान गरेको भाग चुहिन सक्ने भएकाले यो भविष्यका निम्ति खतरा हुने भन्दै स्थानीयले विरोध गरेका छन्। पर्यटकीय नगरमा बग्ने खोलालाई झरनामा परिणत गरेर आकर्षक रूप दिनुपर्नेमा स्थानीय सरकार नै सभ्यता मास्न लागिपरेको स्थानीयको आरोप छ।

‘खोलो मासेका छैनौं, व्यवस्थापन गरेका हौं’  

नगरका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले खोला मासेर जग्गा निकाल्न खोजेको आरोपको इनकार गरे। ‘कहाँ खोला मास्ने काम नगरले गर्छ?’ उनले भने, ‘हामीले त प्राविधिक रूपमा खोलाको व्यवस्थापन गरेर बायो इन्जिनियरिङ गर्दै पार्क बनाउन लागेका हौं।’ खड्काले खोलामा बग्ने पानीको मात्राबारे ३० वर्षदेखिको अध्ययन गरी अनुमान गरेर १ सय ६० डायमिटरको ठुलो ह्युमपाइप बिछ्याइएको सुनाए।

नगरका मेयर भरतबहादुर केसीले खोला नमासिने जिकिर गरे। ‘बर्खामा समेत ८० डायोमिटरको पानी बग्ने खोलामा १ सय ६० को ह्युमपाइप हालेका छौं,’ उनले भने, ‘खोलाको सुन्दरता नमेटिने गरी माथिल्लो क्षेत्रमा पार्क बनाउछौं, तल्लो क्षेत्रमा नगरका लागि अति आवश्यक रहेको रात्रिकालीन समेत चल्नसक्ने गरी हेलिप्याड बनाउँछौं।’

प्रकाशित: १५ माघ २०७८ ०२:२६ शनिबार

दोलखाको भीमेश्वर नगरपालिका स्वास्थ्य मन्त्रालय